शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लोकमार्ग छेउमा कृषि र पशुपालनबाट समृद्धिको आशा

लोकमार्ग छेउमा कृषि र पशुपालनबाट समृद्धिको आशा

सुन्तला बारीकै कारण किसानलाई मौरीपालन तालिम दिने, मौरी घार ल्याउन सहजीकरण गर्ने र समग्रतामा मौरीबाटै आयआर्जनमा जोड्न पनि पहल भएको छ । साना किसान सहकारीले पनि वडाको विकासमा कृषिलाई नै जोड दिएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८३, शनिबार

बागलुङ/हिउँदमा सुन्तलाले पहेलपुर, वर्षातमा हरियाली छाउने काठेखोला गाउँपालिका वडा नं. ६ को बिहुँ सचेत नागरिकको बसोबास भएको स्थान पनि हो । यहाँका बासिन्दाहरु अधिकांस पढेलेखेका छन् । सरकारी जागिरे, धार्मिक क्षेत्रमा पनि सक्रिय र सामाजिक रुपमा पनि अग्रस्थानमा छन् । उनीहरुले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाएका छन् ।

सदरमुकामबाट नजिकै भएकोले अधिकांशको बसोबास बागलुङ बजारमा छ । तर पनि उनीहरुले आफ्नो गाउँ फर्केर कृषि, पशुपालन र अन्य क्षेत्रमा काम गरिरहेका छन् । काठेखोला–६ लाई सुन्तलाको गाउँले पनि चिनिन्छ । त्यसो त काठेखोला गाउँपालिकाको केन्द्र समेत यही वडामा छ । त्यसैले वडा कार्यालयको सेवाभन्दा छिटो स्थानीयले पालिकाको सेवा पाउने गरेका छन् । जसका कारण पालिकाको सुगम र नजिकको वडा भएकै कारण स्थानीयको आफ्नै प्रभाव पनि छ ।

काठेखोलाले आफ्नै भवन निर्माणका लागि पनि यो वडालाई नै रोजेको छ । उचित बजेट पाएको समयमा पालिकाले यहीं आफ्नो भवन बनाउने छ । त्यसैले स्थानीयहरु जुनसुकै बेला घर फर्कन सक्ने अवस्था छ । बजारीकरण, साना तथा मझौला उद्योग स्थापना र सहकारीमार्फत उत्पादन बढाउने काममा पनि यहाँका बासिन्दाले तयारी गरिरहेको देखिन्छ ।

पालिका नजिकै भएपनि यहाँ भौतिक विकासभन्दा कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यको विकास आवस्यक भएको देखिन्छ । वडा कार्यालयले पनि ती क्षेत्रमा विशेष चासो राखेर काम गरेको छ । लगानी पनि स्वास्थ्य र शिक्षामा गरेको देखिन्छ । यो वडाको भीमसेन मावि पालिकाभित्रकै उत्कृष्ट, पर्याप्त भौतिक संरचना भएको विद्यालय हो । सशष्त्र द्वन्द्वपछि को शान्ति प्रक्रियामा शान्ति तथा पुननिर्माण मन्त्रालयले यो विद्यालयलाई भौतिक रुपमा सु–सम्पन्न बनायो । यहाँका नागरिक राजनीतिक रुपमा पनि सचेत, केन्द्रीय तहसम्म पहुँच भएका छन् । त्यसैले उनीहरुले महत्वपुर्ण पुर्वाधारका योजनामा पहुँच विस्तार गरेका छन् ।

चालु वर्ष पनि वडाले स्वास्थ्य क्षेत्रमा विशेष लगानी गरेको छ । बिहुँकोट अस्पताल समेत यहाँ बनेको छ । ‘एक पालिका एक अस्पताल’ अन्र्तगतको कार्यक्रम नै यो वडामा सञ्चालित थियो । गतवर्ष तत्कालिन स्वास्थ्य मन्त्री प्रदिप पौडेलले आधारभूत पालिका अस्पतालको भवन उद्घाटन गरेका थिए । यो भवनमा पर्याप्त कक्ष छन् । संघिय सरकारको अनुदानमा बनेको यो भवनमा प्रसूति सेवा, ल्याब, फार्मेसी, ओपिडी लगायतको उपचार कक्ष छ । जसका कारण स्थानीयले सहजै उपचार सेवा पाइरहेका छन् ।

त्यस बाहेक भौगोलिक रुपमा केही ओझेल परेको तारखसेमा आधारभूत स्वास्थ्य सेवा समेत दिनेगरी खोप केन्द्र बनाएको छ । यो केन्द्र खोप लगाउने स्थान मात्र होइन, प्राथमिक उपचार गर्न सकिने, बहुउद्देश्यीय र सबैखाले सेवाका लागि उपयोगी छ । ‘हामीले पनि बहुउद्देश्य पुरा गर्नका लागि नै यो भवन बनाएका हौं’ वडा अध्यक्ष वृहस्पति शर्माले भने, ‘पालिकाले दुइ वर्षको लगानी गरेर २४ लाख रुपैयाँ लगानी गरेका छौं ।’ गत आर्थिक वर्ष १० लाख र चालु वर्ष १४ लाख रुपैयाँ यहाँ लगानी भएको हो ।

यो खोप केन्द्रमा सामुदायिक वन उपभोक्ता समिति, महिला स्वयंसेविका, स्थानीय अन्य समाजसेवाका समितिहरु, खानेपानी उपभोक्ता समिति लगायतको बैठक बस्ने, वडा भेला गर्ने जस्ता काम गर्न पनि सकिने गरी सभाहल बनेको छ । यहाँ सार्वजनिक शौचालय, खानेपानीको व्यवस्था पनि छ । वडाभित्रको आधुनिक भवनका कारण स्थानीयले सामाजिक काममा पनि धेरै राहत पाएका छन् ।

त्यसो त वडा कार्यालयले मध्यपहाडी लोकमार्गसँग जोड्ने विभिन्न लिंक रोड पनि बनाएको छ । लोकमार्गले नै वडाको अधिकांस स्थान चिरेको छ । जसका कारण आम नागरिकलाई यातायातको क्षेत्रमा धेरै सहज भएको छ । २०४८ पछि नै बिहुँमा सडक संजालको थालनी भएको थियो । त्यसलाई स्तरोन्नती गर्ने क्रमसँगै मध्यपहाडी लोकमार्गले पनि यो वडा चिरेको हो । शुरुवातमा त लोकमार्गको चौडाइ लिन खोज्दा धेरै किसानको खेतबारी जाने खतरा थियो । तर बाटो निर्माण गरेपनि राइट अफ वे मा पक्की संरचना मात्र नबनाउने प्रावधानले स्थानीयले खेतीपाती गर्न पाएका छन् ।

हरेक घरमा सयौं बोट सुन्तला लगाइन्छ । स्थानीयले सुन्तला बेचेरै बर्षमा लाखौं रुपैयाँ कमाउन सकेका छन् । किसानको हातहातमा पैसा आउने भएपछि सबै जना उत्साही पनि छन् । खेतबारी, पाखो पखेरो केही नभनी स्थानीयले सुन्तला खेती गरेका छन् । सुन्तलाका लागि उपयोगी स्थान भएकोले कतिपयले कु–काठजन्य रुख र झाडी फाँडेर सुन्तलामै लगानी बढाएको बताए ।

सुन्तलालाई सिधै व्यापारीमार्फत बजार पठाउने, गाउँघर र सडक छेउमा बसेर बिक्री गर्ने र केही सुन्तला कोल्ड स्टोरमा राखेर गर्मी मौषम आएपछि बजारमा ल्याउने काम पनि भैरहेको छ । यो प्रक्रियाले किसानको हातमा असोजदेखि चैतसम्म पैसा आउने गरेको छ ।

सुन्तलामा लाग्ने रोगकिरा नियन्त्रण, सुन्तला टिप्न प्रयोग गरिने सामाग्री तथा भ¥याङ जस्ता सामानमा वडाले खर्च गरिदिएको छ भने कृषि ज्ञान केन्द्र मार्फत पनि नियमित प्राविधिक ज्ञान तथा सल्लाह पाउने गरेको किसानले बताए । सुनतलालाई लामो समय सम्म टिक्ने, नियमित फल्ने बनाउन केन्द्रले प्राविधिक पाटोमा सहयोग गरिरहेको छ । यो क्षेत्र सुन्तला जोनमा सूचिकृत छ । त्यसैले संघिय सरकारको कार्यक्रममा जोडिने मौका पाएको छ ।

किसानहरुले यहाँ घरघरमा गाईभैंसी पनि पालेका छन् । सदरमुकाममा सिधैं दूध पठाउन सकिने भएकोले किसानहरु उत्साही छन् । उनीहरुले समयमा दूध उत्पादन गरेर बजार पठाउँछन् । सदरमुकामस्थित बागलुङ दुग्ध उत्पादक सहकारी संघ लि.ले उनीहरुको दूधको गुणस्तरको मात्रा अनुसार मूल्य दिएर दैनिक खरिद गरिदिएको छ । सहकारीमा आबद्द गराएर मात्र दूधको कारोवार गरिएकोले किसानले किसानलाई बोनस समेत दिएको छ ।

यो वडामा कृषि उत्पादनकै बढी संभावना छ । अदुवा खेतीमा किसानहरु सक्रिय छन् । सुन्तला र अदुवाको संयुक्त खेती गरिने भएकोले किसानहरु नगदेबालीबाट प्रत्यक्ष लाभ लिन सक्ने भएका छन् । कतिपय स्थानमा अलैची खेतीपनि गरिएको छ । यो खेतीले किसानको आयआर्जन क्षमता बढाएको छ । ‘आर्थिक समृद्विका लागि कृषि उत्पादन महत्वपुर्ण छ’ शर्माले भने, ‘त्यस बाहेक आफ्नै उत्पादनले खान पुग्ने गरी कमाइ गर्ने भएकोले किसानहरु सन्तुष्ट छन् ।’ तर यति राम्रो उत्पादन भएरपनि बसाइसराइको अवस्था उत्तिकै चुनौतीको छ । युवाहरु जपान र युरोप हानिएका छन् । अभिभावकहरु सदरमुकाम बस्ने भएकोले घरहरु रित्तै बन्दै गएका छन् । यो अवस्था रहिरहेको खण्डमा गाउँ बस्ती नै खण्डहर बन्ने खतरा छ । त्यसैले पालिका र वडाले सामुहिक खेती प्रणाली विकास गर्ने, जग्गाहरु प्लटिङ गर्ने काम गर्न जरुरी भएको स्थानीय कतिपयको भनाइ छ ।

भौतिक पुर्वाधार निर्माण तर्फ वडाले चालुवर्ष पनि दर्जनबढी योजना बनाएको छ । ती मध्ये अधिकांस सडककै छन् । टोलटोलमा सडक पुगेकोले किसानले उत्पादनलाई बजार पठाउन सकेका छन् । सुन्तला टिपेर राखेपछि गाडी घरमै पुग्छन् । लोकमार्ग जोड्नका लागि इनारपानीदेखि हटिया, पोखरा जाने सडक, सुल्डाँडादेखि किम्बोट धरमदास हुँदै ठूलोढुंगा जाने सडकलाई स्तरीय बनाइएको छ । धरमदासदेखि क्लसे जाने सडक पनि बनेको छ ।

भीरमुनीको गाउँमा पनि सडक लगिएको छ । यो सडकले दुध बिक्रीका लागि किसानलाई सहज बनेको छ । बयलडाँडा, भक्मारी भीरमुनी सडकले पनि किसानलाई सहजीकरण गरेको छ । सुन्तलाकै कारण आर्थिक विकास गर्न सकिने भन्ने सोचका कारण आर्थिक विकास समितिका लगानी र क्रियाकलाप पनि यहाँ केन्द्रीत छन् ।

सुन्तला बारीकै कारण किसानलाई मौरीपालन तालिम दिने, मौरी घार ल्याउन सहजीकरण गर्ने र समग्रतामा मौरीबाटै आयआर्जनमा जोड्न पनि पहल भएको छ । साना किसान सहकारीले पनि वडाको विकासमा कृषिलाई नै जोड दिएको छ ।

वडाभित्र सिंचाईको श्रोत नभएकाले अन्य वडाको भर पर्नुपरेको छ । यद्यपी परम्परागत रुपमा भएपनि किसानले सिंचाइ गरिरहेका छन् । केही स्थानमा भने धान खेतीका लागि वर्षामा मुलको व्यवस्था छ । तसर्थ वडाले ठूलो लगानी गरिरहेको छैन । अझै पनि सिंचाइको सुविधा बढाउन सकेको खण्डमा अदुवा, अलैंची जस्ता नगदेबालीको उत्पादन बढ्ने छ । त्यसका लागि वडाले संघ, प्रदेश लगायतका क्षेत्रमा पहल गरिरहेको छ ।

खानेपानीको हकमा भने वडाका सबै बस्तीमा ‘एक घर एक धारा’ अभियान चलाइएको छ । यद्यपी यो पुरा भैसकेको छैन । बिहुँकोट खानेपानी योजना राजाकै पालाको हो । गौश्वारा देखि ल्याएको पानी मर्मत गरी खाएका स्थानीयले ‘एक घर एक धारा’मा जाँदा घरघरमा पनि पानीको श्रोत संरक्षण गर्ने चलन बसालेका छन् ।

विशेषगरी सुन्तला र अलैंचीको उत्पादनलाई वडामा कोल्ड स्टार पनि छ । तर, यो कोल्ड स्टारमा केही समयदेखि प्राविधिक समस्या आएको छ । बेलाबेला विद्युत अबरुद्द हुने र अन्य कारणले कोल्ड स्टोरमा राखेको सुन्तला कुहिने खतरा बढेपछि किसान चिन्तित छन् । यसको प्राविधिक कारण बुझेर कृषि ज्ञान केन्द्रमार्फत उचित सल्लाहको माग गरिएको छ ।

वडाको विकासमा गैरसरकारी संस्थाले पनि साथ दिएका छन् । शिक्षा, स्वास्थ्य र पशुपालनको क्षेत्रमा गैससहरुको भूमिका उल्लेख्य छ । वडा भित्रका ५ वटै विद्यालयको भौतिक पुर्वाधार अत्याधिक राम्रो छ । तर विद्यार्थी अभावले प्रजातन्त्रोदय प्राविमा कक्षा स्थगन गरेर भीमसेन माविमा ल्याइएको छ । एक शिक्षक र एक कार्यालय सहयोगी पनि स्थानान्तरण भएका छन् । जन्मान्तर कम, बसाइ सराइ, पैसा कमाएपछि गाडी चढाएर निजी विद्यालयमा पठाउने चलन बढेको छ । यद्यपी सामुदायिक विद्यालयको भौतिक र गुणस्तरमा कमजोर बन्न नदिन सबैखाले पहल भएको वडा अध्यक्ष शर्माको भनाइ छ ।

वडालाई डिजिटल बनाउने अभियान पालिकाभरकै अभियान हो । जसअनुसार राजश्व संकलनमा उल्लेख्य सुधार पनि भएको छ । वडाको आफ्नै कोड नम्बर नभएको र बसाइ सरेका तथा बजारमा बस्नेहरुले अनलाइनमार्फत सेवा खोज्दा राजश्व संकलनमा असर परेको छ । काम गरिदिए पनि राजश्व उठाउन पालिकाले कोड नम्बर दिन सकेको छैन । वडा अनुसारको राजश्व संकलन गर्ने डिजिटल विधि भएमा सहज हुने थियो । गत वर्ष ७ लाख राजश्व संकलन भएकोमा यो वर्ष वडा सचिव सरुवा भइ लामो समय खाली रहँदा केही कम भएको छ । चालु वर्ष ६ लाख संकलन भएको उनले बताए ।

‘सुन्तला हाम्रो समृद्धिको आधार’
वडा अध्यक्ष
काठेखोला गाउँपालिका वडा नं. ६
हरेक वडाका आफ्ना आफ्नै विशेषता छन् । वडा नं. ६ सुन्तलाको विशेष क्षेत्र हो । हामीले समृद्विको आधार पनि सुन्तलाबाटै खोजेका छौं । हरेक किसानले घरघरमा लाखौं लाख रुपैयाँ भित्राउन सकेको खण्डमा समृद्दिको आधार आँफै तयार बन्छ । मध्यपहाडी लोकमार्ग स्तरीय बनेर सञ्चालन भएको खण्डमा किसानले घरबाटै राम्रो कमाइ गर्न सक्नेछन् । त्यसका लागि किसानहरु अझै उत्पादन बढाउने अभियानमा छन् ।

तर केही वर्षदेखि लोकमार्ग निर्माण अवरुद्व छ । ठेकेदारका कारण रोकिएको निर्माणलाई अगाडि बढाउन पहल भएपनि ठोस काम भएको छैन । सडक नबन्दा बरु आम नागरिकले धुलोको कारण स्वास्थ्य समस्या भोगेका छन् । सुन्तला धुलोले छोपिएको छ भने घाँस समेत नखाएर पशुचौपायालाई समस्या परेको छ । तर यो अवस्था अब धेरै समय नरहन सक्छ । लोकमार्ग सहज बन्दा कृषि फसलको बजारीकरणले वडाको समृद्दिको ढोका भने खोल्छ ।

पालिका र वडालाई नै सुशासनयुक्त बनाउन भने हामीले निरन्तर पहल गरेका छौं । कुनै पनि नागरिकले वडाबाट समस्या भोगेको, सेवा प्रवाहमा असर परेको, आर्थिक अनियमितता वा चलखेल भएको भन्ने गुनासो गर्न नदिइ काम गरिएको छ । पालिका रहेकै वडा भएकोले आम नागरिकले भौगोलिक रुपमा पनि सहजै सेवा पाएका छन् । समस्या भएमा पालिकामा सिधैं जान सक्ने भएकोले पनि सुशासन दिनैपर्छ । किनकी एउटा नागरिकले नागरिकताको सिफारिस लिन आएका खण्डमा हामीले दिने सामान्य सिफारिसलाई जिल्ला प्रशासन कार्यालयले भेरिफिकेसन गर्न चाहेमा अनलाईन विधिले सहयोग मिलेको छ । त्यसले दोहोरो पर्ने खतरा पनि टरेको छ भने जनताले पनि आफ्नो कागजातहरु डिजिटल रुपमा सुरक्षा गर्न पाएका छन् ।

अझैपनि हामीले हरेक क्षेत्रमा समस्यारहित सेवा दिन तयार छौं । वडा र पालिका केन्द्र आउने सडकहरु स्तरीय बनाइरहेका छौं । सेवा लिन आएका सेवाग्राहीले दैनिक काम र सेवामा मात्र नभइ सडक यातायातबारे पनि नकारात्मक टिप्पणी नगरुन् भन्ने चाहना राखेका छौं । त्यस बाहेक यहाँका मानिस धार्मिक आस्थामा बढी भएकोले बिहुँकोट लगायतका स्थानलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पहल भएको छ । त्यसका लागि पदमार्ग निर्माण गरिएको छ । नागरिकको अधिकतम् सन्तुष्टीलाई सुशासनको आधार मानिएको छ भने वडाको सर्वाङिगण विकासलाई पनि समानान्तर रुपमा लिइएको छ । तरपनि अझै केह् िसमस्या र चुनौती छन् । वडाको बजेट कम, उपभोक्ताहरु पाउने समस्या लगायतले कतिपय सेवालाई चुस्त बनाउन नसकेको, उपभोक्ता समितिमार्फत गर्ने कामहरु प्रभावित भएको भने अवस्था छ । तर सानो बजेटले धेरै उपलब्धी ल्याउने र विवादरहित काम गर्ने विषयमा हामीले अधिकतम पहल गरेका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->