पोखरा/१४ औँ महाधिवेशनमा एकजुट हुन नसकेका कोइराला दाजुभाई मंगलबार भने एकैसाथ एउटै ‘रो’ मा देखिए । उनीहरुको बिचमा थिए, १४ औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएका, ‘पूर्णबहादुर खडका ।’
पुस अन्तिममा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिती चयन भएको थियो । प्रतिनिधीसभा निर्वाचनको सम्मुखमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व छानिएपछि ‘सात भाई’ ले चिनिएको पूर्णबहादुर खड्का सहितको टिमले छुट्टै भेला गरेको थिएन । अहिले भने खड्का एकाएक सक्रिय भएका छन । उनलाई बरु अहिले तत्कालीन समयमा इतर समूहको नेतृत्व गरेका शेखर कोइरालाले पनि साथ दिएका छन । सशांक कोइराला त सुरुदेखि नै यही समूहमा थिए ।
यसअघि देउवा समूहको बैठक बहिस्कार गर्ने शेखर कोइराला भने खड्काले डाकेको सहभागी भएको पछिल्लोसमय मात्रै हो । कांग्रेस सभापतिमा थापा चयन भएपछि कोइराला बिच्किएर खड्का समूहसँग नजिक बनेका छन ।
मंगलबारको भेलामा कुने ब्यानर राखिएको थिएन । भेलामा नेताहरूले कांग्रेस संक्रमणकालमा रहेकोले एकताको सन्देश दिँदा पार्टी र देशको हितमा हुने धारणा राखे । चुनावमा भएका गल्ती कमजोरी र त्यसपछि गर्नुपर्ने कामका बारेमा बैठकमा छलफल भएको नेता रामहरि खतिवडाले बताए ।
पार्टीको आधिकारिकताको विवादमा अदालतले जुनसुकै फैसला गरे पनि सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । ‘मुद्दा अदालतमा छ । त्यसपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने सोच हुनुपर्छ । एकताबद्ध बनाउने पहल यताबाट गर्ने कि उताबाट भनेर पर्खने भन्दा पहल जहाँबाट हुन्छ गर्नुपर्छ,’ भेलापछि उनले भने ।
भेलामा सहभागी नेताहरूका अनुसार इतर समूहको नेतृत्वकै समेत आलोचना भएको थियो । चित्त नबुझे नयाँ पार्टी खोलेर जाँदा हुने प्रस्ताव पनि भेलामा आएको थियो । नेता जीवन बहादुर शाहीले समानान्तर गतिविधी ठीक नहुने र एकै ठाउँमा बस्ने इच्छा नभए अर्को पार्टी खोल्न भनेको बैठकमा सहभागी एक नेताले सँग भने । ‘यो समानान्तर भन्ने कुरा हुँदैन । पार्टी उनीहरूले लगिहाले । कि गएर मिलौँ । मिलेर जाऔँ त्यसका लागि संवाद अघि बढाऔँ । संवाद गर्न र बस्न मन छैन, बस्ने इच्छा छैन भने अर्को पार्टी खोलौँ । यसरी समानान्तर गतिविधि भन्दै नबसौँ,’ शाहीले बैठकमा भने ।
त्यस्तै, नेपाललाई हिन्दु राज्य बनाउन माग गर्ने नेता शंकर भण्डारीले भेलामा पनि सोही कुरा दोहो¥याएका थिए । ‘अब ल्याङ गरेर हुँदैन । देश जान लागिसक्यो, संवैधानिक राजसंस्था र हिन्दु राज्य बनाउन नेपाली कांग्रेस लाग्नुपर्छ । यसरी कांग्रेसले हेरेर बस्न हुँदैन । विदेशी हस्तक्षेपमा देश पुगिसक्यो । यसमा चाँडो विचार गरौँ,’ उनको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने ।
भेलामा नेतृ सरस्वती तिवारीले विशेष महाधिवेशनविरुद्ध अदालत पनि जाने र विशेष महाधिवेशनबाट आएको नेतृतवको हस्ताक्षर भएको टिकट लिएर चुनाव पनि लड्ने भन्दै नेताहरूको आलोचना थिइन् । ‘तपाईंहरूले गगन थापाको हातबाट किन टिकट लिएर गएको ? चुनाव किन लडेको ? चुनाव लड्न हुने थिएन । टिकट चाहिन्न, चुनाव लड्दिनँ भन्न सक्नुभएन ?,’ उनले भेलामा भनेकी थिइन् ।
भेलामा नेता मानबहादुर नेपालीले अहिले इतर समूहलाई नेतृत्व दिए पनि पार्टी पार नलाग्ने चिन्ता लागेको बताएका थिए । ‘पार्टीमा एकदमै धेरै अन्याय गरे । यसको उपाय पार्टी सुधार गर्ने हो । गलत मान्छेको हातमा पार्टी जाँदै छ, सुधार गरौँ । तर तपाईंहरूको हातमा पार्टी गए पार लाग्दैन भन्ने चिन्ता छ,’ उनले भेलामा भनेका थिए ।
नेता मानबहादुर विकले नेतृत्वले ख्याल नगर्दा पार्टी दुर्घटनामा परेको भन्दै आलोचना गरेका थिए । ‘हामी दुर्घटनामा जाँदै छौँ । मैले धेरै समयदेखि भने, ’तपाईंहरूले ख्याल नगर्दा आजको दुर्घटना भयो,’ उनले बैठकमा भने ।
भेलामा नेता मोहन बस्नेतले नेपाल भूराजनीतिक समस्यामा परेको बताए । ‘हामी भूराजनीतिक समस्यामा प¥यौँ । नेताहरूले छट्टुहरूको कुरा मात्र सुने, हाम्रो कुरा सुनेनन् । कम्युनिस्टसँग गठबन्धन गरेर हामीले भूराजनीतिक सन्तुलन मिलाउन सकेनौँ । हामीले नमिलौँ भन्दा कुरा सुनुवाइ भएन,’ उनले भेलामा भने ।
तत्कालीन १६७ सदस्यीय केन्द्रीय समिति सदस्यहरूमध्येमा मंगलबार ८४ जनाको सहभागिता रहेको र ११४ जना सम्पर्कमा रहेको नेताहरूको दाबी छ । बैठक बुधबार १ बजे फेरि बस्नेछ भने त्यसपछि प्रदेशस्तरका नेताहरूको भेला र जिल्ला सभापतिहरूको भेला हुनेछ ।
समानान्तर गतिविधीले न्याय गर्दैन ः प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको संस्थापन इतर पक्षले अगाडि बढाएको समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन् ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले पार्टीभित्रको असहमतिलाई आत्मकेन्द्रित र समानान्तर गतिविधिमा रूपान्तरण गरेको भन्दै यसले पार्टीलाई न्याय नगर्ने बताए ।
संस्थापन इतर पक्षले धुम्बाराहीमा आजबाट १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक कार्यवहाक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले सुरु गरेपछि प्रवक्ता चालिसेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिन्छ । यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउँछ,’ उनले लेखेका छन्, ‘तर जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन ।’
महाधिवेशन नजिकिँदै भन्दै आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सबैका लागि श्रेयस्कर हुने उनको भनाइ छ ।
‘नेतृत्वको बाटो विधानअनुसार खुला छ । पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैँलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौँ,’ उनी लेख्छन् ।
देउवा कोइराला समूहको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा, १५औँ महाधिवेशन लगायतका विषयमाथि छलफल भइरहेको छ । १४औँ महाधिवेशनमा निर्वाचित अधिकांश केन्द्रीय सदस्य बैठकमा सहभागी छन् ।
सातै प्रदेशमा निर्वाचन समीक्षा
नेपाली कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै चैत्र २३ देखि २०८३ वैशाख ५ गतेसम्म निर्वाचन समीक्षा कार्यक्रम तय गरिएको जनाएका छन् ।
कोसी प्रदेशमा विराटनगरमा चैत २३ गते डिला संग्रौलाको संयोजकत्वमा समीक्षा हुने छ । यस्तै, चैत २५ मा मधेस प्रदेशमा सह–महामन्त्री फरमुल्लाह मन्सुरको संयोजनमा समीक्षा तय भएको छ ।
बागमती प्रदेशमा समीक्षा कार्यक्रमको संयोजन सह–महामन्त्री बहादुरसिंह लामले गर्नेछन् । वैशाख ३ मा बागमती प्रदेशमा समीक्षा हुने छ ।
गण्डकीमा प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा चैत २७ गते कार्यक्रम हुने छ । लुम्बिनीमा सह–महामन्त्री योगेन्द्र चौधरीको संयोजकत्वमा चैत २९ मा कार्यक्रम हुनेछ ।
कर्णाली प्रदशेमा वैशाख ५ गते समीक्षा हुनेछ । उक्त कार्यक्रमको संयोजन सह–महामन्त्री कर्णबहादुर बुढाले गर्नेछ्न । सुदूरपश्चिममा सह–महामन्त्री प्रकाश रसाइलीले कार्यक्रम संयोजन गर्ने छन् । वैशाख ५ गते कार्यक्रम तय भएको छ । कांग्रेसले पार्टीङको आगामी बबाटोबारे १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग छलफल गर्ने महामन्त्री पौडेलले बताएका छन् ।
विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्दै चुनावमा गएको कांग्रेसका सबै पदाधिकारी पराजित भएका थिए । संसदमा कांग्रेसको प्रतिनिधित्व खुम्चिएसँगै यसको कारण पत्ता लगाउन कांग्रेसले प्रदेशस्तरीय समीक्षा गर्न लागेको हो ।





