बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकीको गडगडिघाटमा १० वर्षमा पनि बनेन पक्की पुल

कालीगण्डकीको गडगडिघाटमा १० वर्षमा पनि बनेन पक्की पुल

२६ करोड ८२ लाख भन्दा बढी लागतमा बन्न लागेको पुल ठेकेदार कम्पनीहरु लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले अहिलेसम्म निर्माण नगरेका हुन् ।


  • नारायण शर्मा
  • जेष्ठ ३१ २०८३, आइतबार

नवलपुर/ पूर्वी नवलपरासीको उत्तरी पहाडी भेग र तनहँुको सिमानामा रहेको कालीगण्डकी नदीमा पक्की पुल निर्माण थालेको १० वर्षसम्म काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्न कारबाही पक्रिया अघि बढाइएको छ ।  ठेकेदार कम्पनीले काम थालेको १० वर्षको अबधिमा ६ पटक म्याद थपिसम्दा पनि गढगडि घाट पुलकोे कार्यप्रगति ६० प्रतिशत् मात्र रहेको छ ।

यो पुल हेर्ने कार्यालय पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले छैटौं पटक थपिएको म्याद समेत सकिएको जानकारी दिए । ‘म्याद थप्दा थप्दा हैरान भइसकियो, ठेकेदारले काम गर्दै गर्दैन्’, उनले भने, ‘ठेकेदार कम्पनीहरु लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीलाइ कालोसूचिमा राख्न प्रकृया अघि बढाइएको छ । उनिहरुले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए ।

बुलिङ्टार गाउँपालिका र तनहुको रिसिङ गाउँपालिकाको बिचमा रहेको कालीगण्डकी नदीमा पुल निर्माणका लागि २०७३ असार २९ गते सम्झौता भएको थियो ।  २६ करोड ८२ लाख ८६ हजारको लागतमा ठेकेदार कम्पनीहरु लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए ।

ठेकेदार कम्पनीले काम नसक्दै १३ करोडभन्दा बढि रुकम भुक्तानी लगिसकेको इन्जिनियर सुवेदीले टेलिफोनमा सुनाए । ‘हालसम्म भौतिक प्रगती ६० प्रतिशत र वित्तिय प्रगती ५१ प्रतिशत भएको छ, १३ करोड भुक्तानी लगिसकेको छ,’ सुवेदीले भने, ‘जति पत्राचार गरेपनि काम गर्दै गर्दैनन् ।’ पुल निर्मँणको जिम्मेवारी लिएका संयुक्त तीन वटै ठेकेदार कम्पनीले समयमा काम नगर्दा काममा ढिलाइ भएको हो । पटक–पटक म्याद थपिने गरेको भए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ ।

काम थालेको १० वर्षमा पुलका ४ वटा पिल्लर मात्र ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा ५ स्पान रहने गरि पुलको नक्सांकन गरिएको छ । यो गडगडिघाट पुल निर्माण सम्पन्न गर्न अझै कम्तिमा एक वर्ष म्याद थप्न ठेकेदारहरुले लविइङ गरेका छन् । ‘हामी पटक–पटक म्याद थप्दा दिक्क भइसकेका छौं, अव म्याद थप्ने होइन, काम नगरेको भनेर कालो सूचिमा राख्ने छौ, ’ इन्जिनियर सुवेदीले भने, ‘नेपालमा यस्ता ठेकेदार कम्पनी पनि छन भन्ने उदाहरण यहाँ छ ।’ स्थानीय सूर्य कंडेलले ठेकेदार कम्पनीले एक वर्षमा एक महिना मात्र मुस्कीलले साइटमा देखा पर्ने र काम नगर्ने गरेको सुनाए । यस्मा नेपाल सरकारको पुल हेर्न कार्यालयको चरम लापरबाही रहेको उनको भनाई छ । काम नगर्ने ठेकेदारलाइ कालो सूचिमा राखेर निस्कासन गर्न आबस्ष्क रहेको उनले बताए ।
गैडाकोट हुदै डेंढगाउ रामपुर जोडने कालीगण्डकी सडकको कोखे स्थित गडगडिघाट भन्ने स्थानमा यो पुल बन्न लागेको हो ।

महेन्द्र राजमार्गको कावासोती र दल्दले हुदै तनहुँ र पोखरा जाने सडकमा यो पुल पर्छ । पुल निर्माण स्थलमा यो नदीलाई गण्डकी नदी भनिन्छ । त्यहि नदी तल नारायणगढ तर्फ आएपछि नारायणी नदीको नामले चिनिन्छ ।

तिनवटा संयुक्त ठेकेदार कम्पनीले कामको जिम्मा लिएपनि सम्पन्न नगरेका कारण उनिरुलाई कालोसुचीमा राख्न एक साता अघि ठेकेदारलाई स्पष्टिकरण सोधिएको इन्जिजियर सुबेदीले जानकारी दिए ।

पटक पटक लिखित ताकेता गर्दापनि काम सम्पन्न नगरेका कारण कारबाही अघि बढाउन स्पस्टिकरण सोधिएको उनले जानकारी दिए । ‘ठेकेदारलाई किन काम नगरेको भनेर स्पष्टिकरण सोधेको एक हप्ता भयो, अब कालोसूचिको प्रकृया अघि बढ्छ,’ सुबेदीले भने । हालकै ठेकेदार कम्पनीले काम सम्पन्न गरेको अबस्थामा पुल निर्माणको शुरु लागत रकम भने बृद्धि नहुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->