स्याङ्जा/आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले दशबुँदे संकल्प गरेका छन् । निर्वाचनलाई लक्षित गरेर यहाँका १२ उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त रहँदा ढकालले दशबुँदे संकल्प लिएर मैदानमा उत्रिएका छन् ।
ढकालले दशबुँदे संकल्पमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम कला÷पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई समाबेश गरेका छन् । संकल्पलाई उनले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समयमा गर्न सकिने कामको सूचीमा राखेर प्रचारमा लागेका हुन् ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीको पूर्व अध्यक्ष रहेका ढकालले नागरिकको स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि सहितको गौरवका आयोजना संचालन गर्ने परिकल्पना गरेका छन् । उनले ‘एक वडा, एक उत्पादन’ प्रणालीको विकासमार्फत उद्यमशीलता र आयआर्जन वुद्धि गर्दै जाने संकल्प गरेका छन् । अनिवार्य, व्यवहारिक, बजार उपयोगी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने ढकालले प्रतिबद्धता गरेका छन् ।
यस्तै स्वास्थ्य बीमाको दायरा वृद्धि सहित सर्वसुलभ, गुणस्तरीय र अनिवार्य स्वास्थ्य सेवाको संकल्प गरेको प्रचार विभागका सचिवालय प्रमुख धु्रव खाँणले जानकारी दिए । सबै नागरिकको पहुँचमा स्वच्छ खानेपानी, नवीकरणीय उर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधारलाई जोड दिएका छन् । प्रविधिको पहुँच, प्रतिस्पर्धी क्षमता र संस्थागत संरचनाको विकासमार्फत युवा उद्यमशीलताको विकासलाई ढकालले प्राथमिकता दिएका छन् ।
यस्तै कला÷पर्यटनतर्फ स्थानीय कला, संस्कृति, सम्पदा, जैविक विविधता, प्राङ्गारिक उत्पादन प्रवद्र्धन र संरक्षणमार्फत पर्यटन क्षेत्रको विकास गर्ने संकल्प गरिएको छ भने महिला, वृद्धवृद्धा, पिछडिएका वर्ग, गरिब, विपन्न समुदाय लक्षित कार्यक्रम तथा राहतकोषको व्यवस्था सहितको संकल्प ढकालले गरेका छन् ।
बाँदर लगाएतका जङ्गली जनावर तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण कार्यक्रम र जोखिमकोष स्थापना गर्ने संकल्प गरेका ढकालले तीनै तहका र सरकार र गैरसरकारी निकायहरुको समन्वयमा आधारभूत सेवा कार्यक्रम र आर्थिक सार्वजनिक सुनुवाई गरिने गरी सुशासनको सुनिश्चिता गरेका छन् ।





