बागलुङ/गण्डकी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी जेठ १५ र १६ गते हुने राष्ट्रपति रनिङ शिल्डका लागि आवश्यक तयारी तीव्र पारिएको हो ।
प्रचार प्रसार, आवास व्यवस्थापनको लागि छलफल लगायतका तयारी अगाडि बढाइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला स्तरीय खेलका विजेता बनेका खेलाडिको सहभागिता रहने प्रतियोगितालाई सम्पन्न गर्नका लागि स्थानिय तह, उद्योग वाणिज्य संघ, पत्रकारसंग छलफलको कार्यक्रम राखिएको समितिका कार्यालय प्रमुख परशुराम बोहोराले जानकारी दिए ।
आर्थिक रुपमा प्रदेशले नै खर्च गर्ने भएपनि खेललाई सम्पन्न गर्नु जिल्लाबासीको दायित्व भएकाले तयारीमा जुटेको उनको भनाई थियो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य मुस्ताङ अनुपस्थित हुने देखिएको जानकारी दिंदै उनले प्रत्येक जिल्लाबाट १ सय ६ जना खेलाडि सहभागी हुने बताए ।
भलिबल, कब्ड्डी, एथ्लेटिक्स, मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते, उसु खेलमा १ हजार ६० सय जना खेलाडि सहभागी हुने छन् । विगतमा कास्कीमा मात्र हुँदै आएको प्रतियोगिता केही वर्षदेखि मोफसलका जिल्लामा गर्न लागिएको उनको भनाई थियो ।
कराँतेका खेल काठेखोला गाउँपालिकाले गर्ने भन्ने कुराकानी भएको र बाँकी सबै खेल सदरमुकाम बागलुङ बजारमा हुने समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिए । प्रदेशबाट छनौट भएका खेलाडिले जेठ २० देखि २२ गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने छन् ।





