शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दशौं राष्ट्रिय खेलकुदको टुंगो छैन, गण्डकीमा धमाधम छनोट

दशौं राष्ट्रिय खेलकुदको टुंगो छैन, गण्डकीमा धमाधम छनोट

प्रशिक्षण सामाग्री माग्दा छैन बजेट, अनावश्यक प्रतियोगितालाई धमाधम


  • विजय नेपाली
  • बैशाख २७ २०८३, आइतबार

पोखरा/वि.सं. २०७९ कार्तिक ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरे । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा देउवाले तत्कालीन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई २०८१ सालमा प्रतियोगिता आयोजना हुने गरी झण्डा हस्तान्तरण गरेका थिए। दशौं राष्ट्रिय खेलकुद ०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद्को ११५ औं बोर्ड बैठकले निर्णय गरेको थियो। निर्धारित मितिमा प्रतियोगिता हुन सकेन, त्यसपछि मिति सरेको स¥यै छ ।

अहिले पनि प्रतियोगिताको निश्चित छैन। तर गण्डकी प्रदेशमा भने भलिबलको अहिले तेस्रो पटक छनोट खेल भइरहेको छ। ०८१ वैशाख १० देखि १२ गतेसम्म गोरखाको वारपाकमा दशौंको लागि भलिबलको छनोट खेल भयो ।

१०औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट छनोट भएका सुजन चोखाल अहिले जापानमा छन् । २०८१ को मंसिरमा हुने भनिएको १०औं खेलकुदका लागि गण्डकीले त्यसको ७ महिनाअघि बैशाखमा गोरखा बारपाकमा प्रतियोगिता गर्दै पुरुष भलिबल टोली छनोट गर्दा चोखाल महत्त्वपूर्ण सदस्य थिए ।

तोकिएको समयमा खेल नभएपछि चोखाल रोजगारीका लागि जापान पुगिसकेका छन् । चोखालसँगै छनोटमा परेका हरि पाण्डेले पनि एक वर्षअघि नै भलिबलबाट सन्यास लिइसकेका छन्। उनी टिम क्याप्टेनसमेत हुन् ।

शनिबारदेखि तनहुँमा तेस्रो पटक दशौं कै लागि भलिबलको छनोट खेल भएको छ । यसअघि गत चैतमा हक्कीको पनि छनोट भयो। दशौंको टुंगो नहुँदा नहुँदै गण्डकीले धमाधम दशौंका लागि छनोट गरिरहेको छ ।

प्रदेश खेलकुद परिषद्ले धमाधम छनोट गरेपछि यतिबेला खेलाडी र खेल पदाधिकारीहरू भने आश्चर्यमा छन् । पूर्व खेलाडी तथा भलिबल प्रशिक्षक राजन पौडेलले परिषद्ले बजेट सक्ने बाटो मात्रै गरेको बताउँछन् । उनले खेलाडीका लागि अहिले प्रतियोगिताभन्दा पनि खेल सामग्रीको आवश्यकता रहेको सुनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका पौडेलले खेलाडीमाथि अन्याय भइरहेको सुनाए । छनोट खेलको न त प्रभावकारिता छ न उद्देश्य नै ।

‘प्रतियोगिताको बजेट, प्रभावकारिता र उद्देश्य नै छैन । हामीले कुरा गर्दा बजेट फ्रिज हुन्छ भन्छन्। सामान किनिदेऊ भन्दा छैन । जिल्लाबाट पाउनुपर्ने सुविधा पाएको छैन । खेलाडी अन्यायमा परिरहेका छन्’ पौडेलले भने, ‘अहिले संघलाई एकमुस्ट रकम दिएका छन्। संघहरु त खुसी नै होलान्, बिल भरपाइ ग¥यो दियो तर, जिल्ला संघहरुले पनि लटरपटर गरेर खेल गरिरहेका छन्, यो औचित्यविहीन खेलले खेलाडीको विकास हुँदैन ।’

छनोटका लागि विनियोजित एक करोड ८० लाख रुपैयाँको खेल सामग्री खरिद गरेको भए खेलाडीले उचित प्रशिक्षण गर्न पाउने थिए । छनोट खेलका नाममा अहिले रकम पानी जसरी खन्याएको सुनाए ।

पञ्चायतकालदेखि नै जिल्ला स्तरीय प्रतियोगिता भइरहेको अवस्थामा अहिले अचानक प्रदेशस्तरीय छनोट गर्नु रकम सक्नु बाहेक अन्य काम नभएको बताए । यस्तै नाम नबताउने सर्तमा भलिबलकै दुई जना पदाधिकारीले आफुखुसी प्रतियोगिताको आयोजना गरेको सुनाए । उनीहरुले छनोटको नाममा रकम सक्ने काम मात्रै भएको प्रतिक्रिया दिए । अब बर्खा सुरु भएको र यो समयमा छनोट गर्नु नै आशंकाको विषय रहेको उनीहरु सुनाउँछन् ।

गोरखाको बारपाक र पर्वतमा दशौंका लागि छनोट भएको हो । त्यतिबेला नाम समेत परिषद्लाई बुझाएको थियो । यो ठीक होइन, पटक–पटक किन गराउने ? खेल हुने पनि निश्चित छैन तर, पटक–पटक किन गराउँछ ?’ एक पदाधिकारीले भने, ‘मलाई थाहा भएअनुसार प्रदेश भलिबल संघलाई त जानकारी पनि छैन । अब बर्खा लाग्न लाग्यो, कुनै खेल हुँदैन, यो त खाली बजेट खाने काम मात्रै भयो । भलिबलमा लगानी गरेको छु भन्ने तर, आफ्नै तरिकाले गर्ने यो उचित होइन ।’

उता गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष राजेन्द्र जिसीले प्रदेशस्तरीय छनोट खेलबारे आफूहरूलाई जानकारी नभएको सुनाए । अन्य विषयमा बोल्न नचाहेका उनले समन्वयको अभाव देखिएको बताए ।

उता खेलकर्मी र परिषद्को कुरा भने बाझिएको छ । दशौंकै लागि छनोट भएको प्रतियोगितालाई समेत परिषद्ले सोझै स्वीकार गरेको छैन । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता नगरेमा आफूहरूले छनोट खेल नै नगर्ने भन्ने कुरा नरहने बताए । उनले दशौं राष्ट्रिय खेलकुदसँगै विभिन्न प्रतियोगिताका लागि नै खेलाडी छनोट गरिएको सुनाए ।

‘गण्डकी प्रदेशको टिम पनि चाहियो प्रत्येक वर्ष । दशौं भयो भने त्यहाँ पनि जानुप¥यो । यही बीचमा भयो भने दशौंमा पनि यिनै जान्छन् । त्यो बाहेक अन्यमा समेत यिनैलाई सहभागिता गराउने हो’ सदस्य सचिवले भने, ‘गुनासो गर्नेहरूले गण्डकीमा खेल गतिविधि नगर भनेर हुन्छ र? हामीले त विभिन्न ठाउँमा गरिरहेका हुन्छौं । कसले के भन्यो मलाई थाहा भएन । तर, हामीले प्रत्येक वर्ष हाम्रो टिम अपडेट गर्नुपर्छ । साधनस्रोत छ भने हाम्रो टिम छनोट गर्नका लागि, खेलाडी छनोट गर्नका लागि जिल्ला–जिल्लामा मिलेर पालिका तहसम्म पनि जानुप¥यो । खेलाडीलाई केन्द्रले गरेन भने हामीले पनि नगर्ने त ?’

यस्तै प्रतियोगिताका लागि बजेट कति हो भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिएनन् । उनले खेलाडी आउने–जाने भाडा र बाटोको भत्ताको आधारमा खर्च हुने बताए । कुनै टिम जितेमा बढि बस्ने र हारेमा फर्कने अवस्था रहने हुँदा यति नै बजेट भनेर नहुने भन्दै सामान्यतया २४ र धेरै भए ३० लाख रुपैयाँसम्म खर्च हुने जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले दशौंका लागि छनोट नभएको बताए । उनले निश्चित प्रतियोगिताका लागि नभई गण्डकीको अन्य प्रतियोगिताका लागि समेत छनोट भएको बताए । उनको कुरा र अन्य व्यक्तिको कुरा भने फरक देखिएको छ ।

‘हामीलाई भलिबल दिनुप¥यो भनेपछि हामीलाई भलिबल दिएको हो । लामो समय भयो छनोट खेल हुन सकिरहेको थिएन । भोलि जुनसुकै प्रतियोगिता भए पनि खेलाडी भाग लिन पनि सक्ने र त्यसपछि तनहुँले पनि चाहाना धेरै राखेको भएर प्रतियोगिता आएको हो ।’ उनलाई बजेट कति हो भनेर प्रश्न गर्दा भन्न सकेनन् । ‘बजेट ठ्याक्कै यति उती भन्ने छैन । हामीले २५ लाख माथिको बजेट पेश गरेका छौं । तर, बजेट बढ्ला जस्तो छ । अन्य खर्च हाम्रो छैन । खेलाडी र अफिसियल खर्च बढि हो । अनि पोशाकमा होला ।’ हामीले सोचेको १० टिम मात्रै होला भनेको टिम बढ्यो । २ दिनको प्रतियोगिता रहेको उनले सुनाए । १० वटा टिममात्रै भनेर पठाए पनि अहिले टिम बढेको उनको भनाइ छ ।

गण्डकीमा ११ वटा जिल्ला भए पनि १० वटामात्रै आउँछ भनेरै बजेटका ताकेता गर्नु पनि गलत देखिएको छ भने वेमौसममा दुई दिनको छनोट खेल गर्नु न्यायोचित देखिएको छैन । प्रदेश खेलकुद परिषदले विभिन्न खेल संघलाई आवश्यक खेल सामग्री दिन छाडेर बजेट प्रतिफल नआउने गरी खर्च गरेको पाइन्छ । यो प्रतियोगितामा गलत भएको जिल्ला भलिबल संघ नवलपुरको पत्रले समेत देखाउछ । सदस्य सचिव शर्माकै जिल्ला नवलपुरले सुरुमा तनहुँमा जारी प्रतियोगितामा सहभागि पठाउँदा दशौंको छनोट भनेपनि पछि भने दशौं हटाएर अर्को पत्र सार्वजानिक गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->