बागलुङ/दुवै मृगौलाले काम गर्न छोडेपछि कयौं बिरामी बाँकी जीवनको आशा मार्छन् । मृगौलाको प्रत्यारोपण गरेकाहरु समेत सामान्य बेलाको जस्तो व्यवहार गर्न नसकेको समाजमा देख्न सकिन्छ ।
मृगौला पीडित बिरामीलाई समाजले गर्ने व्यवहार र उनीहरु स्वयम्को मानसिक अवस्थालाई समेत बदल्न यहाँका एक खेलाडीले निरन्तर प्रयास गरिरहेका छन् । जसको एउटा उदाहरण हो केही दिनअघि थाईल्याण्डमा सम्पन्न विश्व प्रसिद्ध खेल ।
मिर्गौला प्रत्यारोपण गराएका नेपाली खेलाडी हरिनारायण शर्माले थाइल्याण्डमा सम्पन्न प्रतिष्ठित खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट ऐतिहासिक सफलता हासिल गरेका छन् । थाइल्याण्डको बैंककमा आयोजना भएको ‘दोस्रो पेटाङ्क ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पियनसिप’मा शर्माले एक स्वर्ण र एक रजत पदक जित्न सफल भएका हुन् ।
फलामको बलहरू फ्याँकेर खेलिने पेटाङ्क खेलमा खेलाडीहरूले ‘ज्याक’ भनिने सानो प्लास्टिकको बलको सकेसम्म नजिक आफ्नो फलामको बललाई पु¥याउने प्रयास गर्छन् । यदि विपक्षी खेलाडीको बल ज्याकको नजिक भएमा, त्यसलाई आफ्नै बलले हिर्काएर उछिट्याउने र आफ्नो बललाई नजिक राख्ने रोचक र रणनीतिक प्रतिस्पर्धा यस खेलमा हुन्छ ।
यही चुनौतीपूर्ण खेलमा बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीसेरा निवासी शर्माले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै देशको शिर उच्च बनाएका हुन् । प्रतियोगितामा उनले पुरुष एकलमा स्वर्ण पदक र मिक्स डबल्समा रजत पदक प्राप्त गरे । जोडी विधा प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया, भुटान, चीन, हङकङ, हंगेरी, भारत, मलेसिया र थाइल्याण्ड जस्ता ९ देशका ६१ जना ट्रान्सप्लान्ट (अङ्ग प्रत्यारोपण गराएका) खेलाडीहरूले सहभागिता जनाएका थिए ।
तीव्र प्रतिस्पर्धाबीच शर्माले देशका लागि यो गौरवपूर्ण उपलब्धि दिलाएका हुन् । सामाजिक योगदान खेलकुद क्षेत्रमा हरिनारायण शर्माको यो पहिलो सफलता भने होइन । उनी लामो समयदेखि मिर्गौला स्वास्थ्य तथा अङ्गदान सचेतना अभियानमा सक्रिय रहँदै आएका छन् ।
सन् २०१७ मा उनले नेपालमा पहिलो पटक सम्पन्न ‘नेपाल ट्रान्सप्लान्ट गेम्स’ तथा ‘किड्नी वाक’ सुरु गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी नेपाल ट्रान्सप्लान्ट गेम्स अभियानका संस्थापक तथा संवाहकका रूपमा परिचित छन् । हाल उनी नेपाल प्रत्यारोपण खेलकुद संघका महासचिव र वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेशनमा नेपालको तर्फबाट देश संवाहकका रुपमा कार्यरत छन् ।
सन् २००७ मा प्रिमियर अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका शर्माको यो सफलताले अङ्ग प्रत्यारोपणपछि पनि मानिस सक्रिय, स्वस्थ र सफल जीवन बिताउन सक्छ भन्ने बलियो सन्देश दिएको छ । यो कार्यक्रम विभिन्न राष्ट्रका ट्रान्सप्लान्ट प्राप्तकर्ताहरूका बीच एकता, मित्रता र प्रेरणाको सुन्दर माध्यम बनेको छ ।
सफलतापछि आफ्नो खुसी व्यक्त गर्दै शर्माले थाइल्याण्डमा सम्पन्न दोस्रो पेटाङ्क ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पियनसिपमा नेपालका लागि प्राप्त गरेको स्वर्ण र रजत पदक नेपाल र विश्वभरिका ट्रान्सप्लान्ट समुदायका लागि गर्व र प्रेरणाको क्षण भएको बताए ।





