काठमाडौं / समानान्तर गतिविधि थालेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूह तीन वटा रणनीतिमा केन्द्रित देखिन्छ। देउवा–कोइराला पक्षका नेताहरूका अनुसार समूहगत छलफलमा पार्टी आधिकारिताको मुद्दा, संवादको दबाब र नयाँ पार्टी गठनको तयारीसम्मको विषयमाथि विमर्श भइरहेको छ।
कांग्रेसको आधिकारिताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई खेमामा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिटमा चैत २२ गते पेसी तोकिएको छ।
चैत २२ गतेअघि तत्कालीन केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको भेला बोलाएर अदालतलाई प्रभाव देखाउने देउवा–कोइराला पक्षको रणनीति प्रस्ट देखिन्छ। विशेष र नियमित महाधिवेशनको राजनीतिक लडाइँमा निर्वाचन आयोगबाट प्रतिकूल निर्णय आएपछि रक्षात्मक बनेको यो समूह समानान्तर गतिविधि गरेर संस्थापन पक्षमाथि मनोवैज्ञानिक दबाब सिर्जना गराउने रणनीतिमा छ।
संस्थापन पक्षले आत्मसमर्पण गराउने नीति लिएपछि समानान्तर गतिविधिमार्फत दबाब बढाएर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन बाध्य बनाउने आफूहरूको रणनीति रहेको देउवा–कोइराला पक्षका नेताहरू बताउँछन्। पार्टीभित्र मतमतान्तरले संवादको वातारण बनाउने उद्देश्यले नेताहरू छलफल र विमर्शमा जुटेको नेता मीन विश्वकर्मा बताउँछन्।
‘पार्टीमा कुनै तरंग सिर्जना नगरेर संवाद हुँदैन नि त। एउटा जीवन्त पार्टीमा मतमतान्तर हुन्छ। यसलाई मन्थनको विषय बनाएर एकतामा पुर्याउँछ,’ उनी भन्छन्।

देउवा–कोइराला पक्षका नेताहरू पार्टीभित्र दबाब बढाएर सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई १५औँ महाधिवेशन आयोजक समिति बनाउने ठाउँमा पुर्याउने रणनीतिमा छन्। सभापति थापाले भने आफ्नो पक्षका केही नेतालाई केन्द्रीय समितिमा मनोनयनको तयारी गरेपछि देउवा–कोइराला आक्रामक देखिएका छन्।
नेता श्याम घिमिरेले आफ्नो पनि विचार समूहमा आत्मविश्वास र ऊर्जा भर्न आन्तरिक छलफल गरिएको बताए।
‘आफ्ना साथीहरू एउटा ठाउँमा ल्याइराख्ने, उनीहरूका कुरा सुन्ने र पार्टीको बहुमत पक्ष हामी हौँ भन्ने सन्देश दिने कुरा हो,’ उनी भन्छन्।
सर्वोच्च अदालतबाट पनि थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिँदा कसरी जाने भन्नेमा देउवा–कोइराला पक्षभित्र आन्तरिक रणनीति बनिरहेको उनको भनाइ छ।
‘अहिले फरक पार्टी निर्माणको गृहकार्य भएको छैन,’ घिमिरे भन्छन्, ‘भोलि सर्वोच्चले उनीहरूलाई नै मान्यता दियो। उनीहरूले कसैलाई वास्ता नगर्ने अवस्था बन्यो भने विद्रोह त राजनीतिमा हुन्छ होला। अहिले नै सबै जना पार्टी एकताकै पक्षमा हुनुहुन्छ।’
मंगलबारको छलफलमा नेता जीवनबहादुर शाहीले भने मिल्न नसक्ने भए समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी बनाउनुपर्ने मत राखेका थिए।
‘यो समानान्तर भन्ने कुरा हुँदैन। पार्टी उनीहरू (गगन थापा र विश्वप्रकाश शर्मा) ले लगिहाले। कि गएर मिलौँ, मिलेर जाऊँ, त्यसका लागि संवाद अघि बढाऊँ। संवादमा बस्न मन छैन, बस्ने इच्छा छैन भने अर्को पार्टी खोलौँ,’ शाहीले भने।





