तस्बिरहरु : सुनिल जिए
बागलुङ/मध्यपहाडी लोकमार्गको रुकुम सिमाना रहेको पातीहाल्ने र यसको आसपासमा रहेका प्रसिद्द रिग ताल, तिलाचन लगायत यहाँका पर्यटकीय स्थलको प्रवद्र्दन गर्दा एकैपटक सयौं पर्यटक भित्राउन सकिने संभावना छ । रिग ताल संरक्षण गर्दा त पर्यटक जाने मात्र होइन यहाँका पानीको श्रोत पनि संरक्षित बन्छन् । यस्ता आकर्षित क्षेत्रमा धेरै पर्यटक लैजान सकिन्छ । झण्डै ३ हजार मीटर उचाइको यो ताल आर्कषक त छ नै, यहाँ पुग्न लोकमार्गले पनि साथ दिएको छ ।
लोकमार्ग नखुल्दा यो धेरै बिरानो थियो । पुग्ने संभावना कम थियो । तर लोकमार्गले नजिकै आइपुगेकोले निसीखोला गाउँपालिका र वडा नं. ६ ले रिग ताल संरक्षण गरी पर्यटक भित्राउने अभियान थालेको छ । यो पालिका स्तरकै गौरवको आयोजनाको रुपमा चिनिन सक्ने वडा अध्यक्ष हेमबहादुर बुढामगरले बताए । त्यसका लागि गाउँपालिकाले चालु वर्ष ५० लाख रुपैयाँ विनियोजन पनि गरेको छ । यो बजेटले पहिलो चरणमा पातीहाल्ने नजिकैदेखि पदमार्ग बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि उपभोक्ता समिति गठन गरी योजना सम्झौता पनि भैसकेको छ । यो काम गरिसक्दा आर्कषक पदमार्गमार्फत रिग ताल पुग्न सकिन्छ । गर्मीमा चिसोको आनन्द लिने, जाडो मौषममा पानी जमेको ताल हेर्न पाइने र हिउँ खेल्न पाइने भएपछि धेरै पर्यटक यहाँ पुग्छन् ।
सडक स्तरीय भएकोले धेरै मानिसको रोजाइमा यो स्थान परिसकेको छ । कतिपयले यो स्थानलाइ भिडियो बनाउने, टिकटक र संचारका माध्यममा राख्ने काम पनि गरेका छन् । वडा अध्यक्ष हेमबहादुर बुढामगरले रिगताल संरक्षणका लागि पर्यटन गुरुयोजना बनाउने लक्ष्य सुनाए । उनका अनुसार निसीखोला गाउँपालिका वडा नं. ६ लाई पर्यटन, कला र संस्कृतिमा अगाडि बढाएर समृद्विको बाटोमा हिंडाउन सकिन्छ ।
उनी भन्छन्, भलकोटमा रहेका तीन वटा प्रसिद्व संस्कृति र रिग ताल संरक्षण गर्दा पर्यटनबाटै समृद्वि ल्याउन सकिन्छ । त्यसका लागि केही चुनौती छन् । पहिलो त रिगताल संरक्षण अभियानमा सामुदायिक वनको क्षेत्रमा काम गर्न चुनौती छ । सिंगो पालिका र जिल्लाकै पर्यटकीय केन्द्र बनाउन खोजेपछि सामुदायिक वन, डिभिजन वन कार्यालय लगायतमा समन्वय अभाव भएको छ । बेलाबेला योजना सञ्चालनमा पनि अबरोध आइरहेको अवस्था छ । त्यसका लागि पालिका, जिल्ला र वडा स्तरका समन्वय छलफल आवस्यक छ । वडा अध्यक्षले सबै तहको साथ पाएमा वडा नं. ६ लाई पर्यटकीय केन्द्र बनाउन सकिने संभावना देख्छन् ।

त्यस बाहेक भलकोट क्षेत्रमा साउने सक्रान्तिमा भूमि पूजा गरिन्छ । यो ऐतिहासिक र धार्मिक महत्वको छ । यो बेला धेरै स्थानीयहरु बाहिरबाट गाउँ फर्कन्छन् । मगर संस्कृतिका धेरै क्रियाकलाप गरिने, विशेष पुजा हुने यो पर्वलाई पर्यटनको कार्यक्रममा जोड्न सकेमा पर्यटक भित्राउन सकिने उनले बताए । त्यस बाहेक माघे सक्रान्ति र फुल टिप्ने मेला समेत प्रसिद्व छन् । त्यो बेला स्थानीयले देखाउने नाँच, कला र संस्कृति हेर्न लायक छन् । मारुनी र पुतली नाच, मादल, पत्ता नाच, तरबार नाच तथा पपैया नाच संरक्षणमा वडाले पहल गरेको छ । वडाले युवापुस्ताले सिक्न चाहेमा तालिम सञ्चालन गर्ने र सामाग्री खरिद समेत गराइदिने गरेको छ । भूमीपुजा, झाँक्री बसाल्ने जस्ता अनौठो प्रकृतिका संस्कृति जोगाउन सक्दा पर्यटन प्रवद्र्धन बढाउन सकिने संभावना छ । कतिपय संस्कृतिलाई रुपैयाँमा परिणत गर्न सकिन्छ । झाँक्री नाँच त चर्चित छ । ती संस्कारहरु जोगाउन धेरै पहल भैरहेको छ ।
यस्ता विषय हामीले समयमा चिनाउन सकिएन भने युवा पुस्तामा हस्तान्तरण नभइ लोप हुने खतरा छ । वडाको सानो बजेटले सबै अभियान संरक्षण गर्न नसकिने भएकोले जिल्ला र प्रदेश स्तरका पर्यटन कार्यक्रमबाट यी अभियान संचालन गरिनुपर्ने उनको मत छ । त्यस बाहेक मगर खाम भाषाको संरक्षण अर्को चुनौती छ । त्यसका लागि कक्षा ३ सम्म भाषा पढाइको काम थालिएको छ । तर पाठ्यक्रम र जनशक्ती उत्पादन गर्न थप स्थानीय श्रोत चाहिन्छ । पहल र केही काम भएपनि पर्याप्त नभएको हो ।
युवा रोजगार बनाउन सकेमा वडालाई थप समृद्व बनाउन सकिन्छ । पलायन रोक्नका लागि मौलीक सीप सिकाउने, व्यवसायमा लगाउने र परम्परागत पेशामा पनि कमाइ गर्न सकिन्छ भन्ने बनाउनुपर्ने आवस्यकता छ । निसीको वडा नं. ६ मा विशेषगरी भेडापालन बढी छ । एकै व्यक्तिले दुइ सयदेखि तीन सयसम्म भेडा पालेका छन् । उनीहरुको पेशालाई आयआर्जनमा जोड्नुपर्ने छ । उनको कपडा बनाउने, भाँङग्रो लगायतका कोटहरु बुन्ने र त्यसलाई बजारमा बिक्री गराउन सकेमा युवाहरु अडिन्छन् । तर पछिल्लो समय मूल्य कम, मेहेनत धेरै पर्दा युवाहरुमा सिप सिक्ने अवस्था घटेको छ । त्यसैले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत कतिपय ग्रामीण सडक बनाउने काममा युवालाई जोडेको वडा अध्यक्ष बुढामगर बताउँछन् । किसानले बुन्ने बख्खु मानिसको साइज अनुसारको हुन्छ भने काम्लो डेढ मीटरदेखि ३ मीटर सम्मका हुन्छन् । बख्खु घरबाटै अर्डर भएर बिक्री हुन्छ भने काम्लोको व्यापार हुने मुख्य बजार रिडी हो । माघे सक्रान्ति सहितका मेला लाग्दा निसीका किसानले काम्लो बुनेर रिडीसम्म लैजान्छन् । ‘अर्डर गरेकाहरुले घरमै आएर सामान लैजान्छन्’ स्थानीय ज्ञानमाला घर्तीमगरले भनिन्, ‘घरमा थुप्रेका सामान मेलामा बेच्छौं ।’ काम्लोलाई नेपाली संस्कृति अनुसारका पूजापाठमा बिच्छ्याउँदा चोखो मान्ने चलन छ ।
लेकाली बस्ती धेरै भएकोले पशुचरन र आलुखेतीबाट स्थानीयले जीवन निर्वाह गरेका छन् । तर यो वर्ष आलु बिक्रीमा समस्या देखियो । वडाभित्र भण्डारन भैदिए किसानले मौका पर्दा वा मूल्य पाएको बेला आलु बिक्री गर्ने थिए । त्यो अभावले किसान मर्कामा परेका छन् । सस्तो मूल्यमा बेच्दा किसानलाई नोक्सानी परेको छ । त्यसो त पछिल्लो समय मध्यपहाडी लोकमार्गले रुकुम जोडेकोले मध्यभागमा भने यातायातको सहज पहुँच बढेको छ । तर ग्रामीण क्षेत्र भने भौगोलिक कठिनाइ उत्तिकै छ । निसीको कुरुङचुङ भन्ने स्थानमा वडा कार्यालयले लगानी गरिदिएपछि स्थानीयले सामुहिक आलुखेती गरेका छन् । यो उत्पादनलाई समूहमा राखिएको छ । तर कोल्डस्टोरको आवस्यकता टड्कारो देखिएको छ । यो नमूना मात्रै हो, स्थानीयले आलुको उत्पादन ठूलो बनाइरहेका छन् । वर्षेनी ३ लाखदेखि ५ लाखको आलु मात्रै बेच्ने किसान धेरै छन् । तर बजारमा जोडिने काममा पालिकाको साथ चाहिएको उनीहरु बताउँछन् ।
पशुपालन बढाउन सकेमा किसानको आयआर्जन बढ्छ । बेलाबेला लाग्ने रोगले पशु जोगाउन भने उनीहरुलाई सास्ती परेको छ । जिल्लाका कृषि तथा भेटेनरी अस्पतालले पशुको खोपमा साथ दिएको छ तर बजारीकरणमा केही कार्यक्रम चाहिएको किसान बताउँछन् । ग्रामीण बस्ती भएकोेले नागरिक स्वास्थ्य र शिक्षाप्रति सचेत छैनन् । त्यसैले हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने, शिक्षाको पहुँचमा ल्याउने जस्ता काममा स्थानीय तह गठन पछि मात्र अभियानहरु सञ्चालनमा आएका छन् । अहिले त आफ्नै सुविधा सम्पन्न स्वास्थ्य चौकी बनेको छ ।

?
भलकोट स्वास्थ्य चौकी पालिकाको दोश्रो बन्दै सेवा प्रवाह बढाएको छ । तरपनि स्वास्थ्यको पहुँचमा सबै नागरिक आउन सकेका छैनन् । अझैपनि गोठमै सुत्केरी बन्दा ज्यान जोखिममा परिरहेका छन् । त्यसका लागि सचेतनाका कार्यक्रम चाहिएको छ । विशेषगरी वडाका बस्ती बस्तीमा घुम्ती शिविर राख्दा खर्कहरुमा बस्ने महिला, बालबालिका र जेष्ठ नागरिकले सेवा पाउने भएकोले दक्ष चिकित्सक सहितका शिविरको खोजीमा वडाले पहल गरेको छ ।
कतिपयले भाँगो खेती गरेर जीवन धानेका छन् । आलुलाई बजारसँग जोड्ने काममा वडाले काम गरिरहेको छ । तर गण्डकी प्रदेश सरकारले ल्याउन लागेको गाँजाको कानून अलपत्र पर्दा किसानहरु निरास छन् । यहाँ भाँगोको उत्पादन गर्न सकिन्छ तर गैरकानूनी मानिंदा त्यो उत्पादनबाट नागरिकले आयआर्जन गर्न पाएका छैनन् । नीतिगत रुपमा समावेश गरियो भने निसीखोलाको समृद्वि भाँगोको उत्पादनबाट समेत संभावना थियो भन्छन् स्थानीय ।
वडाको अधिकांस भूगोल पर्यटकीय क्षेत्रले पनि समेटेको छ । पातीहाल्ने दुइ जिल्लाको सिमाना भएकोले धेरैको घुम्न जाने स्थान हो । यहाँ हाल केही होटल मात्रै छन् । आवस्यक पुर्वाधार बनेपछि मात्र यो क्षेत्र पर्यटकीय वन्नेछ । रिग ताल बाहेक तिलाचन, बुकी, गुमसेरा र ढोरपाटन तर्फको टिकाचुली पर्यटकीय क्षेत्र हुन् । ती क्षेत्रमा पर्यटन पुर्वाधारका योजनामा लगानी खोज्दै पालिकाले प्रदेश सरकारसम्म पुगेको छ । सामुदायिक वन, आरक्ष लगायतका क्षेत्रमा लगानी गर्दा संघ सरकारसम्मको सहमतिले काममा सोचेझैं प्रगती भने भएको छैन ।
यहाँ केही बस्तीमा होमस्टे संचालन गरेर पर्यटन बढाउने लक्ष्य पनि छ । वडाकै पहलमा गत वर्षदेखि होमस्टे बनाउन चाहने स्थानीयलाई तालिम र अन्य वातावरणमा साथ दिंदै आएको छ । पाहुनालाई स्वागत सत्कार गराउने तालिम दिने, विद्यालयमा गुणस्तरीय शिक्षाको पहल गर्ने, शिक्षक, जनप्रतिनिधि र अभिभावक मिलेर गुणस्तर मापन र अनुगमन गर्ने काम पनि भएको छ । विद्यालय तहदेखिनै पाहुनाको स्वागत सत्कारबारे सिकाउने र स्थानीय पाठ्यक्रम पढाउने काम शुरु भएको छ । आफ्नो कला र संस्कृतिबारे सानैदेखि जानकार बनुन् भनेर वडा नं. ५ र ६ मा कक्षा ३ सम्मका बालबालिकालाई खाम भाषा पढाउने गरिएको छ । स्थानीय पाठ्यक्रममा निसीकै क्रियाकलाप र भूगोल तथा कला र संस्कृति समावेश गरिएको छ ।
परम्परागत सीप र संस्कृति संरक्षणमा जोड दिंदैछौं
हेमबहादुर बुढामगर
वडा अध्यक्ष,
वडा नं. ६ निसीखोला गाउँपालिका, बागलुङ
निसीखोला बागलुङ जिल्लाको सदरमुकामदेखि भौगोलिक रुपमा टाढाको पालिका हो । यहाँ अझैपनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छैन । जसका कारण लघुउद्यम र व्यवसाय सञ्चालनमा कठिनाइ छ । हालको लघुविद्युत बिग्रेर बनाउन सकिएको छैन । बनाउन झण्डै ६० लाख चाहिन्छ, वडाको विकास बजेट ३० लाख पनि छैन । त्यसबाट हामीले सडक पुर्वाधारलगायतका धेरै काम गर्नुपर्छ । अहिले पनि बस्तीसम्म जोड्ने सडक बनेका छैनन् । एसईई शुन्य भएका यहाँका तिलाचन मावि र जनकल्याण माविलाई भौतिक र गुणस्तरमा सुधार गरिएको छ । अहिले त जनकल्याणमा ८४ प्रतिशत विद्यार्थी उत्तिर्ण भए । तिलाचनमा पनि राम्रो नतिजा आएको छ । सबै विद्यालयमा अंग्रेजी भाषाको पढाइ थालिएको छ ।

८ लाख रुपैयाँको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत निसेलढोर जाने ऐसेलुधाराको पदमार्ग बनेको छ । त्यस्तै अन्तरजिल्ला जोड्ने सडक निर्माणको काम पनि थालिएको छ । तर बजेट अभावले रोकिएको छ । रोल्पा तर्फको सडक जोड्न ३० करोड रुपैयाँ बढी खर्च चाहिन्छ । त्यो पालिका स्तरको बजेटले संभव नभएपछि रोकिएको हो ।
कृषितर्फ स्थानीयहरु बंगुर पालनमा आर्कर्षित छन् । सहजै बिक्री हुने भएकोले उनीहरुको चाहनालाई वडाले सम्बोधन गर्न केही अनुदान वा खोर निर्माण जस्ता काममा साथ दिएका छौं । अबको नीतिमा ती विषय जोड्नुपर्ने छ ।
स्वास्थ्य चौकीदेखि रोल्पा जोड्ने सडक बनाउने, लक्षित वर्गमा पुगेर शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणको काम गर्ने, राजमार्गको सुविधालाई कृषि उत्पादनको बजारीकरणमा जोड्ने तथा पर्यटकीय क्षेत्रको विकास गरी नेपालको पुर्वदेखि पश्चिम यात्रा गर्नेलाई जोड्ने काम गर्न सके निसीखोलाकै समृद्वि संभावना छ । त्यसका लागि प्रचार प्रसार उत्तिकै आवस्यक छ भने स्थानीयको सोच र व्यवहारमा सकारात्मक परिवर्तनको आवस्यकता छ ।
अहिले त परम्पराको नाउँमा हलो काट्ने सीप समेत हरायो । चित्रा र नाङग्लो बुन्ने सीपदेखि उनीका कपडा बनाउने सीप पनि हराएकोले तालिममार्फत युवा आर्कषण बनाउने र राजमार्गमार्फत बजारीकरण गर्ने काम महत्वपुर्ण छ । यो समेत पालिका र वडाको समृद्विको आधार हो ।




