पर्वत/विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू कतिपय ‘मर्ज’, कतिपयमा कक्षा घटुवा त कतिपय बन्द नै भइसकेका छन् । जन्मदर कम हुँदै जानु तथा अस्थायी र स्थायी बसाईसराईँका कारण सामुदायिक विद्यालय मात्रै होइन निजी विद्यालयमा समेत क्रमशः विद्यार्थीहरू घट्दै गइरहेको अवस्था छन् ।
ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा लाखौँ रकम खर्चिएर भौतिक संरचना तथा जनशक्ति व्यवस्थापन भइरहेको छ। हरेक नयाँ शैक्षिक सत्रमा अन्य विद्यालयबाट वा विद्यालय बाहिर समुदायमा रहेका बालबालिकाहरूलाई आफ्ना विद्यालयमा भर्ना गर्ने अभियान चल्छ । विद्यार्थी बटुल्नका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सदस्यहरू मिलेर हरेक घरमा पुगेर बालबालिकाहरूलाई आफूहरू कार्यरत रहेको विद्यालयमा ल्याउन अनुरोध गर्ने गरेका छन् । विद्यालयलाई ‘मर्ज’, ‘घटुवा’ वा ‘बन्द’ हुनबाट जोगाउनको लागि घरदैलो गर्नुपर्ने अवस्थामा समेत विद्यार्थी पाउन भने मुस्किल छ ।
यही परिवेशकाबीचमा पनि जिल्लाका केही सामुदायिक विद्यालयहरूमा भने नयाँ विद्यार्थी भर्नाको चापले भ्याई–नभ्याई छ । सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालय जिल्लामा नै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यालय हो । करिब १ हजार २ सय विद्यार्थीहरू अध्ययनरत उक्त विद्यालयमा हरेक दिन जसो भर्नाका लागि विद्यार्थीहरूको चाप बढिरहेको प्रधानाध्यापक प्रकाश रिजालले बताए । भर्ना अभियान सुरु भएको वैशाख १५ देखि १७ गतेसम्मको तीन दिनको अवधिमा करिब १ सय ५० जना विद्यार्थीले भर्नाका लागि आवेदन दिएको बताए । सुरुका ३ दिनमा नै उक्त सङ्ख्याका विद्यार्थी आउनुले अब नियमित कक्षा सञ्चालन हुने बेलामा झनै चाप बढ्ने रिजालको भनाइ छ ।

‘हामीकहाँ भर्ना अभियानको क्रममा जस्तै नियमित कक्षा सञ्चालनको अवधिमा पनि अन्य विद्यालय छाडेर आउने विद्यार्थीको लर्को हरेक वर्ष लाग्छ । शिक्षक विद्यार्थीको अनुपात हेर्दा अन्य विद्यालयको तुलनामा सङ्कटपूर्ण अवस्थामा चलेको भए पनि हामीलाई विश्वास गर्नुभएको छ’, उनले भने, ‘सामुदायिक विद्यालय भएकोले भर्ना लिँदैनौँ भन्न पनि मिलेको छैन, भर्ना गरौँ न कक्षा कोठा पुग्छ, न त शिक्षक नै । ८ देखि १० कक्षासम्म ३ ओटा सेक्सन छन्, एउटैमा ५० भन्दा बढी विद्यार्थी छन् ।’
कुश्मामै रहेको शिवालय माध्यमिक विद्यालयले पनि भर्ना अभियान अन्तर्गत पहिलो चरणको स्तर मापन परीक्षामा ५२ जना सहभागी भएका छन् । विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलका अनुसार भर्ना हुन खोज्ने विद्यार्थीहरूको चाप बढ्दै गएपछि स्तर मापन गरेर भर्ना लिनुपर्ने अवस्था आएको हो । दोस्रो चरणको परीक्षाको लागि पनि धेरै विद्यार्थीहरूले आवेदन दिएका भन्दै उनले शैक्षिक क्रियाकलापकै आधारमा विद्यार्थीको आकर्षण बढ्ने गरेको बताए ।
कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले कुश्मा नगरपालिकामा शैक्षिक सत्र २०८२ मा करिब १० हजार विद्यार्थी अध्ययनरत रहेको बताउँदै विशेष गरी सदरमुकाम कुश्माका विद्यालयहरूमा बढी चाप रहेको बताए । सामुदायिक विद्यालयअन्तर्गत नारायण मा.वि.ले सबैभन्दा बढी विद्यार्थी भर्ना गर्ने गरेको बताउँदै तिवारीले ग्रामीण क्षेत्रबाट गुणस्तरीय शिक्षाको खोजीमा आउनेहरूले सहजै सामुदायिक विद्यालयमा भर्ना हुन जानु सुखद पक्ष रहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइले जिल्लाका केही विद्यालयहरूमा मात्रै विद्यार्थीको सङ्ख्या राम्रो भएको भए पनि धेरै विद्यालयमा सङ्कटमा रहेको बताए । ग्रामीण क्षेत्रबाट बसाइ सरेर बाहिर जाने तथा विगतको तुलनामा बच्चा जन्माउने दर पनि कम हुँदै जाँदा विद्यालय सङ्कटमा परेका उनको भनाइ छ। तर गाउँमा जे जति विद्यार्थी र विद्यालय छन् त्यत्तिमै भए पनि गुणस्तरीय शिक्षा प्रदान हुन सकेमा मात्रै राम्रो शिक्षाको खोजीमा बाहिर जाने प्रचलनमा कमी आउने चपाइ बताउँछन् ।





