काठमाडौं/नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथका लागि नयाँ हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शपथका लागि सङ्घीय संसद् भवन सिंहदरबारमा नयाँ हल बनेको हो । संघीय संसद् सचिवालयका अनुसार प्रमुख दलसँगको छलफपछि शपथका लागि हलको तयारी तीव्र पारिएको हो । सचिवालयले निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै शपथका लागि सूचना सार्वजनिक गर्ने तयारी गरेको छ ।
१८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ । नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५ र नेकपाले १७ सिट पाएका छन । पहिलो पटक संसदीय राजनीतिमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र पाँच सिटसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ दल बनेको छ । संसदमा महावीर पुन स्वतन्त्र सांसदका रुपमा सहभागी हुनेछन।
निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार बुझाउने भएको छ। आयोगले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जनाएका छन् ।
आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ।





