शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

यसरी संभव भयो बडिगाडमा हाइड्रोजन ग्यासको उत्पादन

यसरी संभव भयो बडिगाडमा हाइड्रोजन ग्यासको उत्पादन

‘झण्डै १८ महिनाको अध्ययनबाट सुरक्षित रुपमा सिलिण्डरमा ग्यास भर्न सकियो,’ नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले भने, ‘एक केजी हाइड्रोजन ग्यासबाट सानो परिवारले एक सातासम्म खाना बनाउन सक्छन् ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८३, आइतबार

बागलुङ/कुनै पनि काम सम्पन्न भएपछि बाहिर धेरै विषय बन्छन् । तर ती काम बन्नु अघि भएका धेरै क्रियाकलापहरु ओझेलमा पर्छन् । बडिगाड गाउँपालिकाले अघिल्लो साता लघु जलविद्युत आयोजनाबाट हाइड्रोजन ग्यास उत्पादन गरेर देखायो । ग्यासबाट खाना पकाउने र पानी तताउने प्रयोग भयो । यो कसरी संभव भयो ? धेरैको चासो त्यसतर्फ छ ।

यो विधि र प्रविधि कताबाट बडिगाडमा आइपुग्यो ? त्यो रहस्यको कुरा हो । यसका लागि प्राविधिकले लामो समयको अध्ययन अनुसन्धान गरिरहेका थिए । प्रयोगका लागि बडिगाड स्थान मात्र भएको हो । डेढ दुई वर्षअघि देखिनै काठमाण्डौं विश्वविद्यालयका प्राविधिकका विद्यार्थीले यस्तो विधिको परीक्षण गर्न चाहेको, त्यस्तो स्थानको खोजी पनि भैरहेको अवस्थामा यहाँको गिरिङदी खोला लघु जलविद्युत आयोजना उपयोगी बनेको हो । राष्ट्रिय प्रशारण लाइनको विद्युतीकरणपछि बडिगामा यो आयोजनाको उत्पादन प्रयोगविहीन थियो ।

विश्वविद्यालयका प्राविधिकको साथमा नेपाल इनर्जी फाउण्डेसनले पनि यो विधिलाई प्रयोगमा ल्याउने उपाय खोज्दाखोज्दै यहाँ आइपुगेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वन बताउँछन् । यो विधि उपयोग गर्ने निधोमा पुगेपछि गाउँपालिकाले १५ लाख खर्चेर उक्त जलविद्युत आयोजना पुग्ने सडक र आयोजनाको भवन मर्मत गरायो ।

फाउण्डेसनले एक करोड लगानी गरेर उपकरण र केही सिलिण्डर प्रयोग गरी हाइड्रोजन उत्पादनको काम थाल्यो । दुई वर्षदेखि बडिगाडले धुँवारहित पालिका बनाउने लक्ष्य राखेको थियो । ग्रामीण क्षेत्र भएकोले दाउरा बालेर खाना पकाउने चलन अधिकांस घरमा छ । यो विधिबाट भने घरघरमा बाल्न पुग्ने बिजुलीबाटै ग्यास बाल्न सकिने अवस्था आएको हो ।

गाउँपालिकाको ‘स्वच्छ घर, सरसफाइयुक्त समाज निर्माण’ अभियान चलाइरहेका बेला काठमाडौं विश्वविद्यालयले नेपाल इनर्जी फाउण्डेसनसँग लघु जलविद्युतको उपयोगिताबारे अध्ययन गरिरहेको थियो । अध्ययन टोलीले यहाँ रहेका लघु जलविद्युत उपयोगितामा काम गर्न चाहेपछि गाउँपालिकाले एक वर्षअघि अनुमति दिएको उपाध्यक्ष वनले बताए ।

गाउँपालिकाको स्वच्छ घर, सरसफाइयुक्त समाज निर्माणको कार्यमा यो विधिले सहयोग पुग्ने पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । ग्यास उत्पादनका लागि आवश्यक सबै मेसिन, सिलिण्डरलगायतका सामग्री र उपकरण फाउण्डेसनले ल्याएको छ । अनुदानको रुपमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, फाउण्डेसनसमेतले लगानी गरेका छन् । यो अध्ययन र उत्पादनमा जर्मन र बेलायती प्राविधिकले पनि काम गरेका छन् ।

व्यवसायिक उत्पादन गर्न सक्नेगरी परियोजना उद्घाटन भएपनि तत्काल वितरणका लागि सिलिण्डरको आवस्यकता देखिएको छ । हाल एलपी ग्यास भर्ने सिलिण्डरभन्दा फरक प्रकृतिको आवस्यक पर्ने भएकोले प्रसस्त सिलिण्डर आएपछि व्यवसायिक उत्पादन गरेर बजार पठाउन सकिने नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले बताए ।

सिलिण्डरको पर्याप्त उत्पादन गर्ने, यसको उपयोगको क्षेत्र पहिचान गरी घरघरमा वितरण गर्न केही समय लाग्ने अध्यक्ष अधिकारीको भनाइ छ । केन्द्रीय सरकारले व्यवस्थापनमा साथ दिए उचित र सुरक्षित भण्डारण प्रक्रिया मिलाउन सकिने उनको भनाइ छ । व्यावसायिक उत्पादन गर्न सके पालिकाको राम्रो आयस्रोत समेत बन्ने उनले बताइन् ।

पहिलो चरणमा पालिकाको बाक्लो बस्तीमा पाइपलाइनमार्फत वितरण गरेर केही उपयोगको प्रक्रिया थाल्न पहल भएको छ । त्यसबाहेक सिलिण्डरको रुपमा वितरण गर्न उपभोग्य प्रकृतिको बनाउन पहल गरिने प्राविधिकहरुले बताएका छन् ।

नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले लामो अध्ययनबाट ग्यास उत्पादन गरिएको बताए । ‘झण्डै १८ महिनाको अध्ययनबाट सुरक्षित रुपमा सिलिण्डरमा ग्यास भर्न सकियो,’ घिमिरेले भने, ‘एक केजी हाइड्रोजन ग्यासबाट सानो परिवारले एक सातासम्म खाना बनाउन सक्छन् ।’ घिमिरेका अनुसार, अध्ययन बाहेक एक करोड लगानीमा ग्यास उत्पादन गर्न सकिएको बताए । घरघरमा पठाउनका लागि भने यो ग्यासका लागि छुट्टै सिलिण्डर आवस्यक पर्ने उनको भनाइ छ ।

आवश्यक विधि र प्रक्रियाका लागि पहल गर्ने फाउण्डेसनका अध्यक्ष मोहनहास मानन्धरले जानकारी दिए । यो विधिलाई अबका दिनमा सबैखाले लघु जलविद्युतबाट पनि उपयोग गर्न सकिने छ । अध्ययनले पत्ता लागेको विषयलाई आवश्यकता अनुसार उत्पादन गर्न सकिने उनको भनाइ छ । नेपालमा अब हाइड्रोजन ग्यासमार्फत इनर्जीको क्षेत्रमा काम गर्ने वातावरण बन्दा यस्ता विद्युतगृह सदुपयोग बन्ने घिमिरेले बताए ।

यो विधिले स्थानीयमा उत्साह थपेको छ । वडाध्यक्ष ढालेन्द्र छन्त्यालले यो विधिबाट स्थानीयमा उत्साह थपेको र व्यवस्थापनको काम भएमा स्थानीय रुपमा सुरक्षा र काम गर्ने वातावरण बनाउन पहल गर्ने बताए ।

यो उत्पादनको काम सफल बनाउन नेपाल इनर्जी फाउण्डेसन, उर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, बेलायतको एस एण्ड एओ कम्पनी, स्विजरल्याण्डको एचएसएलयु नामक संस्थाले बैकाल्पिक उर्जा प्रवद्र्दन केन्द्र, बडिगाड गाउँपालिका र गिरिङदी खोला लघु जलविद्युत आयोजनासँग साझेदारी गरेका थिए । यो आयोजनाबाट ७५ किलोवाट क्षमताको विद्युत उत्पादन भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->