रोनाल्डोको साथमा यस पटक ब्रुनो फर्नान्डेस, भिटिन्हा र जोआओ नेभेसजस्ता खेलाडीहरू करियरकै उत्कृष्ट लयमा छन् । त्यसैले टोलीलाई पहिलेझैँ केवल रोनाल्डोमाथि निर्भर रहनुपर्ने अवस्था छैन ।
पाेखरा / फिफा विश्वकप २०२६ अन्तरगत आज राती क्रिस्टियानो रोनाल्डोको टोलीले कंगो डिआरसंग पहिलो खेल खेल्दैछ । अमेरिकाको एनआरजी स्टेडिएममा नेपाली समय अनुसार १० बजेट ४५ मिनेटमा खेल हुँदैछ । ४१ वर्षिय भेट्रान खेलाडी रोनाल्डोको यो छैटौं विश्वकप यात्रा हो ।
रोनाल्डोको अन्तिम विश्वकप यात्रा रहेको चर्चा समेत चलिरहेको अवस्थामा फुटबल जगतसँग उनको बिदाइको संकेत देखिन थालेको छ ।
पाँच पटकको च्याम्पियन्स लिग विजेता । पाँच पटकका बालोन डी’ओर विजेता । चार फरक देशका घरेलु लिगमा सफलताको इतिहास । पोर्चुगलका लागि एक युरोपियन च्याम्पियनसिप र दुई नेसन्स लिग उपाधि दिलाएका रोनाल्डोले विश्वकपको ट्रफी भने चुम्न पाएका छैनन् ।
यदि उनले विश्वकप जित्न सकेनन् भने पनि सम्भवतः यो उनको अन्तिम प्रतिस्पर्धात्मक फुटबल यात्रा नहुन पनि सक्छ । महानताको खोजीमा निरन्तर लागिरहने रोनाल्डो करियरको एक हजार गोलको लक्ष्यबाट केवल २७ गोल टाढा छन् । यस्तो अवस्थामा त्यो ऐतिहासिक उपलब्धि हासिल नगरी उनले बुट थन्क्याउने सम्भावना कम देखिन्छ ।
रोनाल्डो र मेस्सी ६ पटक विश्वकप खेल्ने खेलाडी हुन । रोनाल्डोले जारी विश्वकपमा एक गोलमात्रै गरेको अवस्थामा लगातार ६ संस्करणसम्म गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्न सक्नेछन् । विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान अहिले मेस्सीको नाममा छ । उनले २६ खेल खेलेका छन् भने रोनाल्डोले २२ खेल खेलेका छन् ।

सन् २०१० र २०१४ मा पोर्चुगलको टोली खासै बलियो थिएन । तर यस्ता अवसरमा सुपरस्टार खेलाडीबाट असाधारण क्षणको अपेक्षा गरिन्छ ।
विश्वकपमा रोनाल्डोका त्यस्ता अविस्मरणीय क्षण कति छन् धेरैको स्मृतिमा दुई घटना मात्र आउँछन् । पहिलो, सन् २०१८ मा स्पेनविरुद्ध गरेको अविश्वसनीय ह्याट्रिक । दोस्रो, २००६ को क्वार्टरफाइनलमा वेन रुनी रातो कार्ड पाएपछि उनले गरेको चर्चित ‘विंक’ ।
पोर्चुगलमा भेट्रान रोनाल्डो संगै उच्च लयमा रहेका युवा खेलाडीहरु छन् । जसले पोर्चुगललाई यस पटक उपाधितर्फ बढाउने क्षमता पनि दिएको छ । रोनाल्डोको साथमा यस पटक ब्रुनो फर्नान्डेस, भिटिन्हा र जोआओ नेभेसजस्ता खेलाडीहरू करियरकै उत्कृष्ट लयमा छन् । त्यसैले टोलीलाई पहिलेझैँ केवल रोनाल्डोमाथि निर्भर रहनुपर्ने अवस्था छैन ।
भिटिन्हा : २४ वर्षे मिडफिल्डर भिटिन्हा अहिले निकै लयमा रहेका छन । पिएसजी (पेरिस सेन्ट जर्मन) बाट हालै च्याम्पियन्स लिग जितेका भिटिन्हा मैदानको बीचभागबाट खेल नियन्त्रण गर्न र उत्कृष्ट पास निकाल्न माहिर छन् ।
जोआओ नेभेस : उनी पोर्चुगलका सबैभन्दा प्रतिभावान युवा मिडफिल्डर हुन् । धेरै कम उमेरमै उनले आफ्नो उत्कृष्ट खेल शैली र परिपक्वताले विश्वका ठुला क्लबहरूको ध्यान तानेका छन् र टोलीका मुख्य खेलाडी बनिसकेका छन् ।
राफेल लियो : २६ वर्षे एसी मिलानका स्टार विङ्गर आफ्नो तीव्र गति र ड्रिब्लिङका लागि चिनिन्छन् । विपक्षी डिफेन्सलाई एक्लै ध्वस्त पार्न सक्ने क्षमता भएका लियो अहिले आफ्नो खेल जीवनकै उत्कृष्ट लयमा छन् ।
फ्रान्सिस्को कोन्सेइसाओ : हाल जुभेन्टसबाट खेलिरहेका कोन्सेइसाओ निकै ऊर्जावान् र आक्रामक विङ्गर हुन्। मैत्रीपूर्ण खेलहरूमा उनको प्रदर्शन उत्कृष्ट रहेको छ र उनलाई रोनाल्डोसँगै आक्रमणको मुख्य हतियार मानिएको छ।
फ्रान्सिस्को ट्रिन्काओ : स्पोर्टिङ सीपीलाई पोर्चुगाली लिग जिताउन उत्कृष्ट प्रदर्शन गरेका २६ वर्षे ट्रिन्काओ पनि निकै राम्रो लयमा रहँदै विश्वकप टोलीमा पर्न सफल भएका छन् ।
नुनो मेन्डिस : पीएसजीका यी लेफ्ट–ब्याक विश्वकै उत्कृष्ट र तीव्र गतिका डिफेन्डरमध्ये एक हुन् । डिफेन्ससँगै उनी आक्रामक रूपमा अगाडि बढेर गोलका अवसरहरू सिर्जना गर्न निकै खप्पिस खेलाडी हुन् ।
गोन्सालो इनासियो : सेन्टर–ब्याकको भूमिकामा देखिने इनासियो पोर्चुगलको डिफेन्सका भविष्य हुन् । हावामा बल क्लियर गर्न र बल पासिङमा उनी निकै बलिया छन् । स्पोर्टिङ सिपीबाट खेल्दै आएका उनी पनि लयमा छन् ।
डियोगो कोस्टा : पोर्चुगलका लागि पहिलो रोजाइका गोलरक्षक कोस्टा उमेरले युवा भए पनि टोलीका भरपर्दा खेलाडी हुन् । पेनाल्टी बचाउन र उत्कृष्ट ‘सट–स्टपिङ’ का लागि उनी प्रख्यात छन् । हाल उनी पोर्टोबाट खेल्दै आइरहेका छन् ।





