स्याङ्जा/ हिंसामा परेका महिलालाई तत्काल संरक्षण र पुनःस्थापना गर्ने उद्देश्सहित सञ्चालित अल्पकालीन सेवा केन्द्र स्याङ्जामा प्रभावकारी बनेको छ । परिवार, समाज वा सडकमा असुरक्षित अवस्थामा पुगेका महिलाका लागि केन्द्र अहिले सुरक्षित आश्रय स्थलका रूपमा स्थापित भएको हो ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकासहित जिल्लाका ११ वटै स्थानीय तहसँग सहकार्य गरेर पुतलीबजार नगरपालिका –४ पुतलीखेतमा सेवा केन्द्र निर्माण गरिएको छ । केन्द्र २०७७ सालमा स्थापना भएको हो । केन्द्रमा लैङ्गिक हिंसा, पारिवारिक विवाद तथा बेवारिसे अवस्थामा भेटिएका महिलालाई उद्धार गरी सुरक्षित आश्रय दिने गरिएको छ ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले यहाँ गत आबमा २७ जनाले सेवा लिएकोमा यो बर्षमा हाल सम्म २२ जनाले केन्द्रबाट सेवा लिएको बताए । केन्द्रमा अधिकतम ४५ दिनसम्म सेवा लिन पाउने बताउँदै पौडेलले दीर्घकालीन सेवा केन्द्र पोखरा पढाउने गरेको र दुई बर्षमा एक जनालाई पोखरा पढाएको जनाए । सेवा लिनेहरु अधिकांश बलात्कार तथा जबरजस्ती करणी जस्ता गम्भीर हिंसामा परेका महिला रहेका पौडेलले बताए ।
सेवा केन्द्रमा बस्ने महिलालाई निःशुल्क खाना, बसोबास, स्वास्थ्य उपचार, कानुनी सहायता र मनोसामाजिक परामर्श दिइन्छ । प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार सङ्कट व्यवस्थापन प्रणाली मार्फत उपचार तथा अन्य आवश्यक सेवा पनि समन्वय गरिएको पौडेलले बताए ।
हिंसामा परेका महिलाको आत्मविश्वास कमजोर हुने भएकाले तत्काल सुरक्षित वातावरण आवश्यक रहने र यस कार्यालय पुरा गरेको पुतलीबजार नगरपालिकाकी उपप्रमुख तथा केन्द्रकी संयोजक देवी अर्यालले बताइन् । केन्द्रले पीडितलाई केही समय आश्रय दिएर मनोपरामर्श गर्ने, परिवारसँग पुनर्मिलन गराउने र आवश्यक परे न्यायिक प्रक्रियासम्म सहजीकरण गर्ने काम गरिरहेको छ । सेवा केन्द्र प्रभावकारी बन्दै गए पनि अझै धेरै महिला सम्म यसको जानकारी पुग्न सकेको छैन् भने स्थानीय तह र सरोकारवाला निकायले सचेतनामूलक अभियान चलाउन सकेका छैनन् ।





