
पोखरा/सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्वकोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ ।
एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन अभ्यासलाई सहज बनाउन उक्त सहयोग गरिएको गुरुङ दम्पत्तिले जनाएको छ । बुधबार ६ वटा पोलमा ३ हजार वाट क्षमताको फ्लडलाइटको स्वीचअन गरिएको हो । पूर्वअध्यक्ष विक्रम थकालीको प्रस्ताव र पूर्वउपाध्यक्ष विश्वराज बरालको समन्वयमा फ्लडलाइट जडान कार्य सम्भव भएको हो । कार्यक्रममा बोल्दै रामचन्द्र गुरुङले एकेडेमीमा रहेका बालकहरूका साथै विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरूले पनि साँझपख मैदान प्रयोग गरी शारीरिक रूपमा तन्दुरुस्त रहन तथा मैत्रीपूर्ण फुटबल खेल विकास गर्न सक्ने बताए ।
क्लबका अध्यक्ष केशवबहादुर थापाले गुरुङ दम्पत्ति परिवारबाट लामो समयदेखि सहारा क्लब र आहा रारा पोखरा गोल्डकपका लागि निरन्तर सहयोग प्राप्त हुँदै आएको बताए ।
कार्यक्रममा सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, पूर्वअध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, पूर्वउपाध्यक्ष विश्वराज बराल, पूर्व महासचिव रामजीप्रसाद अधिकारी, पूर्वकोषाध्यक्ष नवराज अधिकारी, आजीवन सदस्य सुदर्शन रन्जित, समाजसेवी चन्द्रावती गुरुङलगायतको उपस्थिति रहेको थियो ।
पोखरा–१७ दोभिल्लामा २०६९ माघ २६ गतेदेखि सञ्चालनमा आएको सहारा फुटबल एकेडेमीमा हाल ९० बाइ ६० मिटरको फुटबल मैदान रहेको छ । नयाँ फ्लडलाइट जडानसँगै अब एकेडेमीमा नियमित रात्रिकालीन अभ्यास सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।





