शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृषि र पर्यटनबाट समृद्विको आधार खोज्दै काठेखोला

कृषि र पर्यटनबाट समृद्विको आधार खोज्दै काठेखोला

मध्यपहाडी लोकमार्गका यात्री लक्षित गरेर काठेखोला गाउँपालिका–५ को भ्यूटावरमा चिया बगानसहितको पार्क बनाएर ‘इलामको कन्याम’ जस्तै बनाउने पालिकाको सपना ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८३, शनिबार
oppo_0

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले घोडाबाँधे, बेलढुंगा, गाजाको धुरी, हलहले, साहुढुंगा, थाप्ले, तिनचुले, शिवधुरी, झुलेनी, कान्छो धौलागिरी, बसन्तापलगायतका स्थानलाई पर्यटकीय क्षेत्र बनाउने नीति अबलम्बन गरिएको बताएका थिए ।

त्यो नीतिलाई कार्यान्वयन गर्दे मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्री लक्षित गरेर काठेखोला गाउँपालिका वडा नं. ५ को भ्यूटावरमा पार्क बनाउने योजना अगाडि सारिएको छ । यहाँको सामुदायिक वन र सार्वजनिक जमिनमा चिया खेती शुरु भएको छ । अध्यक्ष थापाले यो क्षेत्रलाई इलामको कन्याम जस्तै बनाउने सपना बुनेको बताए । समृद्व काठेखोला निर्माणमा कृषिको विकाससँगै पर्यटन प्रवद्र्दन पनि एक सूचक भएको उनको ठहर छ । ‘हामीले मेहेनत गरियो भने भ्यूटावर पुग्नेले चिया बगानमा पनि रमाउन पाउनेछन्’ थापाले भने, ‘त्यहाँ पुग्ने पर्यटकले नजिकैको पसलमा चिया र कफी पिउनेछन्, स्थानीयको व्यवसाय पनि बढ्ने, पर्यटकले सुविधा पनि पाउने छन् ।’ त्यसका लागि पहिलो चरणको काम शुरु भैसकेको छ ।

स्थानीयले पनि आफ्नो सामुदायिक वन आयआर्जनको क्षेत्र बन्ने देखेपछि चासो बढाएका छन् । त्यसका लागि अघिल्लो आर्थिक वर्ष विनियोजन भएको ८ लाख र चालु वर्षको ४ लाख रुपैयाँको बजेटले प्रारम्भिक चरणका काम भैरहेका छन् । सानो बजेटले पनि प्रभावकारी काम गरेको देखिने खालको यो योजनालाई साकार बनाउने काममा पालिकाले पहल गरेको छ । त्यसो त पालिकाकै पहलमा वडा नं. ७ को रेशस्थित बौर, वडा नं. ३ को धम्जाको माझकटेरीमा पनि चिया बगान तयार भैसकेका छन् । बौरका किसानले त केही चिया बिक्री गर्न पनि थालिसकेका छन् ।

सबै पर्यटकीय क्षेत्रमा पुग्ने पदमार्ग बनेका छन् । रामकोट, शिवधुरी, बेलढुंगा लगायतका स्थानमा जाने आर्कषक पदमार्ग बनेका छन् । ती स्थानमा धेरै पर्यटक पुग्न थालेका छन् । पदमार्गमार्फत नै भ्यु टावरदेखि गाजाको धुरीसम्म जोड्ने लक्ष्य राखिएको छ । २ हजार मीटरको उचाइको यो क्षेत्रलाई पदमार्गले जोड्दा गलकोट, बागलुङदेखि विभिन्न हिमाली श्रृंखला हेर्दै यात्रा गर्न सकिने अवस्था बन्छ । यो पदयात्रा गर्ने पर्यटकका लागि आर्कषक गन्तव्य हुनेछ । त्यसका लागि हरेक वर्ष सामान्य भएपनि बजेट व्यवस्थापन गरिएको हो ।

काठेखोला गाउँपालिकाभित्र २२ किमी सडक मध्यपहाडी लोकमार्गमा सुचिकृत छ । यो खण्ड संघिय सडक र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमार्फत काम हुन्छ भने पालिकाभित्र झण्डै ३ सय ९८ किमी सडक बनिसकेको छ । ती सडकलाई क, ख र ग खण्डमा विभाजन गरेर सडकको स्तरीकरण गर्दै पुर्वाधारको काम पनि भैरहेको हो । पालिकादेखि वडा कार्यालय जोड्ने ‘क’ वर्गको सडकलाई सेट व्याकसहित १२ मीटर चौडाका बनाइएको छ भने वडादेखि मुख्यबस्ती जोड्ने ‘ख’ वर्गका सडक १० मीटर र ग्रामीण सडकहरु ६ मीटरका बनाउने गरी मापदण्ड समेत लागू भएको छ । सडक गुरुयोजना बनिसकेकोले काम पनि सोही मापदण्ड अनुसार भैरहेका छन् ।

काठेखोला गाउँपालिकाले सुक्ष्म ढंगले कृषि, पुर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा दर्जनौं काम गरेको छ । विशेषगरी हरेक नागरिकलाई आयआर्जनमा जोड्ने र सक्षम बनाउने पालिकाको लक्ष्य छ । त्यसका लागि पशुपालन पकेटक्षेत्र विकासमा विशेष चासो बढाएको छ । उत्पादनमा आधारिक अनुदान कार्यक्रमले किसान उत्साही छन् । बाख्रापालन गर्ने किसानले मासुमा प्रतिकेजी १० रुपैयाँ अनुदान पाउने गरेका छन् भने दूध उत्पादनमा प्रतिलिटर साँढे २ रुपैयाँ अनुदान पाउन थालेका छन् । यो अनुदानले किसान उत्पादनमा उत्साही छन् । अहिले बागलुङ बजारमा आउने अधिकांश दूध काठेखोला गाउँपालिकाकै हो । समृद्व काठेखोला बनाउने सूचक धेरै भएपनि अत्यावश्यक क्षेत्रमा भने पालिकाले नियमित लगानी गरिरहेको हो । ती लगानीले बिस्तारै मूर्तरुप पनि लिन थालिरहेका छन् ।

त्यसो त काठेखोलाका सबै वडामा सुन्तला प्रसस्त उत्पादन हुन्छ । किसानलाई सुन्तलामा पनि अनुदान बढाएको काठेखोलाले अब पालिकाभरलाई जोडेर सुन्तला जोन बनाउन पहल गर्दै छ । त्यसका लागि पालिकाले कृषि क्षेत्रका सबै निकायमा पहल अगाडि बढाएको छ । जोन बनाएसँगै काठेखोलामा सुन्तलाको स्टोरको आवस्यकता छ । गाउँपालिकाले लगानी गरेर अक्षेतेमा कृषि उपज संकलन केन्द्र बनाएको छ । गण्डकी प्रदेश सरकारको ७० लाख र गाउँपालिकाको ३० लाख रुपैयाँ गरी १ करोडको लागतमा यो केन्द्र बनाइएको हो । यो केन्द्र ताजा तरकारीसँगै फलफूलका लागि पनि उपयोगी छ । त्यस बाहेक कोल्ड स्टोर बनाएर पालिकाको सुन्तलालाई जम्मा गरी गर्मी मौषममा सुन्तला बिक्री गर्दा किसानलाई मनग्ये फाइदा पुग्ने कामको पहल भएको थापाको भनाइ छ । काठेखोला गाउँपालिका वडा नं. ५ र ६ का किसानले त सिधै व्यवसायीसँग सम्पर्क गरेर पनि राम्रो मूल्यसहित सुन्तला बेच्दै आएका छन् सुन्तलाबाटै आर्थिक अवस्थामा महत्वपुर्ण सुधार गरेकाहरु धेरै छन् ।

प्रारम्भिक तथ्यांक अनुसार काठेखोला गाउँपालिकाभित्र ४० हजार बिरुवाले फल दिइरहेको छ भने ८५ हजार बिरुवा फल दिने तरखरमा छन् । स्थानीयले हरेक वर्ष सुन्तला रोप्ने काम गरिरहेका छन् । जसले गर्दा अबको दिनमा यो क्षेत्र सुन्तलाको जंगल बन्दैछ । सुन्तला बढाइएकै कारण अन्य झाडी फाँडेर सफाइ पनि गरिएको छ ।

पालिकाबासीलाई सहज यात्राको सुविधा दिन हरेक वडामा गौरवका आयोजना सञ्चालनमा छन् । पालिका मुकामदेखि वडा कार्यालय जोड्नका लागि ५० लाख रुपैयाँ लगानी गरेर स्तरीय सडक बनाइएको छ । पहिलो चरणका सबै वडामा यो लगानी गरिसकिएको उपाध्यक्ष तेजबहादुर थापाले जानकारी दिए । त्यसबाहेक काठेखोला गाउँपालिका वडा नं. ७ मा संघीय बजेट अभावले लामो समय अलपत्र परेको सडकमा पालिकाले ३ करोड लगानी गरेर अहिले स्तरीय बनाइसकेको छ । यो सडक कालोपत्रेसमेत भएको छ ।

काठेखोलाले पालिका भित्रका विद्यार्थीलाई मुस्ताङस्थित धौलागिरि प्राविधिक शिक्षालयमा सम्झौता गरेर प्राविधिक शिक्षा पढाएको छ । भेटेनरी, होटल म्यानेजमेन्ट, कृषिलगायतको विषयमा पालिकाले पूर्ण छात्रवृत्ति दिएर पढाई गराएको हो । यो पढाइबाट अहिलेसम्म ३४ जना विद्यार्थीले प्राविधिक शिक्षा पाइसकेका छन् । त्यसबाहेक पालिकाभित्रकै भीमसेन माविमा गरिब र विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाइएको छ । यो पढाइले पालिकाभित्रै दक्ष प्राविधिक उत्पादन भइ स्वरोजगार बन्न सक्ने वातावरण तयार भएको छ ।

हरेक वडामा न्यूनतम एकएक वटा पोखरी संरक्षण गर्ने, खानेपानीको मुहान संरक्षण गर्दै पानीका मुहानमा कोलीफर्म परीक्षण गरिएको छ । ३० वटा मुहानमा कोलीफर्म भेटिएकोले मर्मत गरेर कोलीफर्म हटाउने काम भएको छ । नागरिकको स्वास्थ्यका लागि यो महत्वपुर्ण काम भएको पालिकाको दाबी समेत छ । आयआर्जनमा जोड्न ‘ग’ र ‘घ’ वर्गका अपांगलाई बाख्रापालन तालिम दिएर व्याउने बाख्रा वितरण गरी आत्मनिर्भर बनाउन पहल भएको छ । त्यस्तै मौरीपालन तालिम पाएकाहरुलाई मौरीसहितको घार दिइएको छ ।

अन्य पालिकाको तुलनामा काठेखोलाले विकास बजेट वितरणमा फरक खालको परम्परा र अभ्यास शुरु गरेको छ । हरेक पालिकाले संकलन गर्ने राजश्वको अंकको आधारमा त्यति नै अनुदान दिएर ‘वडा समपूरक योजना’ सञ्चालन गर्दै आएको छ । यो अभियानले वडाको विकाशमा उपभोक्तामा उत्साह थपिएको छ । राजश्व क्षमताको आधारमा गाउँपालिका र वडाको साझेदारी योजना सञ्चालन गर्दा वडालाई पनि करका दायरा बढाएर आफ्नो विकास क्षमतासमेत बढाउने प्रेरणा मिलेको छ ।

भरपर्दो सेवाका लागि डिजिटल विधि
राजु थापा
अध्यक्ष
काठेखोला गाउँपालिका, बागलुङ

ग्रामीण क्षेत्रका तत्कालिन गाविसहरु मिलाएर काठेखोला गाउँपालिका बनेको हो । यो पालिकामा विकास गर्न धेरै समस्या छ । सानो बजेटमा आम नागरिकका धेरै आकांक्षा पुरा गर्न कठिन छ । त्यसैले जे–जस्ता योजना र कार्यक्रम सञ्चालन गरिन्छ त्यसबाट अधिकतम नागरिकले सेवा पाउनुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । सोही अनुसार हामीले पूर्वाधार निर्माणसँगै कृषि र पर्यटनलाई बढी महत्व दिएका छौं । जसले आम नागरिकलाई आय आर्जनमा जोड्न सकोस् । कृषि उत्पादनका कारण युवाहरु स्वरोजगार बन्न सकून् ।

सीपमुलक तालिमले गाउँघरमै बसेर पनि केही गर्न सकिन्छ भन्ने भावना विकास होस् भन्ने हाम्रो चाहना छ । अपांगता भएको नागरिकदेखि जेष्ठ नागरिक, महिला, र युवाहरुले पनि उद्यमी बन्न सक्ने खालका सीप दिने, काम गर्न खोज्नेलाई बीउपुँजि स्वरुप बाख्रा, मौरी वा फलफूलका बिरुवा लगायतको वस्तु नै दिएर सहयोग गर्ने गरिएको छ । त्यसले काम गर्नेलाई जाँगर उत्पन्न बनोस् भन्ने हामी चाहन्छौं । त्यतिमात्र होइन, उत्पादन गरेका किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारिक अनुदानको व्यवस्थापन गरिएको छ । दूध, मासु, फलफूल जस्ता उत्पादन गर्दा उनीहरुले प्रोत्साहन पाएका छन् । जसले गर्दा कामै नगरी अनुदान खाने प्रवृत्ति अन्त्य भएको छ ।

पालिका स्थापना भएको र स्थानीय सरकारको अनुभुति दिलाउन पूर्वाधारमा सक्दो लगानी गरेका छौं । सबै वडा कार्यालयहरु भवनको रुपमा मात्र नभइ डिजिटल बनेका छन् । जसका कारण स्थानीयले अनलाइनबाट सेवा पाउन थालेका छन् । त्यतिमात्र होइन,बिरामीको उपचार गरिसकेपछि त्यसको तथ्यांक पनि अनलाइनबाट केन्द्रमा पठाइन्छ । जसका कारण पालिकाले सबै तथ्यांक राख्न सक्छ ।

विकासका योजना भरपर्दो र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई अनुशिक्षण दिने,योजना सम्झौता गरेर फरफारकका लागि पटक पटक धाउने प्रवृत्ति अन्त्य गर्ने र स्टिमेट अनुसारका काम गर्न प्रोत्साहित गर्ने गरिएको छ । जसका कारण भुक्तानीमा उपभोक्तालाई असर नपरोस् भन्ने चाहना छ । पालिकाका बासिन्दालाई समृद्व बनाउन जनप्रतिनिधिले सपना देख्नैपर्छ । ती सपना पुरा गर्दा नागरिकको सपना पनि पूरा हुनेछन् भन्ने हामीले बुझेका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->