बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गरिएको छ ।
ग्रामिण क्षेत्रका बालबालिकाहरुलाई फुटबल खेलको क्षेत्रमा अगाडि बढाउन प्रेरित गर्ने र खेल प्रतिभा प्रस्फुटनका लागि भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालनमा ल्याईएको हो ।
शहरी क्षेत्रमा फुटबल खेलप्रति आकर्षण बढ्दै गएको भएपनि ग्रामिण क्षेत्रमा चाहेर पनि खेल्न नपाउने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको ग्रासरुट फुटबल एकेडेमीले ग्रामिण क्षेत्रमा फुटबल खेलको विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
केहि वर्ष अगाडिदेखि सिभिल इन्जिनेरिङको अध्यापन गराउँदै आएको भीमसेन माध्यमिक विद्यालयले शिक्षक अभिनाष केसीको सक्रियतामा फुटबल एकेडेमी सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणदत्त कँडेलले जानकारी दिए ।
८ वर्ष उमेरदेखि १२ वर्षसम्म एक समुह र १३ वर्ष माथि उमेर समुहमा अर्को समुह बनाई फुटबल खेलसम्बन्धी तालिम शुरु गरिएको शिक्षक केसीले बताए । तालिममा ८ वर्षदेखि १२ वर्षसम्मको समुहलाई रोहित थापा र १३ वर्ष माथि उमेर समुहका लागि निरज गौचनले फुटबल प्रशिक्षण दिने केसीले जानकारी दिए ।
तालिमका लागि जिल्ला फुटबल संघ बागलुङले ६ वटा फुटबल समेत प्रदान गरेको छ । तालिममा झण्डै ५० बालबालिका सहभागि छन् । ‘‘पछिल्लो समय भलिबलसंगै गाउँगाउँमा फुटबलप्रति रुचि भएपनि प्रशिक्षक र पुर्वाधारको अभावमा हुन नसकेको तालिम र प्रशिक्षण एकेडेमीले गर्नेछ’’ जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले भने ।
पहाडी भूगोलमा रहेका साँघुरा खेलकुद मैदानलाई थोरै बजेट खर्चेर स्तरोन्नति गर्दा फुटबल प्रक्षिक्षण र खेलकुद गतिविधि सञ्चालन गर्न सकिने राजभण्डारीको भनाई छ । विद्यालय तहबाटै फुटबल प्रशिक्षण दिनसके गाउँबाट पनि प्रतिभावान खेलाडि उत्पादन गर्न सकिने राजभण्डारी संभावना देख्छन् । ‘‘भौतिक पूर्वाधार मात्रै केन्द्रमा राख्ने स्थानीय सरकारले खेलकुदप्रति चासो दिँदा प्रतिभा पलायनलाई रोक्न सकिन्छ’’ राजभण्डारीले भने ।
ग्रामिण क्षेत्रमा भौतिक संरचनाको अभावका कारण फुटबल खेल सञ्चालन हुन नसकेको अवस्थामा विद्यालयले शुरुवात गरेको काममा पालिकाले हातेमालो गर्ने काठेखोला गाउँपालिकाका प्रवक्ता तथा खेलकुद संयोजक टिका संगम विक बताउँछन् । फुटबल एकेडेमीलाई स्थायित्व दिन खेलकुद मैदान स्तरोन्नतिसंगै खेल सागम्री सहयोगमा पनि गाउँपालिकाले निरन्तर साथ दिने विकको भनाई थियो ।





