बागलुङ/आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक २० औं वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको वार्षिकोत्सव पर्यटकीय स्थलमा पुगेर मनाउने परम्परालाई निरन्तरता दिँदै १९ औं वार्षिकोत्सव कालिका मन्दिर परिसरमा एक औपचारिक कार्यक्रमका बीच मनाइएको छ । पर्यटन प्रर्बद्धनमा सहयोग गर्ने, राजनीतिक नेतृत्व भन्दा पत्रकारिता क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गर्ने लक्ष्यले यो विधि अपनाउदै आएकोमा यस पटकको निर्वाचनले गर्दा नजिकको धार्मिक पर्यटकीय क्षेत्रमा वार्षिकोत्सव मनाइएको हो संस्थाका प्रधान सम्पादक राम बहादुर जिसीले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रिकाको वार्षिकोत्सवको शुभकामना दिंदै पर्यटकीय क्षेत्रमा मनाउदै आएको वर्षिकोत्सले निरन्तरता पाएको बताए । उनले सक्रिय र श्रमजिवी पत्रकार उत्पादन गर्दै अहोरात्र २० वर्षमा प्रवेश गर्नु पत्रकारिता क्षेत्रकै गौरवको विषय भएको बताए । पछिल्लो समय लेखन क्षेत्रमा आउने पत्रकारको संख्यामा कमी भएको बेला भ्रमण, लेखनवृत्ति लगायतको कार्यले आर्कषण बढाउन सक्ने उनले सुनाए ।
वार्षिकोत्सवमा कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले मिडियाले पर्यटकीय क्षेत्रलाई थप उजागर गर्दै लैजानुपर्ने बताए । उनले राजनीतिक भन्दा विकासमूलक पत्रकारिता आजको आवश्यकता रहेको बताए । कार्यक्रममा अग्रज पत्रकारहरु प्रकट कुमार शिशिर र राजेशचन्द्र राजभण्डारीले शुभकामना व्यक्त गरेका थिए ।
मंगला गाउँपालिका वडा नंं १ का अध्यक्ष एक्जिट रोका, रघुगंगा गाउँपालिका ५ का अध्यक्ष मनबहादुर शेरपुन्जा, केन्द्रीय दुग्ध सहकारी संस्थाका संचालक दिपक गौतम, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर, प्रेस चौतारी नेपालका गण्डकी प्रदेश सचिव बालकृष्ण सुवेदी, प्रगतीशिल पत्रकार संघका अध्यक्ष विजय राना, टोड्के हिल रिर्सोटका संचालक भीम शेरचन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीकी अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जुको अध्यक्षता, सम्पादक रामबहादुर जिसीको संचालन र सहसम्पादक सिर्जना पन्तको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





