बागलुङ/तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको आयोजक आदर्श विद्या मन्दिर आवासीय मावि ‘एभिएम’ले जितेको छ । आइतबार बाङेचौर खेल मैदानमा सम्पन्न फाइनल खेलमा न्यु ओयसिसलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
आदर्श विद्यामन्दिर खेलकुद क्लब ‘एभीएम’ बागलुङको आयोजना र आदर्श विद्यामन्दिर माविको सहयोगमा सम्पन्न प्रतियोगितामा आयोजक एभिएमले न्यु ओयसिस एकेडेमीलाई ०–१ गोलले निराश पार्दे उपाधि जितेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एभिएमका समिर शाही ठकुरीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । विजेता टोली एभिएमले नगद ७५ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र गरेको छ भने उपविजेतामा चित्त बुझाएको न्यु ओयसिसले नगद ३७ हजार ५ सय प्राप्त गरेको छ ।

यस्तै, आदर्श कप फुटबल प्रतियोगिताको महिला तर्फको उपाधि भने धौलागिरि बोर्डिङ स्कुलले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा न्यु ओयसिस एकेडेमीमाथि ०–५ गोलको वर्षा गर्दै धौलागिरि बोर्डिङले उपाधि जितेको हो ।
विजेता टोली धौलागिरिले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको न्यु ओयसीसले नगद २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिता संयोजक कमल रेग्मीले जानकारी दिए ।





