काठमाडौं / बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनलाई सपथग्रहण गराउने कार्यक्रम तय भएको छ । आज दिउसो ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
यसअघि सम्पत्ति लगायतका विषयमा विवादमा तानिएपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो।
रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका थिए। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी जम्मा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो।
छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो । गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो। समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्याएको छ। प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिदिएको छ।





