बागलुङ/निसीखोला गाउँपालिकाको मुख्य निसीगाउँ आर्कषक छ । मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले यहाको बस्तीका मानिसले यातायात सेवा सहजै पाएका छन् । सामान्य काम पर्दा पनि सहर जान उनीहरुलाई समस्या छैन । बस्तीमै माध्यामिक विद्यालय र स्वास्थ्य चौकी छ । जसका कारण आधारभूत आवस्यकताको रुपमा शिक्षा र स्वास्थ्य सेवामा समस्या छैन ।
यो बस्ती मात्र होइन, यो वडा निकै फराकिलो छ । वडाकै अर्को भूगोलमा जान १० घण्टा पैदल हिंड्नुपर्ने बाध्यता छ । हिंड्न नसके ढोरपाटन नगरपालिकाको बाटो भएर जानुपर्छ । त्यो हो निसेलढोर । अहिले चर्चामा आइरहेको ढोरपाटन उपत्यका भन्दा सानो तर फरक प्रकृतिको र दक्षिण फर्केको निसेलढोर आर्कषक क्षेत्र हो । तर दुर्गम क्षेत्र पनि हो ।
यहाँबाट वडाको सेवा लिन जानेलाई १० घण्टा बढी समय लाग्छ । वडाभित्रै हजारौं खर्चेर मात्र कार्यालय पुगिन्छ । वडाको काम गर्न जाँदा पनि उतै बास बस्नुपर्छ । निसेलढोरबासीलाई आफ्नै वडामा पुग्न सास्ती भएपछि कतिपयले छुट्टै वडाको माग समेत गर्छन् । प्रशासनिक काम र स्वास्थ्य तथा शिक्षाले पछि परेको यो क्षेत्र जोड्न सकेमा वडा नं. ५ ले समृद्विको काम गर्न सक्ने कार्यवहाक वडा अध्यक्ष ताराबहादुर बिकको भनाइ छ ।
निसेलढोर क्षेत्र कृषि उत्पादनका लागि भने उर्वर भूमी हो । उचाइमा भएपनि दक्षिण फर्केकोले न्यानो र मनमोहक छ । तसर्थ पर्यटक पुग्नेलाई आनन्द छ भने उत्पादन पनि राम्रो हुन्छ । केवल यातायात र शिक्षा तथा स्वास्थ्यको भने समस्या छ । यहाँ गुणस्तरीय शिक्षा दिने विद्यालय, प्रभावकारी सेवा दिने स्वास्थ्य चौकी भएमा निसेलढोरबासी निकै खुसी हुने थिए । आफ्नै वडा कार्यालय पुग्न निसेलढोरबासीलाई १० घण्टा लाग्नु नै बिडम्बना हो । भौगोलिक कठिनाईकै कारण हिमपात भएको समयमा बाहेक जाडो मौषममा पनि निसेलढोरबासी बेसी झर्दैनन् । किसानले यहाँ आलु खेती गरेर जीविपोर्जन गर्दै आएका छन् । हरेक घरमा १० देखि १२ पशुचौपाया पालेका छन् । केहीले डेढदुइ सय भेडापालन गरेका छन् । उनीहरुको जीवन आलुखेती लगाउने, परम्परागत भएपनि स्याउ उत्पादन किसानको बस्तीले निसेलढोर बनेको छ । यहाँ झण्डै ४ सय घरटहरा छन् । सबैको पेशा कृषि र पशुपालन नै हो । सडक संजालको सहज पहुँच भैदिए किसानको उत्पादनले राम्रो बजार पाउथ्यो । तर अहिलेसम्म बजार पाउन सकेको छैन । वडा कार्यालयले केही वर्ष अघिदेखिनै निसी गाउँदेखि ढोरपाटन आउने सडक बनाउन ट्रयाक खोल्न थालेको हो । तर अहिलेसम्म आधा पनि बनेको छैन । बनिसकेको खण्डमा निसेलढोर सहजै आउने जाने अवस्था बन्थ्यो । सडक नभएपछि यहाँका बालबालिका पढ्न पनि निसी गाउँमै पुगेर डेरा लिएका छन् । अभिभावकहरु काम विशेषले गएपनि फर्कन भ्याउँदैनन् ।

पहिला त निसेलढोरमा मानिस बसे नबसेको समेत खोजी हुन्थेन । अहिले भने ढोरपाटनसँग सडक जोडिएपछि पर्यटकहरु यहाँ पुग्छन् । परम्परागत रुपमा लगाइएका सयौं स्याउका बोटमा फोटो खिच्छन् । तर बजार पठाउन किसानले ट्रयाक्टर रिर्जभ गरेर पठाउनु पर्छ । त्यो खर्चले स्याउको मूल्य नै पाईदैन । त्यसैले किसानले ४ सय घरधुरीकै व्यवसायिक स्याउखेती गर्न सकेमा मात्र बजार पाउन सकिने बताए । कृषि शाखा र किसानको लगानीमा यहाँ ४ सयबढी फुजी गोल्डेन जातको स्याउ लगाइएको छ । त्यसले फल दिन थाल्यो भने बल्ल केही मूल्य पाउन सक्ने किसानको भनाइ छ । कृषि शाखाका प्राविधिकलाई लगेर उनीहरुले प्राविधिक सेवा लिएपछि केही अनुदान र प्राविधिक सेवा पाएका थिए ।
वडा अध्यक्ष हर्कमान घर्तीमगरका अनुसार किसानको उत्पादनलाई बजारीकरण गर्न पहल भैरहेको छ । स्थानीय मित्रबहादुर घर्ती, गोमान नेपाली जस्ता किसानले स्याउ ग्रेडिङ गरेर प्रतिकेजी १ सय रुपैयाँ सम्ममा बेच्ने गरेको बताए । सुमन घर्तीले वर्षमा २४ क्विन्टल स्याउ बेचेको बताए ।
किसानले आलु बेचेर पनि पैसा कमाएका छन् । भन्छन्, प्राविधिक सहयोग र यातायातको सेवा पाए उत्पादन गरेर कमाइ गर्न हामी तयार छौं । वडालाई समृद्विमा लैजान सकिने बाटो नै निसेलढोरमा स्याउ र आलुको उत्पादन बढाउनु हो । उत्पादन राम्रो भएमा निकासी कर, आयश्रोतमा कर लगाएपनि राम्रो राजश्व संकलन हुने घर्ती बताउँछन् । निसेलढोरबाट सिधैं निसीखोला पुग्न नसकिने भएपछि ढोरपाटन, बोबाङ हुँदै बुर्तिवाङ पठाउँदा धेरै खर्च लागेको नेपालीले गुनासो गरे । निसेलढोरमा सयौं क्विन्टल स्याउ र आलु फलाउने गरी खेती बढाउन सकिने उनीहरुको आश छ ।
फुजी स्याउ राम्रो उत्पादन भएमा पुराना बोट हटाएर फुजीमय बनाउने लक्ष्य पालिकाको छ । समुन्द्री सतहदेखि २ हजार ६ सय मीटरदेखि ३ हजार ५ सय मीटर सम्मको भूगोलमा यी बिरुवा रोप्न लगइएको थियो । बिरुवा हुर्कंदै गएपछि किसानले बारबन्जेद समेत लगाउन थालेका छन् । गाउँपालिकाले कृषि विकास कार्यालयको सहकार्यमा स्याउ उत्पादनका लागि माटो र बिरुवा परीक्षण, तालिम तथा बजारीकरणको काममा सहयोग गर्ने कार्यालयका प्रमुख कुमार पुनले बताए ।
पालिकाले त स्याउ जोनको अवधारणा पनि अगाडि सारेको छ । स्याउ जोन बनाउन सकेमा आवस्यक सडक संजालमा पनि लगानी बढाउने, प्रदेश र संघमा थप बजेट माग्ने योजना गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । ‘अहिले त स्थानीय बजार, बुर्तिवाङ र बुटवल लैजान सहजै छ’ घर्तीले भने, ‘थप बजार चाहिंदा पनि पालिकाले किसानलाई साथ दिन्छौं ।’
लेकाली बस्ती, हजारौं रोपनी पाखो क्षेत्र भएकोले पशुपालन बढाउन सकेमा किसानलाई धनी बन्ने वातावरण बन्छ । प्रसस्त पालिएका भेडाच्याङग्राको व्यापारले किसान धनी बन्न सक्छन् । उन र मासुका लागि भेडा पालिन्छ भने दूधका लागि गाईभैंसी । निसेलढोरदेखि बुकीसम्मका पाटन प्रयोग गरेर हजारौं पशुपालनमा लगानी गर्ने स्थान छ ।
यो क्षेत्रका विभिन्न स्थानमा घरहरुको भग्नावशेष भेटिन्छ । जसका कारण यो ऐतिहासिक बस्ती भएको अनुमान गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगर बताउँछन् । नेपालका योजनाविद, कृषि विज्ञ, पुरातत्व विज्ञहरु एकपटक निसेलढोर पुग्नुपर्ने उनले सुझाए । निसीखोला गाउँपालिका–५ को निसी गाउँ मगर र दलीत बसोबास भएको स्थान हो । तर यहाँका अधिकांसले मगर खाम भाषा बोल्छन् । त्यसैले अघिल्लो वर्षदेखि यहाँ मगर खाम भाषाको पाठ्यपुस्तक समेत बनाएर कक्षा १ मा पढाउन थालिएको छ । चालु शैक्षिक वर्ष कक्षा २ को पाठ्यक्रम लागू गर्ने र क्रमशः कक्षा ७ सम्म लैजाने लक्ष्य गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले सुनाए । आदिमकालमा बोलीचालीमा रहेको खाम भाषा अझै जिवित रहेकोले त्यसलाई जगेर्ना गर्न यो पाठ्यक्रम बनाएको घर्तीको भनाइ छ । बोलीचालीमा मात्रै जिवित रहेको भाषालाई लिखित रुपमा पनि संरक्षण गर्न लागिएको उनले बताए ।
निसी गाउँ र निसेलढोर कला संस्कृतिमा पनि धनी छन् । यहाँका बासिन्दाले निसीमा पुतली नाँच देखाउँछन् । यो आफ्नै संस्कृति र बाइसेचौविसे राज्यको झझल्कोसँग सम्बन्धित भएपनि अहिले आफ्नो स्थानीय परम्पराको रुपमा संरक्षित छ । निसेलढोरमा साउनको अन्तिम मंगलबार विशेष प्रकारको गाउँ पुजा हुन्छ । त्यसका लागि निसी गाउँदेखि सयौं मानिस लर्को लागेर निसेलढोर पुग्छन् । गाउँपुजाको बेला स्थानीयले कपैया नाँच देखाउँछन् । यी नाँचहरुलाई संरक्षण गर्न युवापुस्तामा हस्तान्तरणको चुनौती छ । गाउँपालिकाले लगानी गरेर कला र संस्कृतिको पुस्तान्तरण गराउनुपर्ने वडा अध्यक्ष हर्कमान घर्तीले बताए ।
विकास निर्माणको लागि मध्यपहाडी लोकमार्ग निसी गाउँको लागि बरदान भएर आइदियो । केही वर्ष अघिसम्म सडक अभावमा अनकन्टार मानिएको निसीमा अहिले कालोपत्रे सडक छ । जसका कारण घुम्ने मानिसहरु सरासर पुग्छन् । निसीगाउँमा होटल पनि खुल्न थालेका छन् । ती होटललाई स्तरीय बनाउन सकेमा पर्यटक बढाउन सकिनेछ । ग्रामीण सडक पनि खुल्ने क्रम शुर भएको छ ।
ज्ञानेन्द्र माविमा गुणस्तरीय शिक्षा बढाउन पहल भएको छ । आर्कषक भवन निर्माण गरिएको छ । सयौं विद्यार्थी विद्यालय बाहिर हुने निसीमा अहिले धेरै बालबालिका विद्यालय जान्छन् । स्वास्थ्यमा पनि निसीका बासिन्दा सचेत छन् । निसेलढोरमा भने यातायातको अभाव छ । बर्थिङ सेन्टर छैन । जसका कारण सुत्केरी हुनुपर्नेहरुले जोखिम मोलेका छन् । कतिपय मानिस घरमै सुत्केरी भैरहेका छन् भने कतिपयले पाल्पा र बुटवलसम्म गएर डेरा लिएर बस्छन् । एकडेढ महिना बसेर सुत्केरीपछि मात्र गाउँ फर्कन्छन् । यो समस्या हटाउन यहाँ वर्थिङ सेन्टर स्थापना हुन जरुरी छ ।
वडाले मुख्य राजमार्गमा दक्षिण तर्फको भूगोल पनि समावेश गर्न प्युठान जाने सडक बाह्रै महिना चल्ने बनाउने, निसीखोलामा पक्की मोटरेबल पुल हाल्ने योजना बनाइ बजेट माग भएको छ । यो पुल बनिसक्दा प्युठान सिमानामा पनि स्याउ खेती विस्तार गर्न सकिने, त्यसबाट किसानले मनग्ये कमाइ गर्न सक्ने अवस्था छ । प्युठान तर्फका मानिसलाई निसी आइपुग्ने छोटो बाटो पनि हुने उनको भनाइ छ ।
नयाँ बजेटले उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजनाको चर्चा गरेको छ । यो आयोजना बनाउन सकेमा विद्युत गृह नै निसीमा पर्ने आंकलन छ । त्यसले पनि यहाँ विकासको लहर बढाउने, आम नागरिकको चासोको रुपमा हेर्ने स्थान नै निसीगाउँ हुनेछ । निसीखोलाको पानीको बहाव बढेमा यहाँका लघु विद्युतहरुको क्षमता बढेर साना विद्युतगृह पनि महत्वपुर्ण बन्नेछन् । राष्ट्रिय प्रसारण लाइनमा जोडेर स्थानीय धनी बन्ने वातावरण बन्छ । समृद्व निसीखोलाको सपना पुरा गर्न यस्ता सबै सूचकहरु सहयोगी बन्ने स्थानीय बताउँछन् ।
निसेलढोरलाई पर्यटकको हब बनाउन सकिन्छ
हर्कमान घर्तीमगर
वडा अध्यक्ष,
निसीखोला गाउँपालिका वडा नं. ५
निसीखोला अब लुम्बिनी, कर्णाली र सुदुर पश्चिमका जनताको राजधानीसँग जोडिने राजमार्गको बस्ती हो । यो बस्तीले अब पालिकालाई समृद्द बनाउन धेरै भूमिका खेल्न सक्छ । पूर्वपश्चम चल्ने सयौं सवारीका हजारौ यात्रीलाई खाजा, खाना र फलफूल बिक्री गर्न सकेमा लार्खौ कमाउने अवसर आउन सक्छ । त्यसका लागि यहाँको अर्गानिक उत्पादनलाई बढाउने नै हो ।
पालिका बन्नु अघिको बिरानो गाउँ अहिले सहज र सबैको परिचित भैसकेको छ । बरु अब यहाँका आम जनताको आनीबानीमा सुधार ल्याउने, सरसफाइ बढाउने, कृषि र पशुपालन बढाएर आयआर्जनमा ध्यान दिने हो भने समृद्व निसीखोला बनाउने अभियान छिटै पुरा हुन्छ । अहिले पनि निसीमा शिक्षा र स्वास्थ्यका सूचक कमजोर छन् । त्यो बढाउन हाम्रै पहल र मेहेनत चाहिन्छ । अभिभावकको साथ र सहयोगबाटै शिक्षासँगै सचेतना बढाउन सकिन्छ ।
नागरिक सचेतीकरणका कार्यक्रम संचालन नभएसम्म यहाँको शिक्षाको गुणस्तर सुधार हुँदैन । न त आम नागरिकको जीवनस्तर नै माथी उठ्छ । सडकलाई सदुपयोग गर्न स्थानीयलाई उत्पादनमा जोड्नुपर्छ । उत्पादन बजारमा पुग्नुपर्छ । त्यतिमात्र हैन, किसानको उत्पादन बढाउने योजना पनि चाहिएको छ ।

पर्यटन प्रवद्र्धन अर्को महत्वपुर्ण क्षेत्र हो । निसीखोला गाउँपालिकाकै समृद्विका लािग निसेलढोरमा पर्यटक धेरै पुग्ने वातावरण हो । निसेलढोरमा आरामदायी होटल समेत बन्नुपर्छ । किसानले फलाउने आलु र स्याउको बजारीकरण त्यहींबाट भयो भने किसानको हातमा पैसा पर्छ र काम गर्न थप उत्साही बन्छन् । संघिय र प्रदेश सरकारको बजेट र कार्यक्रमले निसेलढोर जोडिनुपर्छ ।
निसेलढोरमा आवासीय विद्यालय, महिला स्वास्थ्य सहितको वर्थिङ सेन्टर बनाउने र मनमोहक उपत्यकामा घुम्ने पदमार्ग बनाउन सके धेरै मानिसको पहुँचमा पुग्ने छ । राम्रो स्वास्थ्य चौकी बनाउन सकियो भने सामान्य समस्या, चोटपटक लाग्दा बजार झर्नु पर्दैन । ढोरपाटन उपत्यका हुदै निसेलढोर, रुकुमको तकसेरा सडक खुल्नुपर्छ । यो सडक खुल्दा पर्यटक पनि बढ्छन् । निसेलढोरमा अहिले विद्युत र टेलिफोनको नेटवर्क छैन । सम्बन्धित कार्यालयको ध्यानाकर्षण गरेर काम अगाडि बढाएपनि सम्पन्न भएको छैन । नेपाल टेलिकमले त्यहाँ केही कार्यक्रम लैजानुपर्ने छ । निसेलढोरमा विद्युत अभावमा कोल्डस्टोर र अन्य काम गर्न नसकेको अवस्था छ ।
अझैपनि निसेलढोर देशकै नमूना, भर्जिन र आर्कषक पर्यटकीय गन्तव्य बनाउने पहल भयो भने यो वडाको समृद्वि पर्यटनबाटै हुनेछ । लुकेको संभावना देखाउने काममा वडाले काम गरेको छ, तर पुर्ण रुपमा काम गर्न प्रदेश सरकारको ध्यान पुग्नुपर्छ र बजेट पनि सोही अनुसारको विनियोजन हुनुपर्छ ।




