काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ। बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो। सरकार गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ।
रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार जनाबीच भेटघाटको तस्बिर पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’ उनले राजकाज भनेर राज्य सञ्चालनबारे छलफल भएको इंगित गरेका हुन्।
रास्वपाका शीर्ष नेताहरूबीचको छलफलबाट सांसदहरूको शपथ १२ गते भएपछि वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ । मन्त्रीहरूको शपथ पनि प्रधानमन्त्रीसँगै हुने भएको छ ।
रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । ‘चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ उपसभापति वाग्लेले भने । झण्डै दुई तिहाई बहुमत ल्याएपछि रास्वपा एकल सरकार गठन गर्ने भएको हो ।





