पोखरा/आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डका लागि पर्यटनसम्बन्धी संघ–संस्थाहरुले सहयोग गर्ने भएका हुन् ।
सनिबार पर्यटन व्यवसायिहरु संगको छलफल पश्चात अवार्डलाई सम्पन्न गराउन सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । मञ्चले अवार्ड संगै स्पोर्टस् कनक्लेभ तथा विभिन्न ९ विद्यामा प्रदान गरिने अवार्डलाई प्रभावकारी बनाउन पर्यटन क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।
सो अवसरमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रदेशस्तरमै उत्कृष्ट कार्यक्रमका रूपमा स्थापित पोखरा स्पोर्टस् अवार्डले खेल क्षेत्र संगै पोखराको पर्यटनमा समेत ठूलो टेवा पुगेको बताए । पर्यटन परिषदले ‘टुगेदर फर टुरिजम’ भन्ने नारालाई सार्थक बनाउन पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले खेल पत्रकारहरुले राज्यले गर्नुपर्ने काम गरेको बताउदै अवार्ड प्रदेश स्तरमै उत्कृष्ट कार्य भएको सुनाए । पर्यटन परिषदका पूर्व अध्यक्ष टीकाराम सापकोटा ले यस्ता कार्यक्रमले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन भित्र्याउन सहयोग पुग्ने बताए ।
सबै संघ–संस्थाबीचको सहकार्यबाट मात्र कार्यक्रम सफल हुने बताउदै भट्टराईले पोखरामा रंगशालामा पूर्वाधार बने पनि कार्यक्रम सञ्चालन नहुँदा लगानी खेर जाने भएकाले राज्यलाई सचेत गराउने खालका गतिविधिमा समेत पत्रकारहरुले कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिए ।
नेपाल हवाइ खेलकुद संघ नाका पूर्व अध्यक्ष तथा पाटा नेपालका कार्यकारी सदस्य सुनिल भट्टराईले पोखरा स्पोर्टस अवार्डमा पर्यटन क्षेत्रलाई समेटेर लैजाने प्रयासप्रति आभार प्रकट ब्यक्त गर्दै सहकार्य गरेर अगाडी बढ्ने बताए ।
नाटाका प्रथम उपाध्यक्ष संगीता पौडेलले पर्यटन प्रवद्र्धनमा व्यवसायीलाई जोड्ने पहल सकारात्मक रहेको उल्लेख गर्दै आफ्नो संस्थाबाट पूर्ण साथ रहने बताए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष कृष्ण आचार्य ले साहसिक पर्यटन र खेलकुदलाई जोड्न सके कार्यक्रम अझ उत्कृष्ट बन्ने धारणा राख्दै आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी पोखरामा प्रदेश स्तरमा आयोजना हुने खेलकुदको कार्यक्रमले पोखरामा पर्यटन भित्रयाउन सहयोग पुग्ने बताउदै आफ्नो संस्थाको तर्फबाट साथ र सहयोग रहने बताए । पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेले खेल क्षेत्रमा कलम चलाउने पत्रकारहरुले खेलाडीहरुको सम्मानका लागि आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउदै आफ्नो संस्थाबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
महिला पर्यटन व्यवसायी मञ्च ओटेफका अध्यक्ष ममता न्यौपानेले गण्डकी प्रदेशका खेलाडीहरुको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिने कार्यक्रम आफैमा उत्कृष्ट कार्य भएकाले सहकार्य गर्न पाउदा हर्सित भएको बताइन ।
पत्रकारहरुको संस्थाले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको साथ र सहयोगले आफुहरुमा थप हौसला बढेको पोखरा स्पोर्टस अवार्ड कार्यक्रमका आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बताए ।
पोखरा स्पोर्टस् अवार्डलाई खेलकुद र पर्यटनको साझा प्लेटफर्मका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रमको तयारीलाई तीब्र पारिएको उनको भनाइ रहेको थियो ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । वर्ष उत्कृष्ट महिला÷ पुरुष खेलाडी, लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् ।





