शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

अर्जुनचौपारीमा चालक तथा सहचालकलाई १० लाख रुपैयाँको दुर्घटना बिमा

अर्जुनचौपारीमा चालक तथा सहचालकलाई १० लाख रुपैयाँको दुर्घटना बिमा

सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बिमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।


  • ढाेरपाटन संवाददाता
  • असार ३ २०८३, बुधबार

स्याङ्जा / अर्जुनचौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका जिप, टेम्पो, ट्याक्टर, बस तथा टिप्परमा कार्यरत चालक र सहचालकलाई बिमाको सुविधा उपलब्ध गराउन लागेको हो ।

गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बिमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले इच्छुक चालक तथा सहचालकलाई सात दिनभित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित श्रेणीको सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण खुलेको ब्लुबुकको प्रतिलिपि तथा सहचालकको हकमा सवारी धनी वा व्यवसायी समितिको सिफारिस पत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । तोकिएको म्याद नाघेर प्राप्त हुने निवेदनमाथि कुनै कामकारबाही नहुने जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले दैनिक रूपमा जोखिमपूर्ण परिस्थितिमा काम गर्ने चालक तथा सहचालकको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए । उनले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न बिमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाभित्र नियमित रूपमा सवारी सञ्चालन गर्ने चालक तथा सहचालकहरू दुर्घटनाको जोखिममा रहने भएकाले उनीहरूको सुरक्षाका लागि यो कार्यक्रम सञ्चालन गरेको बताउदै अर्यालले सम्बन्धित सबैले समयमै आवेदन दिएर कार्यक्रमको लाभ लिन सम्बन्धित सबैसंग आग्रह गरे । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले यातायात क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका श्रमिकको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बिमा कार्यक्रम ल्याएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->