पोखरा / फिफा विश्वकप २०२६ मा चोटका कारण २ खेल गुमाएका ब्राजिलका फरवार्ड नेयमार टोलीमा फर्कने संकेत देखिएको छ ।
ब्राजिल २ खेलमा नेयमार विना नै मैदानमा उत्रिएको थियो । पहिलो खेलमो मोरक्कोसंग १–१ गोलबो बराबरी खेल्दै अंका बाडेको ब्राजिलले दोस्रो खेलमा हाइटीलाई ३–० ले हराएको छ । ब्राजिलको जितमा माथिउस कुन्हाले दुई गोल गरे भने विनिसियस जुनियरले एक गोल थपे ।
चोटका कारण पहिलो र दोस्रो खेल गुमाएका नेयमार आगामी बुधबार स्कटल्याण्डविरुद्ध हुने खेलमा मैदान उत्रने सम्भावना बलियो बनेको छ । मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारको रिकभरीबारे जानकारी दिँदै भने, ‘नेयमारले शनिबार व्यक्तिगत रूपमा अभ्यास गर्नेछन् । सोमबारदेखि उनी टोलीसँगै हुनेछन् र स्कटल्याण्डविरुद्धको खेलका लागि पूर्ण रूपमा तयार रहनेछन् ।’

उता ब्राजिलकै मुख्य खेलाडी फरवार्ड राफिन्हा घाइते भएका छन् । राफिन्हाको चोट भने चिन्ताको विषय बनेको छ । हाइटीविरुद्धको खेलको ४० औँ मिनेटमा ह्यामस्ट्रिङको समस्याका कारण उनी मैदानबाट बाहिरिएका थिए ।
उनको स्थानमा बर्नमाउथका १९ वर्षीय विङ्गर रायन मैदान छिरेका थिए । राफिन्हाको चोटको अवस्था कति गम्भीर छ भन्नेबारे मेडिकल मूल्याङ्कनपछि मात्रै थाहा हुने प्रशिक्षक एन्सेलोटीले बताएका छन् ।
समुह सी मा रहेको ब्राजिल ४ अंकका साथ शीर्षस्थानमा रहेको छ । समान अंक रहेको मोरक्को गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । फिफा विश्वकपमा हालसम्म दोस्रो राउण्डमा मेक्सिको र अमेरिका पुगेको छ ।





