
बागलुङ/निसीखोलाबाट मध्यपहाडी लोकमार्ग गुडेको छ । तर खोलाछेउमा रहेको राजमार्गले ग्रामीण बासिन्दालाई खासै सेवा दिएको छैन । यहाँको अधिकांस बस्ती गाउँमा छ । वडा कार्यालय पुग्न तीनचार घण्टा पैदल हिंड्नेहरुले लोकमार्गको सेवा लिन सकेका छैनन् ।
विशेषगरी सडक, स्वास्थ्य समस्या र खानेपानीको सास्ती खेपिरहेका बासिन्दालाई निसीखोला गाउँपालिका वडा नं. २ ले विशेष प्राथमिकतामा राखेर कार्यक्रमहरु संचालन गरेको वडा अध्यक्ष कुबिर विश्वकर्मा बताउँछन् ।
गर्भवती महिलाले सुरक्षित सुत्केरी बन्न नपाएर मर्ने अवस्था आउन नदिन ग्रामीण क्षेत्र अर्नाकोटमा बर्थिङ सेन्टर स्थापना भएको छ । जसले गर्दा जटिल समस्यामा पर्ने बाहेक अन्य महिलाले सहजै सुत्केरी सेवा पाउने अवस्था छ । सामान्य समस्या पर्नासाथ दशौं हजार रुपैयाँ तिर्ने सास्ती हटाउन अर्नाकोटको बर्थिङ सेन्टरले सहयोग मिलेको स्थानीयको भनाइ छ । यहाँ पुग्ने सडक त अझैपनि जीर्ण छ । वडा कार्यालयदेखि जोखिम मोलेर जिपको यात्रामा अर्नाकोट पुगिन्छ भने सेवाग्राहीले वडा कार्यालय आउन पनि उत्तिकै सास्ती खेप्छन् । समस्यामा परेकाहरुले नजिकको बुर्तिवाङ बजार पुग्नै पनि नियमित सवारी नपाउने भएपछि बुर्तिवाङ पुग्दा दश हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता स्थानीयले सुनााए ।
२०७८ को अन्तिमताकादेखि अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर संचालनमा आएपछि धेरै महिलाले यो सास्तीबाट मुक्ति त पाएका छन् । तर अझैपनि शुद्दपानीको समस्या झेलेकाहरुले स्वास्थ्य चौकी, विद्यालय र समुदायमा खानेपानीको समस्या समाधानको खोजीमा छन् । स्वास्थ्य संस्थामा दैनिक २० जनासम्मले सेवा पाउँदा सहर झर्नुपर्ने बाध्यता हटेको छ भने वर्षेनी १२ देखि १४ जनासम्मले बर्थिङ सेन्टरमा सुत्केरी हुने अवसर पाएका छन् । नियमित गर्भ परीक्षण, उचित परामर्श समेत पाउँदा धेरैले राहत पाएका छन् । अप्ठ्यारो पर्ने अवस्था भएमा स्वास्थ्यकर्मीले समयमै सुरक्षित अस्पतालमा रिफर गरिदिने चलन बसेको छ । समस्या पर्नेहरुले समयमा सुरक्षित स्थान पुग्ने अवसर पाउन थाल्दा बर्थिङ सेन्टरप्रति विश्वास पनि बढेको छ ।
अझैपनि वडा तर्फको सडक भने अप्ठ्यारो भएकोले कतिपयले प्रशासनिक काम लिन पनि ढोरपाटन नगरपालिकाको केन्द्रतर्फ घुमेर निसी जानुपर्ने बाध्यताले भने सास्ती भएको बताउने गरेका छन् । वडाले अन्य समस्याभन्दा पहिला महिला स्वास्थ्यलाई प्राथमिकता दिएको हो । बर्थिङ सेन्टरका लागि दाताले साथ दिएपछि यो सफलता मिलेको हो । अहिले यो इकाईबाट निसीखोलाको वडा नं. २ र ढोरपाटनको वडा नं. ५ गरी झण्डै तीन सय परिवारले सेवा पाएका छन् । सेवा पाउने मात्र होइन, उनीहरुको समस्या तत्काल रिपोटिङ गर्न वडा नं. २ ले वडा भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई निशुल्क मोबाइल दिएको छ । उनीहरुले मोबाइलबाटै महिलाको गर्भावस्थाबारे माथिल्लो निकायमा रिपोटिङङ गर्छन् । यो पद्दतीले महिला स्वास्थ्यमा निकै सहज वातावरण बन्दै गएको स्वास्थ्यकर्मी बिमला परियारले बताइन् । वडा नं. २ मा अर्नाकोट र राजमार्गमा पनि सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाएपछि स्थानीय आमा समूहसँग पनि सहकार्य गरेर गर्भवती भएदेखिनै तथ्यांक राख्ने, नियमित गर्भजाँच गर्न पठाउने काम अगाडि बढेको छ । इकाइले पनि आमा समूहको बैठक र गर्भवतीहरुको तथ्यांक राखेर समयमा उपचारको दायरामा लैजाने पहल गर्न थालेको छ । नेपाल सरकारले तोकेको प्राटोकल अनुसार हरेक गर्भवती महिलाले सुत्केरी नहुन्जेलसम्म ८ पटकसम्म गर्भजाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा सरकारी नियमअनुसार २ हजार रुपैयाँ बाटो खर्च दिन थालिएको छ । गर्भजाँच नभएमा इकाईबाटै घरभेट गरेर गर्भवतीको स्वास्थ्य अवस्थाबारे बुझ्न थालिएको छ । यो विधिले होम डेलीभरी भने शुन्य उन्मुख भएको छ भन्छन् वडा अध्यक्ष कुविर बिक ।
अर्नाकोटको सेन्टरका लागि कर्मा फ्लाइट फाउण्डेसनले २० लाख रुपैयाँ सहयोग गरेको हो भने राजमार्गमा वडाले आफ्नै खर्चमा इकाई स्थापना गरेको हो । अर्नाकोटको सेवाले वडाबासी बढी खुसी भएको स्वास्थ्यकर्मी चेतबहादुर कँुवर बताउँछन् । फाउण्डेसनले १० लाख खर्चेर यहाँ प्रसुती प्रतिक्षाघर बनाइदिएको छ ।
वडा भित्रका समस्यालाई प्राथमिकता दिएर निसीखोला वडा नं. २ ले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतमा सुधार गरेको छ । त्यो बाहेकको मुख्य अर्को काम पनि अर्नाकोटमै भैरहेको हो । घण्टौं हिंडेर मात्र पानी खानुपर्ने अर्नाकोटबासीलाई शुद्द पानी खुवाउने काममा वडा अध्यक्षले पहल गरेका छन् । अहिले त अर्नाकोटमा बिभिन्न क्षेत्रको सहकार्य र समन्वय गरेर अर्नाकोट खानेपानी आयोजना बनाउने काम अगाडि बढेको छ । काकाकुल अर्नाकोटबासी भन्ने मान्यता फेरिने अवस्था आएको छ । पाँच करोड रुपैयाँको लागतमा नयाँ खानेपानी आयोजना अर्नाकोटबासीको लागि आशा र भरोसा बन्दैछ ।

अहिलेसम्म अर्नाकोटका करिब ४ सय घरधुरीले खानेपानी अभावका कारण दैनिक जीवनमै ठूलो सास्ती भोग्दै आएका थिए । पानीकै समस्याले बसाइ सराइ तीव्र थियो भने पानीकै लागि दिन बिताउनुपर्ने बाध्यता हट्न थालेको छ । ‘बिहान उठेदेखि रातीसम्म खानेपानीकै चिन्ता लिनुपर्ने अवस्था छ’ स्थानीय बीरबहादुर कुँवर भन्छन्, ‘खेतीपाती, पशु चौपायाको विषय त धेरै परको हुन्थ्यो ।’ अझैपनि पशु चौपायालाई पोखरी खोजेर पानी खुवाउने गरेको उनले सुनाए । त्यस बाहेक अर्नाकोट माध्यमिक विद्यालयमा पानी नभएर विद्यार्थीले घरबाट बोतलमा बोकेर ल्याउन बाध्य थिए ।
त्यसो त यसअघि पनि तल्लो व्याङग्रीबाट लिफ्ट विधिबाट ल्याएको पानीले केही समुदायले पानी खाँदै आएका थिए । त्यो सानो श्रोत ठूलो बस्तीका लागि पर्याप्त थिएन । हाडिचार क्षेत्रबाट लिफ्टिङ प्रविधिमार्फत पानी अर्नाकोटसम्म ल्याउने महत्वाकांक्षी योजना अहिले सुरु गरिएको हो । यो पनि लिफ्ट विधि नै भएकोले विद्युतको खर्च समेत उत्तिकै आउने अवस्था छ । तर पनि पानी खुवाइ छाड्ने वडा अध्यक्षको प्रतिवद्दतामा स्थानीय सक्रिय छन् ।
निसीखोला गाउँपालिका, दातृ निकायले यो अभियानमा साथ दिएमा सहयोग पुग्ने विश्वास छ । केही वर्ष अघि नेपाल रेडक्रस सोसाइटी कास्कीले ढोरपाटन नगरपालिका तर्फको बस्तीमा केही पानी लिफ्ट गराएको थियो । अहिले बनाउने योजनामा भने पालिकाले चालु वर्षको २९ लाख रुपैयाँ विनियोजन गरेको छ भने युनिका फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी कास्की र कर्मा फ्ल्लाईट फाउन्डेशन नेपालले पनि सहयोग दिने आश्वासनले अर्नाकोटबासी खुसी छन् । त्यसको लागत झण्डै ५ करोड पुग्ने विश्वास स्थानीयको छ ।
एक वर्षभित्र स्थानीयलाई पानी खुवाउने वडाध्यक्ष बिकको लक्ष्य छ । बिक दुइ कार्यकाल वडाध्यक्ष भैसकेका छन् । त्यसैले उनको यो योजना नै गौरवको योजना हो । यो योजना सफल बनाएमा उनको राजनीतिक उचाई बढ्ने छ । अन्यथा आम नागरिकले बिकलाई सामान्य वडा अध्यक्षको रुपमा राख्ने निश्चित छ ।
बिकले भने आफ्नो लक्ष्य पानी खुवाउने मात्र नभइ अर्नाकोटलाई पर्यटकीय क्षेत्र बनाउने पनि छ । यहाँका होमस्टेमा पनि पानी अभावमा पर्यटक पुग्न नमानेको अवस्था छ । खानेपानी पुग्दा कृषि र पशुपालन व्यवसाय पनि यहाँ निकै राम्रो बन्छ । समुन्दी सतहबाट २ हजार ५ सयदेखि माथीको स्थान भएकोले सदाबहार शितल र चिसो छ । जहाँ गर्मी छल्न जानेले पनि मज्जा लिन सक्छन् । स्थानीय ओमबहादुर रसाइलीले त धेरै वर्ष अघिदेखि घैटो र ट्यांकी बनाएर सिंचाइ गर्दै तरकारी खेती गरेका थिए । अहिले पानी अभावले समस्यामा परेको गुनासो गर्छन् ।
आयोजना सम्पन्न भएपछि अर्नाकोटसँगै सिन्देरी, छेडा, गोतामे तथा ढोरपाटन नगरपालिकाको घम्पु क्षेत्रका बासिन्दाले समेत लाभ लिने अपेक्षा गरिएको छ । अब बन्ने लिफ्ट आयोजनाले खानेपानी सहज बनाउने मात्र होइन, सरसफाइ, स्वास्थ्य, कृषि उत्पादन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । अर्नाकोट माध्यामिक विद्यालयका प्रअ ईश्वर र्सिपाली त विद्यार्थीले शुद्द पानी खान पाउने भनेर खुसी भएका छन् । पानीको मुहानले पक्कै अर्नाकोटको मुहार फेर्छ भन्नेमा सबै विश्वस्त छन् ।
वडाले विद्यालय तहको शिक्षा पनि सुधार गरेको छ । पढाइ बिचैमा छाड्ने प्रवृत्ति अन्त्य, बालविवाह गर्नेलाई कारवाही गर्ने जस्ता अभियानमा विभिन्न गैससको पनि साथ मिलेको बिकको भनाइ छ । वडाले पनि ८ वटा विद्यालयको भवन पक्की बनाइसकेको छ । सबैमा आइसिटी ल्याब पनि बनेका छन् । आफ्नै पाठ्यक्रम पनि निसीखोलाको छ । यो पाठ्यक्रमले पनि वडा नं. २ को अर्नाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा समावेश गरेको छ ।
वडा नं. २ दलीत समुदायको बाहुल्यता भएको स्थान हो । त्यसैले सचेतनाका अभियानमा वडाले लगानी गरिरहेको छ । विभेदविरुद्व सचेतना कार्यक्रम संचालन गर्ने, महिला हिंसा अन्त्यका लागि तालिम र सचेतनाका अभियान संचालित छन् । त्यसका लागि जिल्लाका कानून व्यवसायी लगायतले पनि सहजीकरण गरेका छन् ।
‘प्राविधि र सचेतनामार्फत जनताको पहुँच विस्तार गरिरहेका छौं’
कुबिर बिक
वडा अध्यक्ष
निसीखोला गाउँपालिका वडा नं. २, बागलुङ
निसीखोलाको प्रमुख समस्या भनेको शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या हो । अर्नाकोट लगायतका स्थानमा खानेपानीको लागि हामीले धेरै ठूला लगानी खोजेर काम थालेका छौं भने शिक्षा र स्वास्थ्यमा हामीले काम गरेरै देखाइसकेका छौं ।
विशेषगरी सबै विद्यालयलाई पक्की भवन मात्र नबनाइ त्यहाँको गुणस्तर पनि सुधार गर्न शिक्षकहरुलाई तालिम दिने काम भएको छ । दरबन्दीका शिक्षक बढाउने, अतिरिक्त कक्षा पढाउने, आफ्नो पाठ्यक्रममार्फत निसीखोलालाई चिनाउने काम पनि भैरहेको छ ।
भौगोलिक रुपमा त सदरमुकामदेखि निसीखोला टाढा छ । तर मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तनलाई आत्मसाथ गरेर ग्रामीण बस्तीलाई सडकमा जोड्ने प्रयास भएको छ । सिमित श्रोत र साधनले कतिपय काम अलपत्र छन् । वडा र पालिकाको सिमित साधन र श्रोतबाट विकासका केही याजना वडाका बस्तीसम्म लैजाने प्रयास गरेका छौं । त्यो पर्याप्त भएको छैन । ठूलो भूगोल र अप्ठ्यारा सडकले बस्तीसम्म समस्या बुझ्न पुग्न सकिंदैन ।

पालिकाबाट गरिने काममा नीति, बजेट र कार्यक्रम राख्न, जोड्न र परिचालन गर्न हामीले नियमित पहल गरिरहेका छौं । पालिकाबाट नजिकै भएकोले पनि हामीलाई पहल गर्न सहज छ । त्यतिमात्र होइन, लोकमार्गको वैकल्पिक सडक पनि हाम्रो वडाबाटै बन्दै गरेकोले मुख्य बस्तीमा त छिट्टै सहज यातायात पुग्ने छ ।
अब सचेतनाका कार्यक्रम बढाएर दलीत सशक्तीकरण, नियमित खोप सेवा, सुरक्षित सुत्केरी सेवा र कृषि व्यवसायबाट आर्थिक सशक्तिकरणका कार्यक्रममा सबैलाई बुझाउने प्रयास गरिरहेका छौं । कतिपय योजना भने केन्द्रीय तहको पहुँचबाट मात्रै संभव छ । तर पनि हामीले सक्दो पहल गरेर कतिपय काममा बजेट र कार्यक्रम संचालन गर्न लगाएका छौं । अझै पनि कैयौं योजनामा बजेट सुनिश्चितता भएमा जनताको सहभागितामा पुरा गर्न सक्छौं । माथिल्लो क्षेत्रमा कृषि उत्पादन र पशुपालनतर्फ हामीले धेरै काम गर्न सक्छौं । आम नागरिकलाई ती पेशामा जोड्न बाँकी छ ।
अहिले पनि अर्नाकोटमा स्याउको सफल प्रयास भैरहेको छ भने तल्लो क्षेत्रमा ताजा तरकारीका लागि किसानलाई आर्कषित गरिएको छ । किवी लगायतको फलफूल पनि गर्न सकिन्छ । किसानले उत्पादन बढाएर राजमार्गमा लगेर बेच्न सक्छन् । कतिपय उत्पादनको बजार पालिकामार्फत पनि खोज्न सकिन्छ । पहिला जिल्लामा गएर खोज्नुपर्ने कृषि क्षेत्रका प्राविधिक पालिकामै छन् । उनीहरुको हामीले उपयोग गर्न सक्नुपर्छ ।




