
काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै साँझ सार्वजनिक गर्ने तयारी थालेको छ । बोर्डका अनुसार अहिले प्राविधिक काम भइरहेको छ भने ५ बजेपछि बोर्ड बैठक बस्ने भएको छ ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
त्रुटि भेटिएर सच्याउन समय लागे ढिलोमा मंगलबारसम्म नतिजा प्रकाशित गरिने बोर्ड स्रोतले जनाएको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनको तयारी बुझ्न बैठक बस्न लागेको र बोर्ड बैठकले नै नतिजा प्रकाशन कहिले गर्ने निर्णय लिने बताए । बैठकका लागि शिक्षा सचिव चुडामणि पौडेल बोर्डको कार्यालय सानोठिमी पुगिसकेका छन् ।





