शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आधारभूत आवश्यकता नै पहिलो समृद्दिको खुट्किलो

आधारभूत आवश्यकता नै पहिलो समृद्दिको खुट्किलो

सामाजिक विकासमा पनि भीमापोखराले धेरै सफलता पाएको छ । तर, विकासका लहर गाउँमा पुग्दा स्थानीयमा भने गाउँ छाड्ने लहर बढीरहेको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८३, शनिबार

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा बौद्दिक जमातको बस्ती भएको ठाउँ हो । यहाँका अधिकांस  व्यक्तित्वले सदरमुकाम बागलुङ बजारदेखि पोखरा र राजधानी काठमाडौंसम्मका बजारमा प्रभुत्व राख्छन् । उनीहरुको महत्वले जे–जति चर्चा पाएको छ, उनीहरुकै जन्मस्थान रहेको भीमापोखरा विकासमा सोचेझैं अगाडि बढ्न सकेको छैन । तर, दशक अघिको यहाँको अवस्थामा अहिले भने ठूलो परिवर्तन भएको छ ।

पुर्वाधारको विकास, आर्थिक, सामाजिक विकासका सूचकमा परिवर्तन तथा सुधार उल्लेख्य भएको छ । सामाजिक विकासमा पनि यो स्थानले धेरै सफलता पाएको छ । विकासका लहर गाउँमा पुग्दा स्थानीयमा भने गाउँ छाड्ने लहर बढीरहेको छ ।

काठेखोला गाउँपालिका वडा नं. २ ले यो समस्या झेलिरहेको छ । वडामा आएको विकास बजेट मात्र होइन, संघिय र प्रदेश तहको बजेट भित्राएर समृद्व काठेखोला निर्माणमा काम गरिरहेको छ । वडा अध्यक्ष विद्यापति शर्माले आफ्नो क्षमता र आन्तरिक श्रोतले भ्याएसम्म काम गरिरहेको बताएका छन् । चालु आर्थिक वर्ष प्रदेश सरकारबाट १ करोड २४ लाख र संघिय सरकारबाट ४ करोड ९४ लाख रुपैयाँ भित्राएर पुर्वाधार तर्फका सडक, खानेपानी र सिंचाइ जस्ता योजना निर्मण भएका छन् ।

यो कार्यले वडाभित्र वर्षेनी करोडौंका योजनाहरु सम्पन्न भैरहेका छन् । आम नागरिकले सडकलाई नै पहिलो विकासको आधार मान्ने गरेका छन् । जसक कारण आम नागरिकको मापन पनि सडक नै हुने गरेको शर्मा बताउँछन् । यो वर्ष दपसा खानेपानी आयोजना २ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको छ । नालढुंगा खानेपानी आयोजना पनि २ लाख ५० हजार रुपैयाँकै लागतमा निर्माण भएको हो ।

निरपाटा–नागेधारा पदमार्ग निर्माणमा २ लाख ५० हजार लगानी भएको छ । बायलाखुरी घुँदीखोला मोटरबाटो निर्माणमा २ लाख ५० हजार, बायलाखुरी ढाडाघर अधेरीखोला सडकका लागि ३ लाख २९ हजार, तल्लो भुँदीखोलादेखि माथिल्लो भुँदीखोला हरिको घर सडक निर्माणमा पनि ३ लाख २९ हजार लगानी भएको छ । डुडिया कुथुर्के सलाम पदमार्ग निर्माण गर्न १ लाख ४० हजार रुपैयाँ खर्च गर्दा यात्रा सहज बनेको छ ।

त्यतिमात्र होइन, सलाम खाप सडक मर्मत तथा पदमार्ग निर्माणमा २ लाख ५० हजार लगानी भएको छ । ७ लाख ५० हजार खर्चेर कुलाको पाखादेखि काउले जाने सिंचाइ कुलो मर्मत गर्दा स्थानीय किसानले खेती लगाउन सहज महसुस गरेका छन् । काठेखोला गाउँपालिकाको नविनतम प्रयोगको रुपमा जुन वडाले जति राजश्व संकलन गरेको छ । सोही आधारमा त्यतिनै अनुदान दिने नीति बनाएको छ । जस अनुसार काठेखोला–२ ले एक वर्षमा ६ लाख ३९ हजार राजश्व संकलन गर्दा गाउँपालिकाले पनि त्यतिनै लगानी गरेर १२ लाख ७८ हजार रुपैयाँको समपुरक कोषबाट भीमापोखरा स्वास्थ्य चौकीदेखि मुलठाना पदमार्गलाई ढलान गरिएको छ ।

५ लाख रुपैयाँको लगानीमा निरलपाटा गोरेटोबाटो तारबार गरिएको छ भने जनकल्याण माविको मञ्च व्यवस्थापन गरिएको छ । भीमा दरबार प्राविको भवन मर्मत गरिएको छ । ४ लाख लगानी गरेर सलामस्थित मनकामना मन्दिर निर्माण भएको छ । पुर्वाधारतर्फ गरिएको ४८ लाख १६ हजार रकमको पारदर्शीताका लागि वडा कार्यालयले आम नागरिकलाई भेलामार्फत समेत सबै खर्चको विवरण जानकारी दिएको हो । वडा अध्यक्ष विद्यापति शर्माले कार्यालय बाहेक व्यक्तिगत रुपमा डायरीमा समेत आर्थिक पारदर्शिता राखेर खर्चलाई आम नागरिकको सामु पु¥याउने काम गरेका छन् ।

विपत व्यवस्थापनलाई पनि वडाले उच्च प्राथमिकता दिएको छ । अपरझट आइपर्ने समस्या समाधानमा लगानी गर्ने, उद्दार लगायतको काम गर्न दक्ष प्राविधिकसँगको सहकार्य अगाडि बढाइएको छ । कृषि उद्यमलाई आधुनिकीकरण गर्ने काममा पनि लगानी छ । सोही कार्यअन्तर्गत बिलानीृ ओडारे सिंचाइ, अधेरैखोला भुतेदह धम्जाराखेत सिंचाइ तथा राक्से सिंचाइ पाइप खरिद जस्ता काममा ९ लाख लगानी भएको हो ।

सामाजिक विकासका कार्यमा पनि वडाले ११ लाख ५० हजार रुपैयाँ खर्चेर विभिन्न काम गरेको छ । यस्ता कामले आम नागरिक, लक्षित समुहलाई सहयोग मिलेको स्थानीय बताउँछन् । वडागत संस्कार संसकृति जोगाउने काममा २ लाख, खेल मैदानमा १ लाख, स्वास्थ्य चौकी व्यवस्थापनमा १ लाख र शिवालय आधारभूत विद्यालय मर्मतमा २ लाख ५० हजार सो शिर्षकबाट खर्च गरिएको हो ।

यहाँको विकासमा गण्डकी प्रदेश सरकारको पनि लगानी छ । सलाम काप्रेदेखि बायलाखुरी अँधेरी खोला सडक निर्माणमा २५ लाख लगानी गरि सडकलाई बाह्रै महिना संचालन गरिने अवस्थामा लगिएको छ । अक्षेते बजारमा तटबन्धन गरी भू–क्षय रोक्ने काम भएको छ । त्यस बाहेक ३५ लाख रुपैयाँको लागतमा डुडियाघाट मोटरेबल पुल निर्माण गरिएको छ भने डुडिया लामाबगर सिंचाइ कुलो बनाउन ५ लाख लगानी भएको छ । पर्यटकीय क्षेत्र डोहोरीमा डोहोरीदेखि दाह्रे गौंडा कान्छो धौलागिरि पदमार्ग निर्माण भएको छ । ५ लाखमा यो पदमार्गले उक्त स्थानमा जान सहज वातावरण बनाएको स्थानीय प्रेम केसीले बताए ।

‘एक घर एक धारा’ अभियानमार्फत यो वडा लगभग सबै काम सम्पन्न गर्ने अवस्थामा पुगेको छ । चालु वर्ष ४४ लाख खर्चेर विशेषगरी क्रमागत कार्यक्रमअन्तर्गत हरेक घरमा पानी लैजाने काम गरिएको छ । अहिलेसम्म दपासाको दलीत बस्तीका सबै घरमा पानीका धारा जडान भैसकेका छन् । त्यस बाहेक निरलपाटा, नाकेधारा, कुथुर्के, डहरे, सिममा समेत ‘एक घर एक धारा’को काम भएको छ । बाँकी टोलहरुमा पनि चालु वर्ष र आगामी वर्षका योजनामार्फत काम पुरा गर्ने लक्ष्य राखेको शर्माले सुनाए ।

भीमापोखराको स्वास्थ्य चौकी निकै पुरानो भवनमा साँघुरो गरी चलेको थियो । जसका कारण बिरामीको स्वास्थ्य परीक्षण, गर्भवती जाँच, सुत्केरी कक्षलगायतको समस्या थियो । हाल स्वास्थ्य चौकीको आधुनिक भवन बनेको छ । यो भवनमा सडकको सहज पहुँच अभावलाई वडाको समन्वयमा समाधान गरिएको छ । स्वास्थ्य चौकीको मैदानमा एम्बुलेन्स लैजान सकिने गरी काम भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको तालिम र क्षमता विकासबाट मात्र महिलाहरुको स्वास्थ्यको उचित परीक्षण, उपचार र गुणस्तरीय स्वास्थ्यमा सुधार ल्याउन सकिने भएकोले उनीहरुको तालिममा वडाले लगानी गरेको अध्यक्ष शर्मा बताउँछन् । उनका अनुसार, स्वास्थ्य चौकी भित्रको व्यवस्थापनअन्तर्गत फर्निचर, स्वास्थ्यकर्मीको आवास व्यवस्थापन र सामाग्री खरिदमा वडाले लगानी गरेको छ । अहिले यहाँ गुणस्तरीय सेवा सञ्चालनमा छ । बिरामीले सहज सेवाको महसुस गर्न पाएका छन् ।

संघिय सरकारको ३ करोड लगानीमा अक्षेतेदेखि मुलठाना हुँदै सिम जाने सडकलाई चाक्लो पारिएको छ । अप्ठ्यारा घुम्तीहरुमा ढलान गरिएको छ । जसका कारण जिप खोजेर तत्काल सदरमुकामसम्म जान तथा बिरामीलाई छिटो अस्पताल पठाउन पनि सहज भएको छ । वडादेखि राजमार्ग जोड्ने सडक सहज भएपछि गाउँका स्वास्थ्य चौकी र अन्य सेवाप्रदायक संस्थालाई पनि सेवा प्रवाहमा सहज भएको हो । हिजोका दिनमा जिप धकेलेर हिलैहिलो भएर घर पुग्ने स्थानीय अहिले सहजै पुग्न पाएर खुसी छन् ।

शिक्षातर्फ गुणस्तर विकासमा वडाले विशेष चासो राखेको छ । मावि र आधारभूत तहका विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण भएका छन् । सबै विद्यालयमा छात्रछात्राका शौचालय र खानेपानीको व्यवस्थापन गरी स्वच्छ शैक्षिक वातावरण समेत निर्माण गरिएको छ । सबै विद्यालयमा फर्निचरको व्यवस्थापन, शिक्षकलार्य शिक्षण सिकाई र क्षमता विकासका तालिम सञ्चालन भएका छन् । सबै विद्यालयमा गरी ३५ वटा ल्यापटप खरिद गरेर दिइएको छ । जसका कारण शिक्षकले घरमा पाठ्य सामाग्री बनाएर विद्यालयमा ल्याइ सिकाउने काम गर्न सफल भएका छन् । नर्सरी कक्षा व्यवस्थापन गरेर साना बालबालिकालाई रमाएर विद्यालय जाने वातावरण बनाइएको छ । यो वातावरणले विद्यालयप्रति जनविश्वास बढेको छ । आर्थिक रुपमा सक्षम अभिभावकले नीजि विद्यालय खोज्ने र सामान्य अभिभावकले छोराछोरी पढाउने स्थानमा गुणस्तर छैन भन्ने मान्यता परिवर्तन भइ सबैलाई समान रुपमा हेर्ने वातावरण बनेको छ भने साना विद्यार्थीलाई अक्षर लेखन तालिम र शिक्षकलाई नर्सरी कक्षा अध्यापन विधि सिकाईएको छ ।

पर्यटकीय रुपमा भीमापोखरा महत्वपुर्ण क्षेत्र हो । भीमादरबारको इतिहास र ऐतिहासिक महत्व धेरै छ । यो क्षेत्रको पुरातात्विक महत्व बढाउन सोही क्षेत्रका विशेषज्ञहरु ल्याएर यो क्षेत्रको उत्खनन् गर्ने तथा पुरातात्विक महत्व नबिगार पुननिर्माण गरेर पर्यटन क्षेत्र बनाउने गरी वडाले डिपिआरका लागि संघिय सरकारलाई अनुरोध गरेको छ । यो अनुरोध अनुसारको काम गर्नका लागि सानो लगानीमा भीमापोखराको जिर्णोद्दार नगरी संरक्षण तथा तारबार मात्रै गरिएको छ । कोटमन्दिर भने जिर्णोद्दार गरेर आर्कषक बनाइएको छ ।

यता धम्जाको बेलढुंगादेखि थाप्ले, संसारकोट, पञ्चकोटतर्फ ‘साइकल वे’ निर्माण गरेर पर्यटक आर्कषण गर्ने लक्ष्य छ । यो अभियान पुरा भएमा हाल बागलुङ कालीका घुम्न आउने पर्यटकलाई पञ्चकोटदेखि साइकल यात्रा गरेर बेलढुंगासम्म जाने वातावरण सिर्जना गर्न सजिलो हुनेछ । यो कामलाई कान्छो धौलागिरिको पर्यटन प्रवद्र्धनमा जोड्ने लक्ष्य छ ।

कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य पनि राखिएको छ । यो अभियान स्वरुप मिनिटिलर हलो वितरण, टनेल निर्माण गरेर तरकारी उत्पादन गरेर बजारीकरण गर्ने लक्ष्य अनुसारका क्रियाकलाप सञ्चालित छन् । बागलुङ दुग्ध उत्पादक सहकारी संस्थालाई आवस्यक पर्ने दूधको महत्वपूर्ण हिस्सा भिमापोखराले ओगटेको छ । दैनिक ५ सय लीटर दूध बजार पठाउने यहाँको गाइफर्मले कृषि बजारीकरणमा उल्लेख्य भूमिका खेलेको छ । तर सानो लगानीले केही नहुने भएकोले यो फर्मलाई कम्तिमा प्रदेश स्तरीय बनाउने योजना पनि छ ।

गैरसरकारी संस्थाका कारण भीमापोखरालाई कृषि क्षेत्रमा अग्रणी बनाउने प्रयास पनि भैरहेको छ । भीमापोखरा युवा क्लब (बिवाईसी) र हेफर परियोजनामार्फत कृषि तथा पशु आधुनिकीकरण कार्यक्रममार्फत महिला समूह गठन, बाख्रा र तरकारीको बीउ वितरण तथा विस्तार कार्यक्रम सञ्चालनमा छ । बिवाईसीको विज्ञता अनुसार नै यहाँ चालु वर्ष मात्रै तीनवटा झोलुंगे पुल बनेका छन् ।

किसानको सीपलाई घरेलु उद्योगमा जोड्न प्रयास भएको छ । परम्परागत सीपको रुपमा रहेका आरन, कपडा सिलाउने मेसिन जस्ता सीपलाई आधुनिकीकरण गर्ने, सिकर्मी र डकर्मीलाई तालिम दिएर बजार क्षेत्रका घर निर्माणमा जान सक्ने बनाउने, बाजा बजाउनेलाई तालिम दिने काम भएको छ । त्यसबाट केही कमाइका काममा उनीहरु जोडिन थालेका छन् । तर मगर युवाले ल्याएका बाजाको प्रतिस्पर्धामा दर्जीहरुको बाजाको बजार भने कम भएको छ ।

यो क्षेत्रलाई बढाउन वडाले पहल थालेको छ । सडक आएपछि युवाले गाडी सिकेर चलाउन थालेको, किसानले कृषि उत्पादन बजार पठाएको र सिंचाइको उपयोग गरेर तरकारी उत्पादन गरी बजार पठाउने कामलाई भने सफलताको रुपमा उनले लिएको बताए ।

भीमापोखराको ठूलो फाँटमा सडक र एकदुइ वटा शौचालय बनाउने काम भविष्यको चाहनाको रुपमा वडा अध्यक्ष शर्माले बताए । ‘हामीले जंगलसम्म सडक सञ्जाल जोडेका छौं, त्यो उपयोगविहिन जस्तै छ’ उनले भने, ‘बरु खेतमा सडकले जोड्न सकेको भए किसानले ढुवानीमा सहज महसुस गर्थे ।’ ठूलो फाँटमा शौचालयको अभाव भएको गुनासो सम्बोधन गर्नुपर्ने भएको उनले बताए । समृद्द काठेखोला निर्माणमा वडा अध्यक्षको रुपमा ९ वर्षसम्म बिताएका शर्माले नागरिकका स–साना सूचक र मागलाई सम्बोधन गर्दैमा दिन बितेको बताए । तर पनि उनले आधारभूत आवस्यकता पुरा गरेर जनताको जीवनस्तरमा सुधार आएको विषय समृद्विको पहिलो खुट्किलो भएको बताए ।

‘गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा हाम्रो लक्ष्य’
विद्यापति शर्मा
वडा अध्यक्ष
काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरा

हामीले स्थानीय सरकार गठन भएपछि वडाको अत्यावस्यक सेवालाई वडाबाटै सञ्चालन गर्न सकिने, सानो बजेटका लागि जिल्ला धाउन नपर्ने सोच राखेका थियौं । सोही अनुसार काम पनि गर्न थालेका छौं । तर आम नागरिकमा स–साना आवस्यकतामा मात्र चित्त बुझाएर बस्न सक्दैनन् । हामीले गाउँमा विकासका लहर ल्याइरहेका छौं । तर, नागरिकहरु सदरमुकाम र सहरी क्षेत्रमा प्रवेश गरिरहेका छन् । उनीहरुले विकासका अन्य धेरै अवसरको खोजी गर्दैछन् ।

विशेषगरी बौद्विक व्यक्तित्वहरु गाउँका धेरै छन् । उनीहरुले बजारमा बसेपनि गाउँमा लगानी गर्ने वातावरण खोजी रहेका छन् । केहीले अक्षयकोषमार्फत विद्यालयमा लगानी गरेका छन् भने कतिपयले गैरसरकारी संस्थामार्फत विकास, सुशासन र स्वास्थ्यका कार्यक्रम ल्याएका छन् । हामीले ती योजनालाई पालिका र वडाको योजनामा समावेश गर्नुपर्ने आवस्यकता छ । विकास र आधुनिक प्रविधिलाई उपयोग गर्न जानियो भने धनी बन्ने हो ।

दुरीका कारण सदरमुकामदेखि नजिकै भएपनि भौगोलिक कारणले हामी अप्ठ्यारो भूगोलमा छौं । त्यतिमात्र होइन हिजो इन्जिनियर बिना खाका कोरिएका सडकलाई स्तरीय बनाउने, हरेक टोलमा पदमार्गमार्फत जोड्ने, घाँस दाउरा गर्दा स्थानीयले हैरानी खेप्न नपरोस् भनेर गोरेटालाई पदमार्गको रुपमा बिकास गर्ने काम हामीले गरेका छौं । त्यसले वनजंगल, घाँस दाउरा गर्ने किसानलाई त सहज भएको छ । तर आधुनिक विकास र कालोपत्र सडकलाई विकासको रुपमा लिने सोचमा भने परिवर्तन गर्न सकिएको छैन ।

गाउँमा बसेको नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने मान्यता बनाउन सकेका छन् । ती विद्यालयमा दक्ष शिक्षक र शैक्षिक वातावरण बनाउन सकिएको छ । वर्थिङ सेन्टरमार्फत गर्भवती र प्रसूति सेवाका महिलाले गुणस्तरीय सेवा पाएका छन् भने वडामा पालिकाभित्रको मात्र नभइ त्योभन्दा चारपाँच गुणा बढी रकम ल्याएर ठूला गौरवका आयोजना संचालन गर्न सफल भएका छौं ।

सहकारीमार्फत सामान्य किसानलाई उद्यमी बनाउन लगानीको वातावरण बन्न थालेको छ भने मध्यपहाडी लोकमार्गको पहुँच सडक बनाएर विकासको मुल प्रवाहमा जोड्ने काम भएको छ । समृद्द पालिका निर्माणमा हामीले ठूलो सपना देखेरभन्दा भएका कामको गुणस्तरमा ध्याद दिनुपर्छ । पहाडी बस्ती, किसान र मजदुरहरुको जीवनस्तरलाई आर्थिक विकासका कार्यक्रममा जोड्ने हाम्रो चुनौती छ । त्यसमा सबैको चासो र चिन्ता गर्न सकियो भने विकासका लहर ल्याउन धेरै समय लाग्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->