
म्याग्दी/यही चैत १९ गते देखि हुने माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष र परीक्षा केन्द्र म्याग्दी जिल्लामा निर्धारण गरिएको छ ।
सोमबार परीक्षा समन्वय समिति म्याग्दीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्र तोकिएको परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको हो । जिल्लाभित्र रहेका ८ वटा परीक्षा केन्द्रमा सम्बन्धीत विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको हो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विदुर चापागाईका अनुसार एसइई परिक्षा सञ्चालन गर्नका लागि जिल्लामा ८ वटा केन्द्र तय गरिएको छ ।
प्रकाश माध्यमिक विद्यालय बेनी, बेनी सामुदायिक माध्यमिक विद्यालय बेनी, न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय बेनी, माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय बेनीलाई परीक्षा केन्द्र तोकिएको छ । त्यसैगरी मंगला माध्यमिक विद्यालय बाबियाचौर, जनप्रिय माध्यमिक विद्यालय दरवाङ र हेम माध्यमिक विद्यालय सिवाङ तथा पोखरेबगर आधारभुत विद्यालय अन्नपुर्ण गाउँपालिका ६ पोखरेबगरलाई परिक्षा केन्द्र तोकिएको छ ।
जिल्ला भित्रका ७ वटा परीक्षा केन्द्र माध्यमिक विद्यालय भएको हुनाले सोही विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको र पोखरेबगर आधारभूत विद्यालयका लागि जिल्ला भित्र कार्यरत माध्यमिक तहका स्थायी शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको हो । केन्द्राध्यक्षहरुमा लेखबहादुर हमाल, भिमबहादुर घर्ती, दिलबहादुर दाहाल, गमबहादुर खत्री, दिवाकर सुवेदी, शेरवहादुर केसी, राजु केसी र गजेन्द्र श्रेष्ठ रहेका छन् ।
म्याग्दी जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये बेनी नगरपालिका भित्र चार वटा परीक्षा केन्द्र रहँदै गर्दा रघुगंगा गाउँपालिका भित्र भने यस वर्ष परीक्षा केन्द्र तोकिएको छैन । विगतको वर्षहरुमा मुक्तिधाम माध्यमिक विद्यालय भगवतीमा केन्द्र तोकिने गरेको भए पनि यस वर्ष भने त्यहाँको केन्द्र हटाइएको छ । त्यसैगरी बेनी नगरपालिका ४ स्थीत धवलागिरी माध्यमिक विद्यालय परिक्षा केन्द्र पनि यस वर्ष हटाइएको छ ।
परीक्षा समन्वय समितिको बैठकले परीक्षाको सुरक्षा प्रवन्ध मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
जिल्लाको धवलागिरी गाउँपालिकाको हेम माध्यमिक विद्यालय शिवाङ केन्द्रमा नियमित तर्फ १५२ र ग्रेडबृद्धि तर्फ ९२ गरी कुल २४४ जना विद्यार्थी परीक्षामा सामेल हुदै छन् । त्यस्तै मालिका गाउँपालिकाको दरवाङमा रहेको जनप्रिय मावि परीक्षा केन्द्रमा नियमित तर्फ २२९ र ग्रेडबृद्धि तर्फ ५५ गरी कुल २८४ जना विद्यार्थीहरुले परीक्षा दिँदै छन् । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालय परीक्षा केन्द्रमा नियमिततर्फ २०८ र ग्रेड बृद्धितर्फ ७६ गरी २८४ जना विद्यार्थी सामेल हुनेछन् ।
त्यसैगरी माउण्ट एभरेष्ट आमावि बेनी केन्द्रमा २११ नियमित र २९ जना ग्रेडबृद्धि गरी २४० जना, प्रकाश मावि केन्द्रमा २२८ नियमित र ३७ ग्रेडबृद्धि गरी २६५, बेनी सामुदायिक मावि बेनीमा नियमित तर्फ २०१, ग्रेडबृद्धि ७ गरी २०८ र प्राविधिक धारतर्फ निमित ६६ र ग्रेडबृद्धि ९ गरी ७५ विद्यार्थी गरी कुल २८३ जना विद्यार्थीले बेनी सामुदायिक विद्यालय परीक्षकेन्द्रबाट परीक्षा दिदै छन् ।
त्यस्तै पोखरेबगर आधारभुत विद्यालय अन्नपुर्ण ६ पोखरेबगरमा १३४ नियमित र ४ जना ग्रेड बृद्धि गरी १३८ जना, न्यू वेष्ट पोइन्ट आवासिय माविमा नियमित २५८ र ग्रेडबृद्धि १९ गरी २७७ जना विद्यार्थीहरुले परीक्षामा सहभागिता जनाउँदै छन् ।
यस वर्ष म्याग्दी जिल्लाबाट एक हजार छ सय २१ जना नियमिततर्फ तीन सय २८ ग्रेडबृद्धि र ६६ जना प्राविधिक धारतर्फ गरी कुल दुई हजार १५ जना विद्यार्थीहरु परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विदुर चापागाईले जानकारी दिए ।





