शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

हिजो धनराज र पद्माको ‘ब्याटल ग्राउण्ड’ नयाँ अनुहार

हिजो धनराज र पद्माको ‘ब्याटल ग्राउण्ड’ नयाँ अनुहार


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन १५ २०८२, शुक्रबार

पोखरा/२०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गर्दै एमाले नेतृ पद्मा अर्याल स्याङ्जा क्षेत्र नम्बर २ मा स्थापित बनिन् । उनले ३५ हजार १४२ मत ल्याउँदा गोपालमानले ३१ हजार ४३६ मत पाएका थिए । त्यो विजयपछि उनी मन्त्री बनिन् । हाल उनी एमाले सचिव छन् ।

२०७९ सालको विवादित निर्वाचनमा चाहिँ कांग्रेसका उम्मेदवार धनराज गुरुङले बाजी मारे । धनराजले ३१ हजार ४६६ मत ल्याउँदा पद्माले २५ हजार ८३९ मत प्राप्त गरिन् । त्यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज ८ हजार ३१३ मतसहित आफूलाई तेस्रो स्थानमा उभ्याए । १ लाख १६ हजार ६७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १९१ मत खसेको थियो । त्यो बेला नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो मुद्दालाई सर्वोच्चले ‘जसले आरोप लगाउँछ, उसैले प्रमाणित गर्नुपर्छ’ भन्ने तर्कसहित खारेज गरेको थियो । समानुपातिकतर्फ भने एमाले २२ हजार ८०४ मतसहित पहिलो हुँदा कांग्रेसले २२ हजार २६३ र रास्वपाले १० हजार १२९, माओवादी केन्द्रले ५ हजार २४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७३४ मत प्राप्त गरेको थियो । अहिलेको चुनावमा त्यहाँबाट ६० हजार २३६ महिलासहित १ लाख १७ हजार ९१७ मतदाताले मतदान गर्दैछन् ।

स्याङ्जा क्षेत्र नम्बर २ मा वालिङ नगरपालिकाको ३ र ४ बाहेकका १२ वडा, चापाकोट रगल्याङ नगरपालिका,भिरकोट नगरपालिकाका ५,६,७,८ र ९ नम्बर वडा तथा कालीगण्डकी गाउँपालिकाका सबै वडा पर्छन् । भिरकोट नगरपालिकाको ६ नम्बर वडाबाहेक बाँकी ८ वडा कांग्रेसले जितेको छ । वालिङ नगरपालिकाको मेयरमा एमालेका कृष्ण खाँण विजयी बनेका छन् । वालिङमा उपमेयर र १४ मध्ये ४ वटा वडामा मात्र कांग्रेस विजयी भएको छ । चापाकोट र गल्याङ नगरपालिकामा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ भने कालीगण्डकीको अध्यक्ष र उपाध्यक्षसहित ७ मध्ये ४ वडामा एमाले विजयी भएको छ । तर, हिजो स्थानीय तहमा को विजयी बन्यो भन्नेले यो चुनावमा अर्थ राख्दैन । किनकि, जेन–जी आन्दोलनपछिको परिदृष्य फेरिएको छ । स्याङ्जाको सो चुनावी मैदानमा अहिले कांग्रेसका निवर्तमान उपसभापति धनराज आचार्य र एमाले सचिव पद्मा अर्याल छैनन् । दुबै पार्टीले त्यहाँ नयाँ अनुहारलाई अवसर दिएका छन् ।

स्याङ्जा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा,नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर बिक,राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे,नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल,जय मातृभूमि पार्टीबाट धनबहादुर थापा,नेशनल रिपब्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा,मंगोल नेशनल अर्गानाइजेसबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक,नेकपा एमालेबाट खिमबहादुर थापा मैदानमा छन् । यस्तै स्वतन्त्र रुपमा खिमबहादुर क्षेत्री र सागर थापा मगरले पनि जनअनुमोदित हुने जमर्को गर्दैछन् ।

कांग्रेसका भागवत प्रकाश मल्ल २०७४ सालका प्रदेश सभा सांसद हुन् । देशैभर नेकपाको लहर चल्दा उनले स्याङ्जा २ ‘ख’ बाट चुनाव जितेका थिए । ५ वर्ष प्रदेश सभा सदस्यको रुपमा बिताएका उनी निर्माण व्यवसायीसमेत हुन् । २०३३ सालमा जन्मेका भागवतमाथि आर्थिक र चारित्रिक दाग लागेको छैन । युवामाझ लोकप्रिय रहेका भागवत सामु दोस्रोपटक आफूलाई चुनावी मैदानको असली घोडा सावित गर्नुपर्ने चुनौती छ । यो चुनौती चिर्न उनले बदलिएको कांग्रेस देखाउँदै देश बदल्ने प्रण गरिरहेका छन् । लोकप्रियताको हिसाबले पहिलो नम्बरमा रहेका उनी निर्विकल्प भने छैनन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिएका खिमबहादुर थापा कालीगण्डकी गाउँपालिकाका अध्यक्षबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएका हुन् । एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका थापालाई जनस्तरमा भिजेको नेताको रुपमा अगाडि सारिएको सो पार्टीका नेताहरु बताउँछन् । पद्माले २०७४ सालमा बनाएको जीतको इतिहास दोहो¥याउने दाबी गर्दै आएका उनीसँग गाउँपालिका महासंघको उपाध्यक्षको भूमिका निभाएको अनुभव पनि छ । स्थानीय स्तरका मुद्दाहरुलाई केन्द्रमा राख्दै चुनावमा होमिएका थापा संघीयता बलियो बनाउन तीनवटै तहका सरकारबीच समन्वय जरुरी रहेको धारणा राख्छन् ।

२०७९ सालको चुनावमा होमिएका टीकराज गुरुङ अहिले ओझेलमा छन् । स्याङ्जा २ मा सम्मानजनक मत प्राप्त गरेका उनको सट्टा राष्ट्रिय स्वतन्त्र पार्टीबाट छविलाल डुम्रे उम्मेदवार छन् । छविलाल व्यवसायी हुन् । पोखरामा व्यवसाय गर्दै आएका उनी हाल रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य हुन् । जेन–जी आन्दोलनले खोजेको परिवर्तनको पक्षधर बताउने उनी स्याङ्जाको भूगोल र त्यसको आवश्यकता बुझेको दाबीमात्र गर्दैनन्,अवसर पाउँदा काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गर्दैछन् । ठूला सपना हैन, साना समस्या समाधानमा ध्यान केन्द्रित गर्ने चुनावी नारासहित उनी मैदानमा छन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर बिक राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक न्याय पनि चाहिन्छ भन्दै चुनावी मैदानमा छन् । माओवादी जनयुद्धकालीन समयदेखि नै वर्गीय चेतसहित आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका बिकले राजनीति शास्त्रमा स्नाकोत्तर गरेका छन् । कानूनका स्नातक बिक जनपक्षीय नीति निर्माणको आफ्नो एजेण्डालाई जनताले अनुमोदन गर्ने बताउँछन् । मैदानमा अरु दल र स्वतन्त्र उम्मेदवार पनि छन् तर कर्मचारी जन्माउने स्याङ्जाको यो क्षेत्रबाट जो विजयी बने पनि नयाँ नेता चाहिँ जन्मिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->