स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले १९ औँ गाउँसभाले संस्कारयुक्त मौलिक समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।
पालिकाका अध्यक्ष प्रकाश तिवारीबाट शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा परम्परागत ग्रामीण एकीकृत कृषि तथा पशुपालन प्रवद्र्धन, वैदिक संस्कृति र रैथाने ज्ञान संरक्षणलाई समेट्ेको छ ।
‘सर्वजन हिताय ः सर्वजन सुखाय’को सनातन मर्मलाई आत्मसात् गर्दै पालिकाका नीति, योजना तथा कार्यक्रमहरु सुसंस्कृत, जनहित, सुशासन, सामाजिक न्याय र दिगो समृद्धिलाई केन्द्र बिन्दुमा राखी तर्जुमा गरिएको छ भने कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
पहाडी भूगोल, मौजुदा जनशक्ति र परिस्थितिलाई नजरअन्दाज गरी ल्याइएको आधुनिकीकरण र व्यावसायीकरणको भ्रमपूर्ण मोडललाई विस्थापित गर्ने लक्ष्य पालिकाको रहेको छ । आधुनिकताका नाममा मानिसहरू श्रमविमुख भइ अनुत्पादक बस्ने र बजारको आयातित वस्तुमा निर्भर हुने प्रवृत्तिको अन्त्य गर्ने नीति पालिकाले लिएको छ ।
बिहान उठेर श्रम गर्ने, आफ्नो उपभोगका लागि आफै उत्पादन गर्ने रैथाने परम्परालाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ ।
सीप, श्रम र कर्मको सम्मान, समतामूलक समाजको आधार भन्ने मान्यतालाई आत्मसात् गर्दै श्रमप्रतिको विभेदपूर्ण सोच तथा जातीय कुप्रथाको अन्त्य, श्रम संस्कृतिको प्रवद्र्धन र बाँझो जमिनको उत्पादनशील उपयोगलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ ।
कृषि, पशुपालन, लघुउद्यम लगायत उत्पादनशील क्षेत्रमा सक्रिय परिवारलाई ५० युनिटसम्म विद्युत् महसुल छुट, जग्गाको उठ्तीमा सहुलियत, स्वास्थ्य बिमा तथा बीउपूँजी कार्यक्रममा विशेष प्राथमिकता तथा सहजीकरण लगायतका प्रोत्साहनात्मक सुविधाको व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, वित्तीय सुशासन जोखिम मूल्याङ्कन, जस्ता राष्ट्रिय मापदण्डहरूमा अभुतपूर्व उपलब्धि हासिल भएको बताउदै तिवारीले महिला सशक्तिकरणका क्षेत्रमा गाउँपालिकाले अघि सारेको ‘आमा समूह मोडेल’ अहिले देशकै उत्कृष्ट मोडेलका रूपमा स्थापित भएको र यसलाई नीति तथा कार्यक्रममा समेटनु भएको छ ।
पालिकाले गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र दिगो तथा सुरक्षित पूर्वाधारलाई नीति तथा कार्यक्रममा समेटेको छ भने धार्मिक, आरोग्य, शैक्षिक र खेल पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको नयाँ आधार तयार गर्ने भनिएको छ ।
स्थानीय स्तरमा आरन सञ्चालन गर्ने, जुत्ता सिउने, कपडा बुन्ने तथा काठ र ढुङ्गामा कलात्मक बुट्टा कुँद्ने जस्ता परम्परागत कालिगढहरूको सीप र दक्षतालाई सूचीकृत गरी ‘विश्वकर्मा श्रम बैंक स्थापना नीति पालिकाले ल्याएको छ ।
कालिगढहरूको सम्मान, संरक्षण र प्रोत्साहनका लागि वर्षमा एक पटक ‘शिल्प शिरोमणि’ उपाधिसहित विशेष सम्मान प्रदान यहाँ गरिने छ ।
विद्यालय स्तरमा एआई आधारित सिकाइ कार्यक्रमलाई निरन्तरता दिँदै प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने नीति तथा कार्यक्रमम समेटिएको छ भने शिक्षक क्षमता विकास, उत्प्रेरणा तथा विद्यालय शिक्षा सुधार अभियानलाई एकीकृत रूपमा अगाडि बढाइ शैक्षिक गुणस्तर अभिवृद्धि गरिनेछ ।
नागरिकलाई उपचारमुखी होइन, स्वास्थ्यमुखी जीवनशैलीतर्फ उन्मुख गर्दै नसर्ने रोगको रोकथाम, रैथाने जडीबुटीको संरक्षण, सात्विक खानपान, योग ध्यान तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
गाउँपालिकाभित्र निर्माण सम्पन्न भई सञ्चालनमा रहेका सार्वजनिक पूर्वाधारहरूको लगत तथा विवरणसहित व्यवस्थित अभिलेख राख्ने छ भनेवर्षको एक पटक पूर्वाधार अडिट गरी प्राप्त निष्कर्षका आधारमा आवश्यक मर्मत सम्भार तथा व्यवस्थापनका कार्यहरू प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति पालिकाले लिएको छ ।
आयुर्वेद शाखामार्फत् स्थानीय जडीबुटीमा आधारित औषधि उत्पादन कार्यक्रमलाई निरन्तरता दिँदै गुणस्तर अभिवृद्धि, व्यावसायिक ब्राण्डिङ तथा प्रभावकारी प्रवद्र्धनमार्फत राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने नीति पालिकाले लिएको छ भने साउण्ड हिलिङ सेन्टरको विकास र विस्तार गरी प्रदेश सरकारसँगको समन्वय तथा सहकार्यमा आरोग्य पर्यटनलाई संस्थागत रूप दिने छ ।
वडा नं. ५ थाप्लेमा रहेको १९ओ ७ एरिना क्रिकेट मैदानलाई हाइअल्टीटियुड स्पोट्र्स टुरिजम हब को रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा पालिकाले समेटेको छ भने निर्माणाधीन क्रिकेट मैदानको कार्य सम्पन्न गरी क्लब क्रिकेट प्रतियोगिता सञ्चालनको व्यवस्था मिलाइ अर्जुनचौपारीलाई खेलकुद गन्तव्यका रूपमा स्थापित लक्ष्य पालिकलो लिएको छ ।
स्थानीय तहले असार १० गते सम्म नीति तथा कार्यक्रम ल्याउने कानुनी ब्यवस्था रहेकोमा स्याङ्जाका तीन वटा पालिकाले शुक्रबार नीति तथा कार्यक्रम ल्याएका हुन् ।
११ पालिकामा अर्जुन चौपारी, आँधीखोला र कालीगण्डकीले नीति तथा कार्यक्रम ल्याउँदा बिरुवाले ७ गते, हरिनास र भीरकोटले ८ गते र फेदीखोला, पुतलीबजार, गल्याङ, चापाकोट तथा वालिङले १० गते नीति तथा कार्यक्रम ल्याउने छन् ।





