स्याङ्जा/ लोपोन्मुख जातिमा पर्ने राउटे समुदायका मानिसहरू नेपालको पश्चिमी भेगका विभिन्न जिल्लाहरूमा छरिएर बसोबास गर्दै आएका छन् । राष्ट्रिय जनगणना र तथ्याङ्क अनुसार यो समुदायमा साक्षरता दर निकै न्यून छ भने उच्च शिक्षामा त नगन्य उपस्थिति छ ।
स्याङ्जाको चापाकोटमा सञ्चालित किसान बहुप्राविधिक शिक्षालयमा भने डडेल्धुराको पर्सुराम नगरपालिका –१२ का १८ बर्षीय लक्ष्मण सिङ राउटेले सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकालेर यहाँ सिभील इन्जिनियर डिप्लोमा अध्ययन गरिरहेका छन् । हाल दोस्रो सेमेस्टरमा अध्ययनरत राउटे बाबा दानसिङ राउटे र आमा दिपा देबी राउटेको पहिलो सन्तान हुन् ।
पर्सुराम नगरपालिका –१ बाट माध्यमिक शिक्षा उत्तीर्ण गरेका उनले काठमाडौ पढ्ने इच्छा भए पनि आर्थिक अभावलगायत कारणले चापाकोट आएको बताए । बाबा, दुई आमा, एक भाई तथा तीन बहिनी घरमा रहेको बताउदै राउटे बाबाले ब्याचलर आमाले आठ कक्षा पढेको र आफ्नो जातमा परिवार शिक्षीत हुदाँ आफुले पढ्न पाएको बताए ।
बाबाले आफ्नो साथीबाट निशुल्क पढ्न पाउने थाहा पाएर यो ठाउँमा पढ्न् आएको बताउदै राउटेले आर्थिक अवस्थाले काठमाडौ पढ्ने रहर पुरा नभएपनि प्राविधिक पढ्ने रहर भने पुरा भएको उल्लेख गरे । लक्ष्मणले आफु गाउँको डिप्लोमा सिभील इन्जिनियर पढ्ने पहिलो भएको बताउदै डिग्राी पढ्ने र सरकारी सेवामा देशको सेवा गर्ने रहर भएको बताए । केही गर्छु भन्ने मनमा हुटहुटी र आँट भएमा प्रतिकूल अवस्था वा सामाजिक पृष्ठभूमिले सफलतालाई रोक्न सक्दैन भन्ने बलियो उदाहरण उनी बनेका छन् ।
राउटे अध्ययनरत किसान प्राविधिक शिक्षालयमा तीन बर्षे कृषि तर्फ पशु विज्ञान र बाली विज्ञान ४०/४० जना तथा कम्प्युटर र सिभिल इन्जिनियर तफर्प ४८/४८ प्रति सेमिस्टारमा अध्ययनरत रहेको शिक्षालयका प्रमुख शिब पाण्डेले बताए ।
यहाँ बिशेष छात्राृति तर्फ राउटे जस्तै १० जना अध्ययनरत रहेका छन् भने सहुलियतमा अन्य छात्राबृति २० जनालाई दिइन्छ । निःशुल्क आवासको समेत ब्यवस्था गरेको शिक्षालय ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिक्षालय १५ करोडको लागतमा नेपाल सरकारको लगानीमा निर्माण भएको हो ।
लोपोन्मुख जातिमा परेर पनि चुनौतीलाई अवसरमा बदल्ने उनको यो सत्कर्म र संघर्ष सिंगो नेपाली समाजका लागि प्रेरणादायी र उदाहरणीय बनेको पाण्डेले बताए ।





