पोखरा/ पोखरा विश्वविद्यालयमा ‘पोलिसी ल्याब’ स्थापना हुने भएको छ । अनुसन्धानमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित युएनडिपी नेपाल र पोखरा विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकायबीच संघीयतासम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धानका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।
स्थापना गरिने ल्याबमार्फत युवा अनुसन्धानकर्ता तथा नीतिगत अभ्यासकर्ताको नयाँ पुस्ता तयार गर्न, अनुसन्धान र नीति निर्माणबीचको सम्बन्धलाई सुदृढ बनाउन तथा अनुसन्धानमा आधारित विकास र नीतिनिर्माणका लागि उपयोगी ज्ञान उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मानविकी तथा सामाजिक विज्ञान संकायका डिन अजय थापाले यस सहकार्यलाई विश्वविद्यालयका लागि महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे। उनले पोलिसी ल्याब स्थापनाले युवा अनुसन्धानकर्ता उत्पादन गर्न, अनुसन्धान र नीतिबीचको सम्बन्धलाई बलियो बनाउन तथा नेपालमा अनुसन्धानमा आधारित नीति निर्माणका लागि व्यावहारिक ज्ञान सिर्जना गर्न मद्दत पुग्ने बताए।
थापाले यस महत्वपूर्ण पहलमा साझेदारका रूपमा छनोट गरेकोमा युएनडिपी नेपालप्रति आभार व्यक्त गर्दै आवासीय प्रतिनिधि क्योको योकोसुकाको योगदानको प्रशंसा गरे। उनले सहकार्यलाई सफल बनाउन निरन्तर सहयोग र प्रोत्साहन प्रदान गरेकोमा उपकुलपति विष्णुराज तिवारी र रजिस्ट्रार हरिबहादुर खड्काप्रति पनि धन्यवाद ज्ञापन गरे।
गण्डकी प्रदेशको प्रादेशिक तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम तथा युएनडिपी नेपालका सेवा श्रेष्ठ, विकास रञ्जन दास, सुदीप अर्याल र प्रगति भट्टराईसहितको टोलीले साझेदारीलाई मूर्त रूप दिन महत्वपूर्ण भूमिका खेलेको थापाले उल्लेख गरे। उनले मानविकी तथा सामाजिक विज्ञान संकायका पूर्वडिन सुरेन्द्र तिवारी र अर्जुनकुमार थापाको योगदानलाई समेत स्मरण गर्दै सम्झौताको प्रारम्भिक चरणदेखि नै उनीहरूको सक्रिय भूमिका रहेको बताए।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै थापाले विश्वविद्यालय परिवार, सहभागी अतिथि तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे। उनले अनुसन्धान र नीतिनिर्माणबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने दिशामा यो सहकार्य महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।





