शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलामा मुल सडक कालोपत्र, कृषि उत्पादनको बजारीकरण

काठेखोलामा मुल सडक कालोपत्र, कृषि उत्पादनको बजारीकरण

काठेखोला गाउँपालिकाले आफ्नो पहिचानको रुपमा रेशको चिया बगानलाई नीति कार्यक्रम र योजनामा पनि समावेश गरेको छ । यो आर्कषक मात्र होइन, समृद्द काठेखोलाको संभावनाको ढोका पनि हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८३, शनिबार

बागलुङ/काठेखोला गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या भएकोले वडा नं. ७ लाई वडाका सबै बस्तीमा विकासका लहर लैजान कठिन छ । सानो श्रोत र साधनले सबै वडाका आधारभूत आवस्यकता पुरा गर्न सकिंदैन । तरपनि वडाले समानुपातिक रुपमा विकासका का लगिरहेको छ । साना टुक्रे योजनाहरु संचालन गर्दा नागरिकको आवस्यकता पुरा गर्न कठिन भएपछि वडाले एकदुइ वटा योजना भने वडाभरका जनताको हितमा गर्दैछ । सडक, कृषि, शिक्षा र पर्यटनका कार्यक्रममा एकैपटक वडा नै समेट्ने प्रयास भएका छन् ।

रेशको बौर वडा कार्यालय हुँदै गाजादह जाने सडकले सिंगो वडालाई छुने प्रयास भएको छ । जसअन्र्तगत सोही सडक खण्डको सुल्डाँडादेखि एक्लेखेत काफलबोट ४ किमी कालोपत्र पनि भैसकेको छ । जसमध्ये २ किमी ३ सय मीटर खण्ड कालोपत्र, १ हजार ७ सय मीटर ढलान भएको छ । यो सडकलाई वडाको मेन रोड बनाइएको । पुछारदेखि शिर सम्मको खण्डमा यो सडकले छोएकोले वडाबासीले सहजै यात्रा गर्ने, सामान ढुवानी गर्ने अवसर मिलेको छ । संघिय सरकार र स्थानीय तह बीचको समपुरक लगानीमा यो सडक बनेको हो । तर समयमा काम पुरा नभएकोले स्थानीय तहलाई बढी व्ययभार परेको यो सडक झण्डै निर्माण सम्पन्नको अबस्थामा पुगेको छ । यो सडकको १४ किमी खण्ड डिपिआर समेत बनाएर झण्डै ४६ करोड लागत निकालिएको छ । त्यो मध्ये ७ करोड ७८ लाख लगानीको खण्ड कालोपत्र भएको हो ।

गत वर्ष रेश अस्पताललाई आधारभूत अस्पतालको रुपमा विकास गरि भवन समेत बनाइएको छ । अब यो भवनमा सेवालाई चुस्त बनाउने प्रयास भएको छ । ५ करोड लगानीमा भनेको भवनले सेवा प्रवाह गर्दा आम नागरिकलाई वडामै अस्पताल सरहको सेवा सुविधा मिल्ने छ । नेपाल सरकारको विशेष अनुदानमा यो भवन बनेको हे । दरबन्दी स्विकृत गरेर सेवा संचालन गर्दा आम नागरिकले गाउँघरमै अस्पताल सरहको सेवा पाउने विश्वास लिइएको छ । हाल यहाँ दरबन्दी भने काम छ । त्यसका लागि वडाले पहल अगाडि बढाइरहेको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । ‘पूर्वाधार बनिसक्यो, अब सेवा संचालनको कुरा छ’ लामिछानेले भने, ‘हामीले दक्ष प्राविधिक सहितको स्वास्थ्यकर्मी व्यवस्था गर्दैछौं ।’ आम नागरिकको स्वास्थ्यका लागि यो वडाकै गौरव र महत्वकांक्षी योजना समेत भएको उनले बताए ।

वडालाई समेट्ने गरी वडा रिङरोड पनि निर्माणाधिन छ । ५० लाख गाउँपालिकाले लगानी गरेपछि संघिय सरकारले २५ लाख पठाएपछि यो सडकको काम थालिएको थियो । अहिले तिङरिङ तर्फको सडकमा नाली बनाउने काम भैरहेको छ । वडाको सबै बस्ती समेट्ने गरी शाखा सडकहरुलाई पनि व्यवस्थित बनाइ चक्रपथको रुपमा विकास गर्ने लक्ष्य पुरा भएमा वडाको जुनसुकै कुनामा बस्ने नागरिकले पनि यातायतको सेवा पाउने विश्वास छ ।

त्यसो त सिंचाइका कार्यक्रमलाई पनि वडाले प्राथमिकता दिएको छ । साङखोला दामगाडे मरुवा, जलाधार संरक्षण कार्यक्रम यहाँ संचालित छ । बहुवर्षे यो योजना पुरा गर्दा ४ सय रोपनी जमिन सिंचाइ गर्ने काम हुन्छ । देउराली सिंचाइ आयोजनाको काम शुरु भएको छ । रेश आँफैमा अन्नभण्डार हो । पानीका श्रोत त यहाँ प्रसस्त छन् । त्यसैले कतिपय अवस्थामा स्थानीय कुलोबाट धेरै खेतबारी सिंचाइ गरिएको छ । स्थानीय तह र राज्यबाटै सम्बोधन गरिने कतिपय योजनाबाट भने असंभव जस्ता देखिने काम पनि भएका छन् । रेश गाउँलाई नै हरियाली बनाउने गरी यस्ता सिंचाइ आयोजना सम्पन्न गर्न वडा अध्यक्षले सबै निकायमा चासो बढाएर लगानी भित्राइरहेका छन् ।

वडा नं. ७ को अर्काे आर्कषक र निकै चर्चा पाएको चिया खेती हो । बौर गाउँमा त चिया खेतीले यतिबेला रेशलाई इलाम जस्तै बनाइदिएको छ । कति पर्यटक यहाँ हेर्न पुग्छन् । गाउँपालिकाले आफ्नो पहिचानको रुपमा रेशको चिया बगानलाई नीति कार्यक्रम र योजनामा पनि समावेश गरेको छ । यो आर्कषक मात्र होइन, समृद्द काठेखोलाको संभावनाको ढोका पनि हो । अहिले त थोरै थोरै चिया उत्पादन भैरहेको छ । यो उत्पादनलाई स्थानीय बजारमै खपत भैरहेको छ । यो क्षेत्र विस्तार गर्न सकेको खण्डमा चियाको बजारीकरणमा कुनै समस्या छैन । बरु रोजगारी बढाउने, आयआर्जन गर्ने र यो क्षेत्रको पहिचान समेत गर्ने गरी चिया विस्तार गर्ने लक्ष्यमा वडाले पहल गरेको छ ।

यहाँको सामुदायिक वनहरुमा चिया खेती विस्तार गर्ने संभावना बढी छ । वडा र पालिकाले पनि यो विषयमा चासो व्यक्त गरिरहेका छन् । तर वन ऐनले यो कामलाई अबरोध गरेको छ । यद्यपी गण्डकी प्रदेश सरकारको वन ऐनले भने बाटो फुकाएको थियो । संघिय वन ऐन नआएपछि त्यो काम रोकिएको छ । तसर्थ चिया खेतीलाई प्रवद्र्दन गर्न इलाम र झापामा जस्तै बनाउन यहाँका सामुदायिक वनको उपयोग गरी अधिकतम फाइदा लिने व्यवस्था गरिनुपर्छ भन्ने मान्यता स्थानीयले राखेका छन् । ताराखोला गाउँपालिकाको अर्गल र अमरभूमिमा पनि चिया खेती लगाइएको छ । १ हजार रोपनीमा लगाउन सकेमा त्यसको उत्पादन स्पेनका व्यवसायीले पनि खरिद गर्ने संभावना छ । सोही अनुसारको तयारी गर्न पालिकाले पहल गरिरहेको छ । अहिले त यहाँको चिया प्रतिमहिना २० देखि २५ केजी मात्रै उत्पादन छ । यो उत्पादनलाई बढाउने लक्ष्य हो । हालको उत्पादनलाई बजार खोज्न नपरेको किसानको पनि भनाइ छ । चिया खेती विस्तारसँगै आधुनिक मेसिन र उपकरण चाहिन्छ । त्यसले चियाको गुणस्तर विकास र मात्रा बढाउने छ ।

पर्यटनका हिसाबले काठेखोला सिंगो पालिका नै संभावनाको स्थान हो । रेशको शिरमा रहेको गाजाको धुरी, चापाखर्क पनि पर्यटकीय क्षेत्र हुन् । चापाखर्कमा त अहिले सडकले दुइ तिन तिरबाट छोएको छ । बागलुङ नगरपालिकाको सिंगाना हुँदै जाने बाटो र रेशदेखि जाने बाटो बनिसकेको छ । जैमिनीको दमेकबाट पनि जोडिएको छ । चापाखर्कबाट उत्तरमा हिमाली श्रृंखला पनि छर्लङ्ग देखिन्छ । पर्यटकीय रुपमा मनोरम क्षेत्र भएकोले दुवै सडकबाट पर्यटक लैजान सकिन्छ । पहिलो चरणमा पालिकाले यहाँ ओत लाग्ने स्थल बनाएको छ । असोज कात्तिकमा त टेन्ट टाँगेर बस्नका लागि पनि कतिपय मानिस जान्छन् ।

बागलुङ बजार, भकुण्डेदेखि रेशको बौर सम्मको पहाडी क्षेत्रलाई भेगन पर्यटक हरुले पनि रुट बनाएका छन् । अमेरिका, बेलायत लगायतका देशबाट वर्षेनी आउने भेगन समूहले यो क्षेत्रको यात्रा गरेर साता दिन बिताउने गरेका छन् । उनीहरुको बसाईको दिन लम्ब्याउन सकियो भने बौर, चापाखर्क र गाजाको दहसम्म पनि पर्यटक लैजान सकिन्छ । स्थानीय रुपमा उत्पादन हुने अर्गानिक तरकारी, खानाका परिकार खुवाएर पर्यटक आर्कर्षित गर्न सकिन्छ । पर्यटक स्वागत र सत्कारका लागि यहाँ होमस्टेको विकास गर्न जरुरी छ । वडा कार्यालयले बौरमा त होमस्टेको विकास पनि गरेको छ भने कतिपय स्थानमा टेन्ट टाँगेर बस्ने पर्यटकको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने आवस्यकता छ ।

काठेखोला गाउँपालिका डिजिटल सेवामा अगाडि छ । वडा कार्यालयले पनि सुशासनका लागि डिजिटल सेवालाई प्रभावकारी बनाउने प्रयास गरिरहेको छ । यो प्रयासलाई मुर्तरुप दिनका लागि वडाको सेवा पनि चुस्त, प्रभावकारी र प्रविधिमा जडान गरिएको छ । अनलाइनमार्फत सबै सेवालाई जोड्दा कतिपय नागरिकले घरमै बसेर सेवा पाएका छन् । उनीहरुले अनलाइनबाटै राजश्व पनि तिर्छन् । वडा अध्यक्ष प्रेम लामिछानेका अनुसार चालु वर्ष पनि यो वडामा १२ लाख राजश्व संकलन भएको छ । यो राजश्व केवल अनलाइन सेवा अर्थात् डिजिटल सेवाबाट प्राप्त भएको हो ।

वडालाइ डिजिटल बनाउन वडा सचिव र एक जना कृषि प्राविधिकलाई काममा लगाइएको छ । दुवै जना प्रविधिमा पोख्त छन् । तर सबैभन्दा धेरै जनसंख्या भएको वडाका कारण यो जनशक्तीले सेवा प्रवाह दिन सकेको छैन । भौतिक रुपमा आएका सेवाग्राहीको काम पनि गरिदिनुपर्छ । डिजिटल सेवा पनि दिनैपर्छ । त्यतिमात्र होइन डिजिटल सेवालाई दर्ता चलानी गरेर पनि राख्दा एकजना कम्तिमा दक्ष जनशक्त अपुग भएर सेवा सोचेझै नभएको कर्मचारीकै गुनासो छ । उनीहरु काम गरेर पनि गरेझै नभएको बताउँछन् । वडा अध्यक्ष लामिछानेले पनि वडामा कम्तिमा एक जना कम्प्युटर अपरेटर वा थप कर्मचारीको व्यवस्थापन आवस्यक भएको बताउँछन् । उनले नागरिकताको सिफारिसदेखि पञ्जिकरणका सबै काम अनलाइन गर्दा कम्प्युटरमा प्रविष्टी गर्दा समय लागेको र दक्ष कर्मचारी थप आवस्यक भएको बताउँछन् ।

स्मार्ट वडा बनाउने सपना वडाले पहिले देखिकै हो । अहिले कामले स्मार्ट बन्दैछ । तर जनशक्ती अभावले सोचेझै स्मार्ट बनाउन नसकेको देखिन्छ । कुनै बेला सेवाग्राहीले इमेलमा पनि काम मागिरहेका हुन्छन्, जनशक्ती अभावमा उनीहरुलाई तत्काल रेस्पोन्स गर्न नसकेपछि सेवाग्राही रिसाउने र काम फेरी ढीला हुने अवस्था छ । यो विषयमा चासो बढाएर नागरिकलाई चुस्त सेवा दिन सकेमा डिजिटल पालिकाको अवधारणा पुरा हुनेछ ।

वडाले विकासमा मात्र समृद्दि खोजेको छैन । शिक्षा र स्वास्थ्यमा गुणस्तर पनि खोजेको छ । किनकी विद्यालय तहको पढाईलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्यालयमा पर्याप्त दरबन्दी, पढाउने शैलीमा सुधार र विद्यार्थीलाई दण्डरहित तरिकाले पढाउन निर्देशन दिइएको छ । विद्यालयका शिक्षक पनि आजकल त दण्डरहित र मायालु वातावरणमा पढाउन थालेका छन् । जसका कारण बालबालिकाहरु रमाएर विद्यालय जाने वातावरण बनेको छ । सामुदायिक विद्यालय नै स्थानीयको मुल गन्तव्य भएकोले समुदायिक विद्यालयको सुधार, आर्कषक पुर्वाधार निर्माण, शिक्षकलाई तालिम, विद्यालयमा बाल क्लब गठन गरेर बाल अधिकारबारे जानकारी दिने काम पनि भएको छ ।

उता कृषिलाई व्यवसायिकीकरण गर्ने, किसानलाई आत्मनिर्भर बनाउने, मासु, अण्डा र दूधमा आयात प्रतिस्थापन गर्ने जस्ता कामलाई उनीहरुले बढी चासोका साथ हेरेका छन् । अहिले पनि बाख्रा र भैंसीमा काठेखोला र रेश गाउँ आत्मर्भिर जस्तै छन् । वडाले डाटाबेस बनाउन सकेको छैन । तर सबै घरमा अर्गानिक र स्थानीय उत्पादन प्रयोग हुन्छ । जसका कारण आम नागरिकले स्वस्थ्य खाना खान पाएका छन् । बेसाहा खाने चलन यहाँ कम छ । बरु बसाई सरेकाहरुले पनि जग्गा जमिन बेचेका छैनन्, गाउँमा बसेकाहरुले पनि ती जग्गा कमाएर भएपनि आत्मनिर्भर बन्ने प्रयास गरेका छन् । यो विषय गर्व लाग्ने कुरा भएको वडा अध्यक्ष लामिछाने बताउँछन् ।

बाँझो जमिन उपयोग गर्ने वातावरण बनायौं
प्रेम लामिछाने
वडा अध्यक्ष
काठेखोला गाउँपालिका वडा नंं ७, रेश

वडा अध्यक्षको रुपमा मेरो दोश्रो कार्यकाल हो । पहिलो कार्यकालमा पुर्वाधार विकासमा जोड दिइयो । पालिकाको मुकामदेखि वडा जाने सडक बन्नु अघि यहाँको खोलामा पुल थिएन । प्रदेश सरकारको सहकार्यमा पुल बनाएपछि सडकलाई स्तरीय बनाउने लक्ष्यले काम थाल्दा प्राविधिक र संघिय सरकारको बजेट कार्यान्वयनमा प्राविधिक समस्या आएपछि स्थानीय तहको बजेट बढाएर भएपनि सडक निर्माणको काम सक्ने प्रयास भयो ।

त्यसपछि हामीले आम नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने, नागरिकलाई सेवा प्रवाहमा सहजीकरण गर्ने र आम नागरिकका समस्या समाधान अनलाइनबाटै गर्ने योजना बनायौं । पालिकाको डिजिटल अभियानसँगै वडाहरु पनि डिजिटल बनेका छन् । हामीले कार्यालयमा आएका सेवाग्राहीको काम अनलाइनबाटै गरिदिन्छौं । जसका कारण पालिका पुगेर पनि उनीहरुले आफ्नो कागजात सहजै हेर्न पाउन् भन्ने चाहना छ ।

यो डिजिटल कामले नागरिकलाई आँफैले आफ्नो कागजात हेरेर शुद्द बनाउने, स्थायी रुपमा दस्तावेजीकरण गर्ने काम भएको छ । झरी, बादल र अन्य समस्याले कागजात बिग्रने खतरा कम हुँदै गएको छ ।

आत्मनिर्भर र व्यवसायिक विकासका लागि उद्यम विकासका काम वडामा थालिएको छ । फर्निचर व्यवसायदेखि अन्य साना उद्योगमा स्थानीय सक्रिय र आर्कर्षित छन् । उचित काममा उचित अनुदानको व्यवस्था पनि छ । व्यवसाय दर्ता गरेरै चलाउनुपर्छ भन्ने मान्यता विकास भएको छ । यो मान्यताका कारण नागरिकको सक्रियता र त्यसबाट राजश्व संकलन पनि बढेको छ । बाँझो जमिन उपयोग गर्ने चलन बसेको छ । किसानहरुले कतैपनि बाँझो छाडेका छैनन् । हामीले कृषि उत्पादनसँगै वडालाई नै सुन्तला जोन, किवी जोन र चिया जोनका विकास गर्ने लक्ष्य राखेका छौं ।

भौगोलिक वनावटका कारण कतिपय समस्या भएपनि सुन्तला र किवीको उत्पादनमा अगाडि बढीसकेको अवस्था छ भने चिया खेतीको बिस्तारमा पनि काम भएको छ । यो काम देखावटी मात्र होइन, आम नागरिकले अनुभव पाउने खालको हो । त्यसका लागि चिया ब्राण्ड बनाएर देशविदेश पठाउने योजना त पुरानो भैसक्यो । यद्यपी यसमा लगानी बढाउने, क्षेत्र थप्ने काममा आएका प्राविधिक समस्या हटाउन पहल भएको छ ।

झण्डै दशवर्षे कार्यकाल वडा अध्यक्षको रुपमा सम्पन्न गरेर बाहिर जाने क्रममा वडाबासीले स्विकार्ने वातावरण बनेको छ । किनकी अबका दिनमा जो प्रतिनिधि आएपनि गरिने विकासको जग थापिएको छ । यो जगमा बसेर धेरै काम अगाडि बढाउन सकिन्छ भन्ने मान्यता र सोच बनेको छ । यो काम गरेर वडा अध्यक्षको रुपमा रहँदा समृद्द पालिका र वडा बनाउने प्रयासमा इटा थपेको अनुभव भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->