शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अब्बल पूर्वाधार, शिक्षा र स्वास्थ्यमा गुणस्तर

अब्बल पूर्वाधार, शिक्षा र स्वास्थ्यमा गुणस्तर

अस्पताल निर्माणमा लाग्ने ठूलो लगानीले भन्दा महिला स्वास्थ्य स्वयंसेविकाहरुको दक्षताले नागरिकको जीवन बचाउने रहेछ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८३, शुक्रबार

बागलुङ/निसीखोला जिल्लाको भौगोलिक दूरीले सबैभन्दा टाढाको पालिका हो । यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि स्थानीय तहले धेरै नै लगानी गर्नुपर्ने छ । तर वडा नं. ४ यस्तो स्थानमा छ, जसले शिक्षा र स्वास्थ्यको ज्योति अहिले पनि छरिरहेको छ । निसीखोलाको शैक्षिक हबको रुपमा यहाँको प्रभा माध्यमिक विद्यालय छ भने स्वास्थ्य हबको रुपमा बोहोरागाउँ स्वास्थ्य चौकी स्थापित छ ।

गाउँपालिकाले शिक्षाको विकासमा धेरै लगानी बढाइरहेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती बताउँछन् । तर, लगानीबाट तत्काल फाइदा देखिने अवस्था आइसकेको छैन । वडा नं. ३ को बोहोरागाउँस्थित प्रभा माध्यमिक विद्यालय भने धेरै पहिला देखिनै शिक्षामा अब्बल क्षेत्र हो । यहाँका उत्पादन अहिले पनि उच्च तहमा पुगिसकेका छन् । तुलतात्मक रुपमा वडा नं. ३ शिक्षामा अग्रणी रहेको देखिन्छ ।

त्यसो त, यहाँ पालिकाको आफ्नै अस्पताल बन्नुपर्ने हो, बनिसकेको छैन । तर सामान्य स्वास्थ्य चौकीले निसीखोलाको इज्जत जोगाइदिएको छ । बोहोरागाउँ स्वास्थ्य चौकी सुरक्षित सुत्केरी सेवादेखि प्रसूती पूर्व र पछिसम्म पनि बसेर सेवा लिन सकिने, स्वास्थ्य परीक्षणलाई नियमित बनाउन सकिने गरी प्रसुती प्रतिक्षा घर बनेकोले त्यसबाट वर्षमा १ सयदेखि १ सय २० जनासम्मले सेवा लिने गरेका छन् । नियमित उपचार सेवामा त वर्षभर हजारौंको संख्यामा आउने गर्छन् ।

बोहोरागाउँ स्वास्थ्य चौकीकी अनमी ताराकुमारी चन्दका अनुसार, अस्पताल जानेले भन्दा स्वास्थ्य चौकी आउनेले विश्वास गरेका छन् । ‘हामीले भएको श्रोत साधनलाई अधिकतम उपयोग गरेर स्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउन प्रयास गरेका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म हामी सबैले गरेको कामबाट निराश बन्नुपरेको छैन ।’ स्वास्थ्य क्षेत्रमा लगानी कम छ तर भएको लगानीलाई सदुपयोग गरेर सेवा दिन सकेमा हरेक स्वास्थ्य चौकीमा बोहोरागाउँ जत्तिकै सेवा प्रवाह गर्न सकिने पनि उनको भनाइ छ ।

निसीखोला गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेपछि फेयरमेड फाउण्डेसनले केही वर्षअघि २ लाख ५० हजार रुपैयाँ लगानी गरी ५ लाख ५० हजार रुपैयाँमा यहाँ प्रसूती प्रतीक्षाघर बनेको थियो । त्यो घर अहिले पनि सामान्य जस्तो देखिन्छ । तर, सयौं महिलाको ज्यान बचाउने गरी यो घरको परिचय बनेको छ । मातृशिशु स्वास्थ्यका लागि त बोहोरागाउँ स्वास्थ्य चौकीलाई धेरैले सम्मान गर्छन् । सम्मान मात्र होइन, गण्डकी प्रदेशसम्मका धेरै उच्च कर्मचारी र जनप्रतिनिधिसमेतले बोहोरागाउँको उदाहरण पनि दिने गरेका छन् ।

वडाले पनि वर्षेनी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रयास गरेको छ । भएको श्रोतलाई शिक्षातर्फ प्रभा माविको स्तरोन्नती, भौतिक पुर्वाधार, गुणस्तरीय शिक्षामा लगानी गरिएको वडा अध्यक्ष रमेशविक्रम शाहीले बताए । त्यस बाहेक अन्य प्राथमिक विद्यालयहरुमा पनि कम्प्युटर सेवासहित दरबन्दीका शिक्षक राख्ने, गुणस्तरीय शिक्षामा ख्याल गर्ने काम भइरहेको उनले बताए ।

निसीखोलाका सात वटा वडामध्ये तत्कालिन बोहोरागाउँ गाविसका मानिस अहिले पनि राजनीति, शिक्षा, प्रशासन र सामाजिक क्षेत्रमा धेरै भेटिन्छन् । स्थानीय सरकारले पनि त्यो विषयलाई पहिचना गरेर अझै अब्बल बनाउन पहल गरेको छ । वडा अध्यक्ष शाही त यी दुई संरचना र संस्थाले निसीखोलाको शिक्षा र स्वास्थ्यको गरिमा उचो बनाएको बताउँछन् । भन्छन्, ‘बोहोरागाउँ स्वास्थ्य चौकी र प्रभा मावि यहाँका गौरव हुन् । भौतिक पुर्वाधारतर्फ बिस्तारै काम भैरहेको छ । तर, पहिलो प्राथमिकता नागरिकको शिक्षा र स्वास्थ्य नै हो ।’

विकट मानिने स्थानमा पनि शिक्षा र स्वास्थ्यलाई प्रभावकारी बनाउने वडाले ढाँडखर्कमा खोप क्लिनिक बनाएर सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रका महिलाले गर्भावस्थामा खोप लगाउन अप्ठ्यारो बाटो हिँड्न पर्दैन । बालबालिकाले खोप लगाउन पनि पालिका आइरहनु नपर्ने बनाइएको छ । टोलटोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर वडाले सूचना प्रवाहमा सहज बनाएको छ भने आवश्यक डाटा प्रवाह गर्न पनि सिकाइएको छ । ‘स्वास्थ्य सेवाको पहिलो स्थान महिला स्वास्थ्य स्वयंसेविकाहरु हुन्, उनीहरुले थाहा पाएको जानकारीपछि मात्र स्वास्थ्यकर्मीले बुझ्न पाउँछन्,’ शाहीले भने, ‘त्यसैले हामीले स्वयंसेविकालाई मोबाइलमा डाटा इन्ट्री गर्न पनि सिकाएका छौं । अस्पताल बनाउने ठूलो लगानीले भन्दा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सानो लगानी र दक्षताले नागरिकको जीवन बचाउने रहेछ ।’ गत वर्ष निसीखोला–३ ले दिएको मोबाइलले स्वयंसेविकाहरु घरघरमा पुगेर डाटा इन्ट्री गर्न सक्ने भएका छन् । कतिपयले फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझ्ने गर्छन् ।

चालु वर्ष झिँवाखोलादेखि बोहोरागाउँ छापखानी प्युठान जोड्ने सकडमा संघको ४० लाख, प्रदेश सरकारको बहुवर्षे योजनामा ५ करोडको ठेक्का लागेको छ । यो काम पूरा गर्दा ग्रामीण सडक स्तरीय बन्नेछन् । त्यसबाहेक संघीय खानेपानीबाट ३ करोडमा बोहोरागाउँ खानेपानी योजना सञ्चालनमा छ । यो योजनाले ३ सय ६० घरलाई लाभ दिन्छ । ‘एक घर ः एक धारा’ अभियानका लागि स्थानीयले पनि लगानी गर्दैछन् ।

वडा नं. ३ बजारदेखि अति ग्रामीण र अप्ठ्यारो क्षेत्रमा पनि पर्छ । प्युठान जिल्लासँग जोडिएकोले सिमानासम्म पुग्न धेरै कठिनाइ भोग्नुपर्छ । अत्यावश्यक काम बाहेक सबै ती क्षेत्रमा त पुग्दैनन् । तर सहज सडक बनाएको खण्डमा आवतजावत बढ्ने, सेवाप्रवाह प्रभावकारी हुने लक्ष्यले वडाले प्युठानसम्म जाने सडकको रेखांकन गरेको छ । त्योबाहेक धेरै जनसंख्या भएको झिँवाखोलादेखि बोहोरागाउँ हुँदै छापखानी जाने सडक स्तरीय बनाउने काम सुरु भएको छ । बोहोरागाउँसम्म त ढलान गरिसकिएको छ भने त्यसमाथिको सडक पनि स्तरीय बनाउने लक्ष्य छ ।

सडक अप्ठ्यारो भएकोले यात्रीले जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता थियो । अझ बिरामी ल्याउन कठिन भएपछि डोकोमा बोकेर पनि ल्याउनुपर्ने बाध्यता खेपेकोमा अहिले सहज बन्दै गएको स्थानीय बिना बिश्वकर्माले बताइन् । प्युठान जोड्ने गरी गण्डकी प्रदेश र पालिकाले सडकको गुरुयोजना बनाइसकेको छ । त्यो सडक पूरा भएमा पर्यटकीय विकास गर्न सकिने, प्युठान तर्फका नागरिकलाई मध्यपहाडी लोकमार्गमा जोड्न सकिने संभावना छ । बस्ती भएका सबै स्थानमा सडकसँगै पदमार्ग बनाउने अभियान पनि वडाले गरेको छ ।

ढाँडखर्क छापखानीतर्फ सिंढी मार्गले आर्कषण थपेको छ । झिँवाखोलादेखि बोहोरागाउँ जाने सडकमार्ग बाहेक पैदलै जाने गरी पदमार्ग पनि बनेकोले कतिपय आन्तरिक पर्यटक पनि पुग्ने गरेका छन् । सिंढीमार्गबाट जाँदा रमणीय दृश्यावलोकन गर्न पाउने आसले कतिपयले यहाँ यात्रा गर्न थालेका हुन् । सडक सहज बन्दा ग्रामीण क्षेत्रमा फलेका कृषि फसललाई बजारीकरण गर्न सहज भएको छ । मध्यपहाडी लोकमार्गले वडालाई सुगम समेत बनाएको छ । लोकमार्गसम्म आइपुग्न ती पदमार्ग र ग्रामीण सडकहरु सहयोगी बनेका छन् ।

विकासमा साझेदार संस्था पनि यहाँ आएका छन् । गोर्खा वेयरफेयरको सहयोगमा झिँवाखोलास्थित प्रभा माविमा झण्डै साँढे ३ करोड लागनी भएको छ । अघिल्लो वर्ष १३ कोठा र गतवर्ष ४ कोठा थप भएका छन् । गुणस्तरीय शिक्षा दिने अभियानसहित प्राविधिक धार र कम्प्युटर प्रविधिको शिक्षा दिने लक्ष्य छ । त्यसका लागि केन्द्रीय सरकारको अनुमति ल्याउन पहल भैरहेको छ । सबै विद्यालयमा कम्प्युटर शिक्षा दिन थालिएको छ । त्यसका लागि आवस्यक फर्निचर गत वर्षबाटै बनाउन थालिएको र केही चालु वर्ष पूरा हुनेछ ।

गाउँमा भर्ना नभएका धेरै बालबालिका भेटिने बोहोरागाउँ अहिले शतप्रतिशत भर्ना गर्ने वडामा विकास भएको छ । सहरी क्षेत्रमा झैं शतप्रतिशत भर्ना, पूर्ण खोप सुनिश्चत पालिका बनाउने अभियान नै चलेको छ । बालविवाह घट्दो छ । जानेबुझेकाबाटै केही बालविवाह भने भैरहेको देखिन्छ । तर जोखिम न्युनिकरण गर्ने अभियानसँगै बालविवाहले आइपर्ने जोखिमबारे गाउँपालिकाको स्वास्थ्य शाखा, न्यायिक समिति लगायतले सचेतना अभियान चलाएका छन् । ती गाउँमा प्रदेश जनस्वास्थ्य कार्यालयले पनि कार्यक्रम जोड्ने गरेको छ ।

ताजा तरकारी उत्पादनको संभावना यहाँ छ । पहिला बजार अभावमा काम नगरेका किसानले व्यवसायिक कृषि फसल उत्पादनमा चासो राख्न थालेका छन् । ताजा तरकारी तराइबाट ल्याउनुपर्ने भएपछि बजारीकरणसँगै खुलेका होटल तथा रेष्टुरेन्टले पनि स्थानीयलाई कृषि फसल उत्पादनमा पहल गर्न थालेका छन् । निसीखोलाको सिंचाइ पर्याप्त भएकोले तरकारी खेती गर्न यहाँ समस्या छैन । सुन्तला र कागतीसहित अमिलो जातका फलफूलको विकास गर्न पहल भएको छ । कतिपय किसानले बिरुवा रोपेका छन् भने कतिपयमा पुरानै बोटमा सुन्तला फलाएर आम्दानी समेत लिएका छन् । ओखर खेतीको पकेट बनाउने योजना वडाले राखेको छ । थापागाउँमा त किवी खेतीको पनि संभावना छ । किसानले किवी लगाएर पनि आय बढाइरहेका छन् । खेल क्षेत्रमा यो वडा अब्बल छ । आफ्ना युवालाई खेलमा आकर्षित गर्नेदेखि हरेक वर्ष भलिबल लगायतका प्रतियोगिता आयोजना गरिन्छ । जसले खेल क्षेत्रमा युवाको सहभागिता बढीरहेको छ ।

बजारीकरण र राजमार्ग बढेपछि शान्ति सुरक्षामा भने चुनौती थपिएको छ । यसअघिको सानो प्रहरी चौकीले अब नपुग्ने भएको छ । सडक छेवैमा बन्न थालेका घरले राजमार्ग साँघुरो बन्दैछ । त्यसका लागि जनप्रतिनिधि र स्थानीयले बेलैमा सोच्नुपर्ने बेला आएको जानकारहरु बताउँछन् । ‘राजमार्ग आइ नै सक्यो, अब घरटहरा निर्माण गर्दा सुरक्षित ढंगले बनाउनुपर्छ, संभावित दुर्घटनाबाट बच्नुपर्छ,’ गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘भवन निर्माण गर्दा वा व्यवसाय गर्दा यो सुरक्षालाई ध्यान दिन भनेका छौं ।’ बजार क्षेत्रमा नक्सापास गरेर मात्र घर बनाउन सुझाव दिएको उनको भनाइ छ ।

लोकमार्गको सुगमताका कारण स्थानीयले जुनसुकै उद्यम व्यवसाय गरेर पनि समृद्ध बन्न सक्ने अवस्था भएकोले त्यस्तो वातावरण बनाउने काममा पालिकाले योजना बनाउने प्रमुख प्रशासकीय अधिकृत जीवन पुन बताउँछन् । ‘जागरण र सचेतनाले पछि परेपनि पूर्वाधार र अवसरले पच्छ्याएको स्थान हो निसीखोला,’ पुनले भने, ‘व्यवस्थित विकासका योजना भने बनाएर जानुको विकल्प छैन ।’ काम गर्ने हो भने सकारात्मक परिवर्तन गर्न धेरै समय नलाग्ने उनले बताए । त्यसका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा समेत एक भएर जानुपर्ने उनले आवश्यकता औल्याए । निसीखोलाको समृद्धिका लागि सबैको साझा प्रयासमा हातेमालो गर्न उनले सबैलाई आग्रह पनि गरे ।

व्यवस्थित बजार हाम्रो चुनौती
रमेशविक्रम शाही
वडाध्यक्ष
निसीखोला गाउँपालिका वडा नं. ३

मध्यपहाडी लोकमार्गले निसीखोलामा पछिल्लो समय बजारीकरण बढीरहेको छ । वडा नं. ३ लाई पनि लोकमार्गले काटेर गएकोले विकासका संभावना खोज्न, कृषि उत्पादनको बजारीकरण गर्न सहज भैरहेको छ । तर, हामीले उत्पादनमा जोड दिने काम गर्नुपर्ने छ ।

भवनहरु निर्माण गर्दा हाम्रै दाजुभाइले सडक मापदण्ड नहेरी बनाएर जोखिम निम्तेको छ । भोलिका दिनमा यस्ता गल्ती नगरौं, जोखिमबाट बचौं र राजमार्गको अवसरबाट लाभ लिनुपर्छ भनेर हामीले सचेतना अभियान पनि चलाएका छौं । त्यसमा कतिपयले साथ दिनुभएको छ । मध्यपहाडीको नजिक भएकोले कृषि र पशुपालनको विकास गर्दा सहजै बजारीकरण गर्न सकिने अवस्था छ । त्यसमा लाग्न हामीले पहल गरिरहेका छौं । कतिपय किसान उत्साही बन्दै हुनुहुन्छ । तर, केहीले गत वर्षका टनेल पनि फाल्नुभएको छ । अबका दिनमा यस्तो नगरी समृद्व वडा बनाउन आफैले केही न केही काम गर्नुपर्ने छ ।

हामीले शिक्षा र स्वास्थ्यमा भने गुणस्तरीय परिवर्तन गर्न सफल भैसकेका छौं । पार्टस् नेपालको सहयोगमा पशुपति आधारभूत विद्यालयमा चारकोठे पक्की भवन बन्दैछ । विद्यालयमा पुर्वाधार पर्याप्त पुगेको अवस्था छ । हामीले गुणस्तर विकासमा मात्रै ध्यान दिए पुग्छ । त्यसका लागि पनि विद्यालयमा चाहिने शैक्षिक सामाग्री पुगेको छ । कम्प्युटरहरु छन्, ती माध्यमबाट शिक्षकले पढाउन थाल्दा बालबालिकाले सोचेजस्तै शिक्षा पाउन सक्छन् । पर्यटन प्रवद्र्दन गर्न पदमार्ग निर्माण गरेका छौं । बोहोरागाउँका ग्रामीण बस्तीहरु आँफैमा आर्कषक छन् । त्यसैले सामान्य व्यवस्थापन गराउन सक्दा पर्यटक घुम्न आउने वातावरण बन्छ । सानो लगानीमा भएपनि वडा नं. ३ का सबै नागरिकले अनुभव पाउने गरी सडक सञ्जालको विकास भएको छ । डिपिआर अनुसारको प्युठान जोड्ने सडक स्तरीय बन्दैछ ।

राजमार्गबाट निकासी गर्न सकिने गरी ढुंगा उद्योग संचालन गर्न अध्ययन भएको छ । यहाँ पाइने ढुंगालाई दर्ता गरेर खानी वा उद्योग बनाउन सकेमा स्थानीयले रोजगार समेत पाउनेछन् । स्थानीय उत्पादन र उपभोगका लागि भने हाम्रो प्रयास सफल बनाउन प्रयासरत छौं । कृषिक्षेत्रमा विशेषगरी सुन्तला र कागतीको उत्पादन बढाउन सकेमा राजमार्गमै सहजै बिक्री हुन्छ । कृषि शाखासँग पनि यो विषयमा बढी चासोका साथ अध्ययन गर्न र किसानको आवश्यकता समेत बुझ्न लगाएका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->