सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी विश्वविद्यालयको दीक्षान्तमा ४४ विद्यार्थी दीक्षित हुने

गण्डकी विश्वविद्यालयको दीक्षान्तमा ४४ विद्यार्थी दीक्षित हुने


  • ढाेरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

पोखरा / गण्डकी विश्वविद्यालय (जीयू) को प्रथम दीक्षान्त यही चैत २८ गते हुने भएको छ । उक्त अवसरमा स्नातक तहको अध्ययन सम्पन्न गरी तोकिएका सर्तहरू पूरा गरेका ४४ विद्यार्थी उपाधिसहित दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रम पोखरा–३२ मालमुल ज्ञानकुञ्जस्थित जीयूको आफ्नै प्राङ्गणमा हुनेछ । दीक्षित हुने विद्यार्थीमा ब्याचलर अफ स्पोर्टस् म्यानेजमेन्टका ११, ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजीका १८ र ब्याचलर अफ फार्मेसीका १५ जना रहेका छन् । दीक्षान्त समारोह विश्वविद्यालयको शैक्षिक जीवनको एक महत्त्वपूर्ण, ऐतिहासिक तथा गरिमामय पर्वको रुपमा रहेको र यस समारोहमार्फत विश्वविद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक उपलब्धिलाई औपचारिक मान्यता प्रदान गर्दै उनीहरूलाई ज्ञान, सीप र नैतिक मूल्यमान्यतासहित प्रदेश, सिङ्गो राज्य तथा विश्व समुदायको सेवामा समर्पित हुने अवसर प्रदान गर्ने जीयूका उपकुलपति डा.कृष्णराजा अधिकारीले बताए ।

दीक्षान्त समारोहको प्रमुख अथिति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रमुख दीक्षान्त वक्ता प्राध्यापक केदारभक्त माथेमा रहने छन् । समारोहमा गण्डकी प्रदेश सरकारका प्रतिनिधिहरू, विभिन्न विश्वविद्यालयका अध्यक्ष तथा उपकुलपतिहरू, शैक्षिक एवं व्यावसायिक प्रतिष्ठानहरूका प्रतिनिधि, स्थानीय समुदाय, विश्वविद्यालय परिवार तथा पत्रकार गरी करिब ५०० जनाको सहभागिता रहने उनले बताए । अधिकारी दीक्षान्त समारोह समितिका अध्यक्ष समेत हुन् । दीक्षान्त कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति बनाइएको छ ।

गण्डकी विश्वविद्यालय पदक तथा प्रमाणपत्र सम्बन्धी नियमावली अनुसार उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूमध्ये एक जनालाई कुलपति पदक र प्रत्येक कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने १÷१ जना गरी कूल ३ जना विद्यार्थीलाइ उपकुलपति पदक प्रदान गरिनेछ । दीक्षान्त समारोहमा पुरुषका लागि दौरासुरुवाल वा पाइन्ट कोट, भादगाउले ढाका टोपी तथा कालो जुत्ता; महिलाका लागि चोलो÷ब्लाउज सारी, कोट तथा कालो जुत्ता÷चप्पल निर्धारित पोशाक अनिवाार्य गरिएको छ । दीक्षित विद्यार्थीले विश्वविद्यालयले तोकेको गाउन, स्कार्फ तथा टोपी÷हुड अनिवार्य रूपमा धारण गर्नुपर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

दीक्षान्त समारोह केवल उपाधि वितरण कार्यक्रम मात्र नभई विश्वविद्यालयको शैक्षिक उत्कृष्टता, विधिसम्मत प्रशासनिक अभ्यास र सुशासनको सार्वजनिक घोषणा रहेको कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले बताए । यसले विश्वविद्यालयलाई प्रदेश तथा राष्ट्रिय स्तरमा गुणस्तरीय उच्च शिक्षा र अनुसन्धानको केन्द्रका रूपमा थप सुदृढ बनाउने विश्वास गरिएको उनको भनाई छ ।

जीयू गण्डकी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको एक प्रदेशस्तरीय विश्वविद्यालय हो । न्यासिक परिषद् सर्वोच्च निकाय रहने गरी प्रदेश सरकारद्वारा स्थापित यो विश्वविद्यालय नेपालकै पहिलो प्रदेश विश्वविद्यालय हो । हाल विश्वविद्यालयमा ६ वटा कार्यक्रम अन्तर्गत ७५० जना विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा सुशासनलाई मूल आधार मानी विश्वविद्यालयले स्नातकदेखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्राडा तिवारीले बताए । निकट भविष्यमा स्नातकदेखि स्नातकोत्तर तहमा थप कार्यक्रमहरू एवं विद्यावारिधि (पिएचडी) कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->