सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

४४ विद्यार्थी दीक्षित

४४ विद्यार्थी दीक्षित


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८२, शनिबार

पोखरा/ गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा ४४ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३२ स्थित विश्वविद्यालय परिसरमा आयोजित दीक्षान्त समारोहमा विभिन्न संकायका विद्यार्थीहरु दीक्षित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउँदै व्यवहारिक, प्रविधिमैत्री र उत्पादनमुखी शिक्षामा जोड दिए । उनले आजको विश्व प्रतिस्पर्धात्मक बन्दै गएको सन्दर्भमा विद्यार्थीहरूलाई सीप, दक्षता, नवप्रवर्तन र उद्यमशीलताको बाटोमा अग्रसर हुन आग्रह गरे ।

मुख्यमन्त्री पाण्डेले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने उल्लेख गरे । ‘हाम्रो शिक्षा प्रणालीले रोजगारी सिर्जना गर्ने, स्वरोजगार बढाउने र उद्योग–व्यवसायसँग जोडिने खालको हुनुपर्छ,’ उनले भने, ‘उच्च शिक्षा पूरा गरेपछि ठूलो संख्यामा युवा विदेशिने प्रवृत्ति बढ्दो चिन्ताको विषय छ । त्यसलाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ ।’

प्रमुख दीक्षान्त वक्ता शिक्षाविद् केदार भक्त माथेमाले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बजारमुखी, अनुसन्धानमुखी तथा कृत्रिम बौद्धिकतासँग सम्बन्धित विषयहरूलाई पाठ्यक्रममा समेट्नुपर्ने बताउँदै विद्यार्थीहरूलाई केवल जानकारी नभई सोच्ने, विश्लेषण गर्ने र समाधान निकाल्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै गण्डकी विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार विश्वविद्यालयसँग ५२६ रोपनी क्षेत्रफलमा फैलिएको पूर्वाधार रहेको छ भने हाल दुई संकायअन्तर्गत पाँच वटा स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा रहेका छन्। १३ भन्दा बढी पाठ्यक्रम तयार भइसकेका छन् र ५३ जिल्लाबाट ७९५ विद्यार्थी अध्ययनरत छन्। उनले विश्वविद्यालयले १७.२ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । साथै, अनुसन्धान केन्द्रको विस्तार, सरकारी निकायसँग सहकार्य र समुदायस्तरमा आधारित अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राखिएको उनको भनाई थियो ।

न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले विश्वविद्यालय अब भौतिक संरचना निर्माणबाट अघि बढ्दै गुणस्तरीय शिक्षा र संस्थागत सुदृढीकरणतर्फ केन्द्रित हुनुपर्ने बताए । सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बीबीए, कानुन तथा एमआईटी–एआई जस्ता कार्यक्रम सञ्चालन भइसकेकाले अब नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलतामा आधारित शिक्षालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

उपकुलपति कृष्णराज अधिकारीले दीक्षान्त समारोहमा प्रदान गरिएका पदक तथा उपलब्धिहरूबारे जानकारी दिए । स्नातक तहमा सबैभन्दा उच्च सीजीपीए प्राप्त गर्ने गौरव भण्डारीले कुलपति पदक प्राप्त गर भने मलिनकुमार रोका र क्याटरीना बस्नेतले उपकुलपति पदक प्राप्त गरे ।

दीक्षान्त समारोहमा खेलकुद व्यवस्थापनतर्फ ११ जना, सूचना प्रविधितर्फ १८ जना र औषधि विज्ञानतर्फ १५ जना गरी कुल ४४ जना विद्यार्थी दीक्षित भएका थिए। समारोहमा विद्यार्थी, अभिभावक, प्राध्यापक, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->