स्याङ्जा/प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जामा प्रतिस्पर्धी १८ जनाको जमानत जफत भएको छ । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं. १ र क्षेत्र नं. २ मा नौँ/नौँ जनाको जमानत जफत भएको हो ।
क्षेत्र नं. १ मा ७० हजार ९ सय ४४ मत खसेकोमा दुई हजार ९ सय ८ मत बदर भएको थियो । सदर मत ६८ हजार ३६ मा १० प्रतिसत मत नल्याउने नौँ जनाको जमानत जफत भएको हो ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनन्जय रेग्मीले २९ हजार ७१, नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले १८ हजार ८ सय ५७ र नेकपा एमालेका मिन प्रसाद गुरुङले १६ हजार ८ सय ४ मत ल्याएर जमानत जोगाउँदा अन्यको जमानत जफत भएको हो ।
यहाँ नेपाल कम्युनिष्ट पार्टीका शैलेन्द्र रेग्मीले एक हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुम बहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९, मङ्गोल नेशनल अर्गानाइजेसनका यामबहादुर गुरुङले २१६, उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १७६, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेकपा माओवादीका सोमबहादुर परियारले ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विकले ३० र स्वतन्त्र उम्मेदवार अशोक बिष्टले २५ मत मात्र ल्याउँदा जनमानत जफत भएको क्षेत्र नं. १ का प्रमुख निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिए ।
यस्तै क्षेत्र नं. २ मा ६४ हजार ९२८ मत खसेकोमा दुई हजार ६६२ मत बदर र ६२ हजार २६६ मत सदर भएको थियो । यहाँ रास्वपाका झविलाल डुम्रेले २५ हजार ३५४, नेपाली काँग्रेसका भागवत प्रकाश मल्लले २० हजार ८३० र एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर जमानत जोगाउँदा अन्यले जोगाउन असमर्थ रहे ।
यहाँ सदर मतमा १० प्रतिसत नल्याउने नेकपाका पदमबहादुर विकले ८४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठकले ५६६, नेशनल रिपब्लिक नेपाल पार्टीका तेजबहादुर थापाले दुई सय, मङ्गोल नेशनल अर्गानाइजेसनका खर्कबहादुर थापाले १३२, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रेले ७१, स्वतन्त्र खिमबहादुर क्षेत्रीले ६७, राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले ६५, जय मातृभूमि पार्टीका धनबहादुर थापाले १६ र स्वतन्त्र सागर थापा मगरले नौँ मत पाउँदा जमानत जफत भएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानाकारी दिए ।





