पोखरा/भदौ २४ गते कफ्र्यू लगाइसकेको अवस्था र सेना परिचालन भइसकेको अवस्थामा पनि पोखराको पृथ्वीचोक नजिकै रहेको कृषि बजारमा आगजनी गर्ने तयारी रहेको खुलेको छ । तर, सेनाले त्यसलाई नियन्त्रणमा लिएको जेनजी आन्दोलनको छानविनको लागि गठित विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदनमा खुलेको छ । प्रतिवेदन अनुसार भदौ २५ गते बिहान साढे ८ बजेको समयमा पोखरा महानगरपालिका ९ शान्तिवनमा रहेको कृषि बजारमा जेनजेडको नाममा आगजनी तथा तोडफोड गर्ने योजना बनाएको खुलेको हो ।
‘कृषि उपज व्यवसाय तथा काम गर्ने केही उच्छृङखल व्यक्तिहरुले विगतमा कृषि बजार व्यवस्थापन समितिको टेण्डर प्रकृयामा व्यक्तिगत रिसईवी राखी आगजनी तथा तोडफाड गर्न खोजेको भनी प्राप्त सूचना अनुसार तत्कालै नेपाली सेनाको कृष्ण दल गण फूलवारी व्यारेकबाट टोली खटिई गई अराजक गतिविधि गर्नेहरुलाई तरकारी बजारबाट हटाएकोमा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडीले प्रशासन शाखा, लेखा शाखा, योजना शाखा, अध्यक्षको कार्यकक्ष, विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाईमा तोडफोड गर्नुका साथै भाडा वापत उठेको रु. ३,६०, ०००। –(तीन लाख साठी हजार रुपैयाँ समेत हराएको भनी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिई आवश्यक अनुसन्धान भइरहेको ।’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार कास्कीमा भदौ २२ गते देखि नै तोडफोड, आगजनीको घटना पश्चात पनि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु एकै ठाँउमा कमाण्डपोष्ट खडा गरी आवश्यकतानुसार सुरक्षा समितिको बैठक बस्ने, जिल्लामा मानवीय तथा थप क्षति नहोस्, शान्ति सुरक्षा भंग नहोस् भने अभिप्रायका साथ जिल्लामा गान्ति सुरक्षा र सद्भाव कायम गर्नेतर्फ सबै सुरक्षा निकायबाट समन्वय गरी काम गरिएको खुलाइएको छ ।
भदौ २४ गते देशव्यापी एकसाथ नेपाली सेनाको परिचालन पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा टोली परिचालित भई पोखरा महानगरपालिकाको दमकलको सहायताले जिल्ला प्रहरी कार्यालय, कास्की र भाटभटेनी सुपर मार्केटको कास्की पोखरास्थित भवनमा लागेको आगो नियन्त्रणमा लिएको प्रतिवेदनमा उल्लेख छ ।
भदौ २४ गते ९ः४५ बजे नेपाली सेना परिचालन भइसकेपछि माइकिङ्ग मार्फत कफ्र्यू सम्बन्धी सूचना प्रचारप्रसार, पैदल गस्ती मोबाइल गस्ती पट्रोलिङ भेहिकल पट्रोल तथा चेकप्वाइन्ट मार्फत चेकजाँच गरी पोखरा महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रण, चोरी लुटपाट नियन्त्रण, लुटपाट भएका हातहतियार सामग्री उपकरण बरामद लगायतका काम कारबाही भएको बयान प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी छन् ।





