स्याङ्जा/१९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा(एसइई) मा यस पटक स्याङ्जामा तीन वटा केन्द्र घटाइएको छ ।
यहाँ विद्यार्थी घटेसँगै २४ वटा केन्द्रबाट घटाएर २१ बनाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिए ।
गत साल चार हजार ९९२ जना विद्यार्थी सहभागी रहेकोमा यस बर्ष ७१७ जना घटेसँगै केन्द्र घटाउनु परेको हो । यस पटक पुतलीबजारको सरस्वती मावि, वालिङको बालसिद्ध र सरस्वती माविको केन्द्र हटाइएको हो ।
विद्यार्थीको संख्या मात्र हेरेर केन्द्र बनाएको भए अझै घटाउनु पर्ने आवश्यकता रहेको बताउँदै आचार्यले कम्तीमा एक पालिकामा एक केन्द्र राख्दा केही बढी केन्द्र राख्नुपरेको
बताए ।
यो पटक फेदिखोला, आँधीखोला, अर्जुन चौपारी, हरिनास र विरुवामा एक÷एक , कालीगण्डकी, भीरकोट, चापाकोट र गल्याङमा दुई÷दुई, पुतलीबजारमा तीन र वालिङमा पाँच वटा केन्द्र रहेका छन् ।
यस पटक स्याङ्जामा नियमीत तर्फ तीन हजार २२१ र ग्रेड बृद्धी एक हजार ५४ गरेर चार हजार २७५ विद्यार्थी परिक्षामा सहभागी हुने छन् । परिक्षामा सहभागीहरु दुई हजार १०१ छात्रा र दुई हजार १७४ छात्र रहेको आचार्यले बताए ।
यहाँ परिक्षा सहभागी मध्ये छ प्राविधिक विद्यालयका ११६, चार धार्मिक विद्यालयका १६ विद्यार्थी रहेका छन् । कर्मचारीको टुङगो नलागेपनि केन्द्राध्यक्ष भने सम्वन्धित विद्यालयको प्रधानाध्यापक रहने आचार्यले बताए ।





