
बागलुङ/निसीखोलाको बाटो भएर मध्यपहाडी लोकमार्ग बनेपछि झट्ट हेर्दा सुगम क्षेत्रको रुपमा चिनिन्छ । तर, निसीखोलाको मुल सडकबाट दायाँबायाँका गाउँहरु धेरै
विकट छन् ।
गाउँपालिका र वडाहरुले ती विकट गाउँ जोड्ने सडक गुरुयोजना बनाएका छन् । तर, आर्थिक कारणले पूरा भएका छैनन् । शिक्षा, स्वास्थ्यमा पनि अब्बल सेवा दिने सडकहरु स्तरीय बनाएर नागरिकको मुहारमा खुसी ल्याउने लक्ष्य सानो बजेटका कारण पूरा भएको छैन । तर पनि स्थानीय तह, वडा समेतले भएको बजेटबाट सक्दो काम गरिरहेका छन् ।
वडा नं. ४ को झिम्पालाई केन्द्र बनाएर दायाँबायाँका बस्तीमा सडक सञ्जालले जोडेर सहजै आउने व्यवस्था मिलाउन निकै पहल भएको छ । वडाध्यक्ष टिकानिधि पौडेलले यो सपना साकार भएको दिन समृद्व निसीखोलाको लक्ष्य पनि पूरा हुने बताए । आफू त्यो दिनको प्रतीक्षामा बसेको पौडेल बताउँछन् ।
त्यसका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा कालाखेत माझगाउँ, याङयुङ प्युठान जोड्ने सडकलाई लिएको छ । बोहोरागाउँबाट एकातर्फ प्युठानको स्वर्गद्वारी छ भने अर्कोतर्फ ढोरपाटन छ । दुवैतर्फ सके स्तरीय सडकले जोड्ने, नसके केवलकारमार्फत् जाने व्यवस्थापन गर्ने हो भने पर्यटकीय दृष्टीले महत्वपूर्ण गन्तव्य बनाउन सकिन्छ । तर, पहिलो चरणमा भने गौरवको आयोजना पुरा गर्ने लक्ष्य अनुसार चालु वर्ष पनि प्युठान जोड्ने सडकमा ५० लाख लगानी गरिएको पौडेलले बताए । उनका अनुसार गत वर्ष पनि यहाँ ५० लाख लगानी भएको थियो । पालिका तहको बजेटले यो सडक अझै जोडिन सकेको छैन । तर जहाँसम्मको सडक खुलेको छ त्यहाँसम्म स्तरीय बनाउन पहल भैरहेको हो । केन्द्रीय योजनामा पार्न सकेमा प्युठान जोड्दा उताका मानिसले पनि मध्यपहाडी लोकमार्गमा सिधा पहुँच पाउँछन् । तसर्थ पहिलो चरणमा निसीखोलाले सडकको ट्रयाक जोड्ने र स्तरीय बनाउन दुवै जिल्लाको पहल गर्ने सपना पौडेलले सुनाए ।
लोकमार्गमा गाडी चढेर आएकाहरु छिट्टै गाउँ पुग्दा विकासको अनुभव गर्न पाउने बनाउन वडाको पहल भैरहेको हो । गाउँपालिकाले पनि ती स्थानमा लगानी गर्न खोजेको तर बजेट अभाव भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । उनले पर्यटकीय क्षेत्रमा सहजै पुग्ने सडक र पदमार्ग बनाउन सकेमा पर्यटक जाने, ती क्षेत्रमा अन्य पूर्वाधार बनाएर स्थानीयलाई पनि गाउँमा विकास आएको अनुभूति दिलाउने लक्ष्य राखेको बताए । पर्यटकीय रुपमा ढोरपाटन आकर्षक छ भने धार्मिक पर्यटकका लागि स्वर्गद्वारी महत्वको छ । ती दुई स्थान जोड्न सक्दा पर्यटक आउजाउ गर्ने सहज वातावरण बन्ने समेत घर्तीको भनाइ छ ।
स–साना बजेटबाट लोकमार्गदेखि सबै बस्तीमा रेलिङ सहितको पदमार्ग बनाउने काम भएका छन् । झिँवाखोला बजारदेखि रंगिन युवा क्लब पहिरो नियन्त्रण गर्न साढे १२ लाख रुपैयाँ लगानीमा काम भैरहेको छ । त्यस्तै कानाबगरदेखि रिप पहिरो नियन्त्रणका लागि पनि साँढे १२ लाख नै लगानी भएको छ । छापागाउँ खानेपानीका लागि २० लाख लगानी भएको छ । यो योजना पुरा भएमा स्थानीयले शुद्द खानेपानी पाउनेछन् । त्यस बाहेक रिप पहिरो नियन्त्रणका लािग चालु वर्ष नै २५ लाख बजेट छ । यो पनि काम भैरहेको पनि छ ।
पहिरो नियन्त्रण गर्दा बस्ती जोगिनेछ । त्यस बाहेक सबै बस्तीमा सडक नलैजाने, बरु पदमार्गबाट पहुँच बिस्तार गरेर पहिरो नियन्त्रणको काम पनि भैरहेको वडाध्यक्ष पौडेलले बताए । केही बस्तीमा बनेका पदमार्गले स्थानीयबासी लाभान्वित बनेका छन् । वडा नं. ४ को झिँवाखोला र झिप्पा त बजार बनिसकेको छ । यहाँ बजार बिस्तार हुने क्रममा छ । किसानले उत्पादन गरेर बजारमा बिक्री गरी कमाइ गर्न थालेका छन् । कारोबार बढेकै कारण बजार क्षेत्रमा सहकारी, बैंक लगायतका शाखा खुल्दा नागरिकलाई वित्तीय पहुँच बढेको छ ।
निसीखोला–४ का अधिकांश विद्यालयको पक्की भवन बनेको छ । अब विद्यालयमा गुणस्तर बढाउने काम मात्रैमा वडाको ध्यान छ । यद्यपि,अहिले पनि अधिकांस विद्यालयमा भएको जनशक्तीबाटै गुणस्तर कायम गर्न पहल भएको शिक्षा शाखाको भनाइ छ । जनजिवराज सुशिला माविको स्तरीयकरण र गुणस्तरले पनि वडालाई शिक्षित र साक्षर बनाएको छ । स्थानीयमा सभ्यताको विकास भएको, सामाजिक मान्यता र मूल्यको विकासमा योगदान पुगेको स्थानीयले समेत बताउने गरेका छन् । दशक अघिको यो क्षेत्रको शिक्षा र साक्षरता तथा सामाजिक मान्यताको अवस्थामा अहिले आकाश जमिन फरक भैसकेको छ ।
अहिले विद्यालय नजाने बालबालिका भेटिंदैन,स्वास्थ्य सेवाका लागि पनि स्थानीय जागरुक छन् । वडा कार्यालय पनि बनेकोले सेवा प्रवाह, सुशासनमा पनि ध्यान दिइएको छ । जसका कारण वडाबासीले पनि सेवा प्रवाहलाई राम्रो मान्न थालेका छन् । निसीखोलाको कारण खेतबारीमा सिंचाइ छ । सिंचाइकै कारण उत्पादन पनि राम्रो छ । पछिल्लो समय त ‘एक घरः एक धारा’ अभियान नै चलेकोले नागरिकहरु स्वास्थ्यप्रति पनि सचेत छन् । टोलटोलमा सरसफाइको अवस्थामा सुधार भएको छ ।
वडाले गर्ने र सक्ने धेरै काम भएका छन् । तर, पालिकाकै गौरव मानिएको नगर अस्पताल भने समयमा बन्न नसक्दा स्थानीयले समस्या भोगिरहेका छन् । पालिकाको संरचना बनेको दशक पुग्दा पनि अस्पताल भने बन्न नसकेको हो । ‘वडालाई समृद्द बनाउने सपना त धेरै छन् तर वडाको भन्दा पालिकाको सपना नै अधुरो बनेको छ,’ पौडेलले भने, ‘नगर अस्पताल बनाउन सकेमा हामीले पालिकाकै गौरवको योजना पूरा गर्न सकिन्थ्यो । आम नागरिक बिरामी पर्दा उपचार गर्ने अस्पताल नभएकोले बुर्तिवाङ पुग्नुपर्ने बाध्यता हटाउन धेरै पहल भएको छ । निर्माणाधिन नगर अस्पताल बजेट अभावमा अलपत्र परेको हो । संघिय र प्रदेशबाट आउने बजेट कटौतीले पनि गाउँपालिकाले काम भैसकेको खण्डको पनि भुक्तानी दिन नपाएको हो । अस्पताल बनाउन स्थानीयले जग्गा उपलब्ध गराएका थिए । १० करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवन गत वर्षको पौष मसान्तमा सकिनुपर्नेमा भुक्तानी नपाएपछि ठेकेदारले काम छाडेका हुन् । १० शैयाको यो नगर अस्पताल निर्माण सम्पन्न भएमा निसीखोलाका झण्डै २५ हजार जनसंख्याले सेवा पाउनेछन् । मध्यपहाडी लोकमार्गमा हुने अन्य दुर्घटनाका घाइतेको उपचारमा समेत सहज हुने अवस्था छ । झट्ट हेर्दा आकर्षक र ठूलो घर ठडिइसकेको छ । तर काम गरेकै भुक्तानी दिन नसक्दा ठेकेदारले काम छाडेका छन् । वडा नं. ४ को मात्र नभइ गाउँपालिकाकै गौरवको आयोजना अहिले अलपत्र भएको छ । पालिका अस्पताल नबन्दा आम नागरिकले स्वास्थ्य सेवाका लागि बुर्तिवाङ र पाल्पासम्म जान बाध्य भएका छन् । विशेषगरी संघिय सरकारले बजेट विनियोजन नगरेकै कारण अस्पताल अलपत्र परेको हो । हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले यो भवन बनाउने ठेक्का लिएको हो । पालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघीय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो ।
निसीखोलाका ७ वटा वडामध्ये ३ वटा मात्रै स्वास्थ्य चौकी छन् । अन्यत्र स्वास्थ्य सेवा नपुगेकोले नगर अस्पताल बनेपछि सबैलाई सहज हुने भएकोले अस्पताललाई गौरवको योजनाको रुपमा समेत लिएको अध्यक्ष पौडेल बताउँछन् । वडा नं. ४ को थापा गाउँमा मात्रै सामुदायिक स्वास्थ्य इकाई छ । तर कानाबगर, झिम्पा, ओख्रेनीलगायतका बस्तीका बासिन्दाले उपचार सेवा पाउन धेरै दुःख भोगिरहेका छन् । कम्तिमा एक विशेषज्ञ डाक्टरसहित आधारभूत उपचार र सुत्केरी सेवाको अपरेशन समेत गराउन सक्नेगरी अस्पताल सञ्चालनमा ल्याउने लक्ष राखेको छ ।
वडा नंं ४ को अधिकांस भूगोल उत्पादनमुलक छ । थापागाउँमा किवीखेती, मकै, कोदो राम्रो उत्पादन हुन्छ भने सिंचाइ भैदिए ओख्रेनी, बडाचौर, खाडीचौर जस्ता स्थानमा धेरै उत्पादन लिन सकिन्छ । सिंचाइका लागि पनि वडा र पालिकाले पहल गरेको छ । ‘वडाको सानो बजेटले पूर्वाधारको काम गर्न सकिंदैन, त्यसैले संघ र प्रदेशको बजेटको खोजीमा छाँै,’ पौडेल भन्छन्, ‘अघिल्लो वर्षदेखि प्रदेशबाट आएको २० लाखको दरले सिंचाइ कुलोको काम थालिएको छ ।’ प्रदेश सांसद द्रोण कुँवरमार्फत् आएको बजेटले केही पूर्वाधार बन्दै गरेपनि पर्याप्त नभएको उनले बताए ।
राहत शिक्षक कोटाको भरमा विद्यालय चल्नुपर्दा गुणस्तर विकासमा समस्या भएको उनले बताए । तरपनि गुणस्तरीय शिक्षा दिने,अनिवार्य शिक्षा र विद्यालय भर्नालाई प्रभावकारी बनाउने, विद्यालय छाड्ने दर शुन्य बनाउने जस्ता अभियानमा निरन्तर पहलकदमी भएको छ । दशक अघिको तुलनामा बोहोरागाउँ, झिँवाखोला, झिम्पा लगायतका स्थनमा आमुल परिवर्तन भएको छ । निजी विद्यालयले पनि यहाँबाट बसाइ सराइ रोक्न साथ दिएको देखिन्छ । पर्यटन प्रवद्र्धन गर्न सकिने अपार संभावना भएर पनि वडाले प्रगती गर्न सकेको छैन । लोकमार्ग कालोपत्र भैसकेकोले नजिकका स्थानमा पर्यटनका गतिविधि संचालन गर्न सकिन्छ । यहाँको बराह मन्दिरलाई व्यवस्थापन गर्नसके धार्मिक पर्यटक लैजान सकिन्छ ।
समृद्व बनाउने सपना छन्, बजेटले पुरा गर्न दिएको छैन
टीकानीधि पौडेल
वडाध्यक्ष
निसीखोला गाउँपालिका वडा नं. ४
वडा अध्यक्षमा निर्वाचित हुनुअघि नै मैले धेरै सपना देखेको थिएँ । अहिले पनि ती सपनाहरु जिवितै छन् । केही काम त भएकै छ, तर सबै सपना पुरा गर्ने अवस्था बजेटले रोकेको छ । वडामा धेरै बजेट पनि छैन । तर सपना आर्कषक देख्न सकेमा लगानी कतै न कतैबाट ल्याउन सकिएला भन्ने लागेको छ । पालिका र प्रदेश तहमा त धेरै पटक पहल गरेर केही न केही बजेट ल्याएका छौं । संघिय बजेटका लागि कतैबाट साथ मिलेन । जसले गर्दा गौरवका ठूला योजना पूरा गर्न कठिन भएको छ । हामीले सानो लगानी र बजेटबाट गुणस्तरीय शिक्षा, पर्यटन प्रवद्र्धन, सबै नागरिकर्ला शुद्द खानेपानी दिने, सिंचाइमार्फत् नियमित कृषि बाली र तरकारी खेती बिस्तार गर्ने योजनामा सक्रिय छौं ।

मध्यपहाडी लोकमार्गको लिंक सडक बनाएर आम नागरिकलाई मुलधारमा जोड्ने प्रयास भएको छ । ती सडक बनिसक्दा स्थानीयले कृषि उत्पादन बढाएर बजारीकरण गर्न पनि सक्नेछन् । विभिन्न दातामार्फत् शुद्धपानी उपलब्ध गराउने काममा लागेका छौं, तर सिंचाइका केही योजनामा संघिय सरकारको साथ चाहिन्छ । संघमा भने हाम्रो पहुँच पटक्कै पुगेको छैन । कैयौं योजनाहरु निर्माणाधीन भएर बजेट अभावमा अलपत्र छन् । ती विषयमा सम्बोधन हुन नसकेको प्रस्टै छ । हामीसँग योजना धेरै छन्, तर ती योजना कता लगेर सञ्चालन गर्न सकिन्छ भन्नेमा अन्यौल छौं ।
दैनिक कार्यप्रशासनले गर्दा वडा अध्यक्षको रुपमा ठूला काम गर्न सकिँदैन । माथिल्लो तहमा भने नियमित गएर दवाब दिनेको आवश्यकता पर्ने रहेछ । त्यस्तो गर्न नसक्दा हामी विकासमा पछि परेका छौं । खेलकुदको विकासका लागि क्लबलाई प्रोत्साहन गर्दै युवालाई सामाजिक सभ्यता सुधारमा पनि लगाएका छौं । त्यसले पनि समाजमा सकारात्मक सन्देश दिएको छ । अहिले यहाँ आएका पाहुनाले दशक अघिको जस्तो अनुभव गर्दैनन्, बरु फेरि पनि घुम्न आउनुपर्छ भन्ने सन्देश लिएर जान थालेकोमा हामी गर्व गर्न सक्ने भएका छौं ।




