
बागलुङ/स्वर्गिय प्रमानन्द सरस्वती र हाल देवघाटधामका पिठाधिश्वर रहेका ज्ञानानन्द सरस्वती जस्ता महापुरुषको जन्मभूमी र तपोभूमी ऐतिहासिक र धार्मिक गन्तव्य रहेको बिहुँको रामकोटबारे धेरैलाई थाहा नहोला । यो स्थानमा पुगेका, यहाँको इतिहास बुझेका र यहाँको महत्व थाहा पाएकाले मात्रै काठेखोला गाउँपालिका वडा नं. ५ को वास्तविकता थाहा हुन्छ । चारैतिर देखिने, हिमाली श्रृंखलाको दृश्यावलोकन गर्न सकिने, वरिपरि जंगल भएकोले चरा र जंगली जनावर पाइने, विद्वानहरुले तपस्या गर्ने, संस्कृतको पढाइ गर्ने, पूजापाठ र होम इत्यादी नियमित भैरहने यो ठाउँ धार्मिक तीर्थयात्रीको गन्तव्य जस्तै छ ।
सदरमुकामदेखि पैदल हिंडेर गलकोट हुँदै बुर्तिवाङसम्म जानका लागि यहाँ पदमार्ग धेरै वर्ष अघि बनेका थिए । ठाउँ ठाउँमा आराम गर्ने वरपिपलका चौताराहरु, खानेपानी राखिदिने पुरानो चलन रहेको बिहुँको यात्राबारे धेरै जानकार छन् । तत्कालिन राजा महेन्द्र र बिपी कोइरालाले यात्रा गरेको र घोडाबाँधेको स्थल भएकोले नामाकरण पनि सोही अनुसार भएको इतिहास समेत बोकेको बिहुँलाई आधुनिक समयमा भने समृद्दिको बाटोमा हिंडाउने चुनौती छ ।
बिहुँका सयौं मानिस अध्ययन अध्यापन क्षेत्रमा देखिन्छन् । जापान, युरोप र अमेरिकामा खोज्दा यहाँका सयौं नागरिकहरु भेटिन्छन् । उनीहरुले त्यहाँ आँफू मात्रै रोजगारी गरेका छैनन्, बरु रोजगारी दिएका पनि छन् । उनीहरुले संसारभर बिहुकोट भनेर नाम पनि राखेका छन् । बिहुँकोट समाज जापानले त एक करोडको अक्षयकोष राखेर गाउँमा हुने समस्याबारे तत्काल सम्बोधन गर्नेगरी काम गरेका छन् । उनीहरुले दैविप्रकोप परेमा उद्दार र उपचार गराउने, बालबालिकाको पढाइमा छात्रवृत्ति दिने जस्ता काम गर्दै आएका छन् । यस्ता काम गर्दा स्थानीय सरकार, प्रदेश र संघिय सरकारले पनि उत्तिकै साथ र सहयोग गरेको छ ।
स्थानीय तह गठनपछि साबिकको बिहुँ २ वटा वडामा विभाजन भएको छ । वडा नं. ५ मा घोडाबाँधे, रामकोट, शिवधुरी, दहपानी, कर्लिम लगायतका बस्तीहरु समावेश छन् । यी बस्ती समावेश वडा नं. ५ लाई पालिका र वडाको लगानीबाटै समृद्दिको बाटोमा लैजाने कामहरु शुरु भएका छन् । जनप्रतिनिधिहरुको दोश्रो कार्यकाल शु्रु हुनु अघिसम्म यहाँ पक्की सडक कतै थिएन । अहिले यहाँ २ किमी सडक ढलान गरिएको छ । मध्यपहाडी लोकमार्गले चिरेको खण्ड बाहेक वडाभित्र ५२ किमी सडकको ट्रयाक खुलेको छ भने वडाभित्रका ५ वटा मुख्य टोल जाने सडकहरु स्तरीय छन् । बाह्रै महिना नियमित चल्ने गरी अधिकांस सडक ग्राभेल गरिएको छ भने विभिन्न स्थानमा ढलान सडक पनि छ ।
१ करोड ४३ लाख ६० हजार रुपैयाँ खर्च गरेर वडाले चालु वर्ष विभिन्न पूर्वाधार निर्माणको काम गरेको छ । ती मध्ये सडक प्रमुख लगानीको क्षेत्र हो । त्यस बाहेक विद्यालयका भवन, धार्मिक पर्यटकीय गन्तव्य निर्माण जस्ता क्षेत्रमा पनि प्रसस्त लगानी भएको छ । त्यो मध्ये ठानडाँडाबाट दहपानी हुँदै गणेश चोक जाने सडक चालु वर्ष बनाइएको छ । यो पुरानो हुलाकी सडक हो । जहाँ मोटर समेत चल्ने गरी सडकको खाका कोरिएको छ । चालु वर्ष यो सडक खण्डमा २५ लाख लगानी भएको वडा अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । यो सडकमा पछिल्लो चार वर्षमा १ करोड १० लाख लगानी भएको छ । हरेक वर्ष २५ देखि ३० लाख लगानी गरेर ग्रामीण बस्तीलाई राजमार्गमा जोड्ने काम गरिएको हो ।

त्यस बाहेक त्रिपुरेश्वर महादेव मन्दिर जाने सडक पनि ढलान गरिएको छ । कच्ची सडक भएकोले गाडी लिएर जान चाहनेले बर्षातमा सहजै जान नसकिने अवस्था थियो । अहिले भने ढलान सडकमार्फत ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य बनाउन र त्यहाँ जाँदा आम नागरिकले सहजै जाने अवस्था बनेको छ । अझै यो सडक खण्डको १ सय ५० मीटर खण्ड पक्की बनाउन बाँकी छ । जिल्लाकै अग्लो शिवालय मन्दिर र १० क्विन्टल भन्दा ठूलो शिवलिंग स्थापना भएको रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्री, साउन महिना र विभिन्न चाडपर्वमा भक्तजनको भीड लाग्छ भने यो मन्दिरकै कारण ऋषिमहर्षीहरु आउने, ध्यान जप तप गर्ने र योग गर्ने समेत गरेका छन् । यो क्षेत्रको वृहत्तर विकासमा पालिकाको लगानी मात्र पर्याप्त नभएकोले प्रदेश सरकारमा पनि सहयोगको अपेक्षा गरिएको छ ।
यता प्रदेश सरकारकै समपुरक कोषबाट ४० लाख रुपैयाँ खर्चेर लामखुमदेखि भारद्वज ऋषिचोक जाने सडक ढलान गरिएको छ । १ सय ५५ मीटर सडक ढलान गर्दा स्थानीयले बस्ती र राजमार्ग सवारी यातायातबाट जोड्न पाएका छन् । झुलेनीतर्फ गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय जोड्ने सडक अन्र्तगतको बजेट लगानी गरेर होमस्टे लगायतको बस्तीमा सडक पु¥याइएको छ । त्यस बाहेक खोलाखेतदेखि गौश्वारा सडकलाई नालीसहित व्यवस्थित बनाइएको छ । यो सडकले स्थानीयले बिरामी पर्दा गाउँमा एम्बुलेन्स लैजाने, ट्याक्सीमार्फत घरघरमा पुग्ने अवसर पाएका छ्न् ।
यता ठानडाँडा देखि तल्लो दहपानी, रुम्से कर्लिम हुँदै थाम, असारे जाने सडकलाई चक्रपथको रुपमा विकास गरिएको छ । थामडाँडामा पुग्दा भ्युटावरको मध्यपहाडी लोकमार्ग भेटिएकोले झण्डै ८ देखि ९ किमी सडकको चक्रपथ बनेको छ । यो चक्रपथमा घोडाबाँधेमा रहेको नेपाली सेनाका जवानको दैनिक कसरत गर्ने सडक पनि बनेको छ । मुख्य सडकमा भन्दा भित्री सडकमा उनीहरुले धेरै अभ्यासहरु गर्छन् । जसका कारण सडक दुर्घटनाबाट पनि बच्ने, बस्तीहरुमा सवारीमार्फत सामाग्री ढुवानीमा सहज भएको बताइएको छ । दैनिक खेल अभ्यास र दौडलाई सेनाले यो बाटोलाई अधिकतम प्रयोग गर्दै आएको छ ।
वडा नं. ५ ले हरेक पुर्वाधार लगायतको काममा श्रमदानको अभ्यासलाई संस्थागत बनाएको छ । प्रायः शनिबार वा सार्वजनिक बिदाको दिन हरेक घरले तीनचार घण्टा श्रमदान गर्ने बानी बसालिएको छ । जसका कारण सडकलगायतका योजनामा उपभोक्ताले गर्नुपर्ने लगानीलाई पैसा खर्चन परेको छैन । ‘हाम्रो वडाका हरेक घरका नागरिकले सरसफाइ, ढुंगा बोक्ने, सडक वा अन्य पूर्वाधार बनाउँदा चाहिने समाग्री ओसार्ने जस्ता काम गरिरहेका छन्’ कँडेलले भने, ‘काम गरेर कोही सानो हुँदैन भन्ने मान्यता विकास भएको छ ।’ श्रमदान अभियान सञ्चालन भएकोले बिदाको दिन सेनाका जवानले आएर साथ सहयोग गरिदिने गरेको उनले बताए ।
यो वडामा खडेरी वा हिउँदमा खानेपानीको केही समस्या छ । फुर्सेमाटा, रिजालचोक, गणेशचोक लगायतका स्थानमा खानेपानी बितरणमा समस्या परेको हो । गाउँपालिकाले गण्डकी प्रदेशको साझेदारीमा ३९ लाख रुपैयाँ खचेर बोरिङ पानी ल्याउने योजना अगाडि सारेको छ । यो पानी ल्याउन सकेको खण्डमा स्थानीयलाई समस्या पर्दैन । त्यसका लागि खानेपानी उपभोक्ता समिति गठन गरेर काम अगाडि बढाइएको छ । पानी सिधै धारोमा आयो वा आएन भन्ने भन्दा समस्याको खोजी गर्ने, पानीका मुहान संरक्षण गर्ने जस्ता काममा वडाबासी सक्रिय छन् । वर्षौ पुराना मुल र पोखरीहरु संरक्षण गर्ने, सिमेन्ट प्रयोग नगरी परम्परागत रुपमै पानीका अहालहरु संरक्षण गरिएको छ । कर्लिम क्षेत्रमा आधादर्जन आहाल र पोखरीहरु संरक्षित छन् । ती पोखरीले पानीको श्रोत जोगाएको छ भने पशुपालनका लागि खानेपानीको श्रोत बनेको छ । खेतीपातीका लागि श्रोत संरक्षणले सहयोग गरेको छ । २०४० देखि २०४४ सालतााका बनेका खानेपानी आयोजनाहरु वडाले संरक्षण गरेर राखेको छ । तत्कालिन गाविस हाल दुइ वडामा विभाजित छ । तर खानेपानीको श्रोत उही हो । व्यवथापन गरेर पु¥याउने काम भैरहेको छ । तसर्थ व्यवस्थापनमा केही समस्या देखिएको हो ।
वडाले हालको भ्युटावर अर्थात् थामाचौर, रामकोट र शिवधुरीलाइ प्रमुख पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । यहाँ सोही अनुसार लगानी गर्ने अभ्यास पनि भएको छ । शिवधुरीमा पदमार्गमार्फत जान सक्ने बनाउने र गएका पर्यटक पानी पर्दा ओत लाग्ने केही संरचना बनाउने योजना राखिएको छ भने रामकोटमा यस अघि नै बनेका पुर्वाधारले आकर्षण थपेको छ । यहाँ त संस्कृत पाठशालापनि छ । देवघाटबाट आउने विद्यार्थीले यहाँ बसेर महिनौंसम्म संस्कृत अध्ययन गर्छन् । ध्यान र तपस्या पनि गरिन्छ । भने भ्युटावर रहेको स्थानमा चिया खेतीको कार्यक्रम विस्तार गरिएको छ ।
थामाचौरको सामुदायिक वन र सार्वजनिक जमिनमा चिया खेती शुरु भएको छ । यो क्षेत्रलाई इलामको कन्याम जस्तै बनाउने सपना पालिकाले बनाएको छ । समृद्व काठेखोला निर्माणमा कृषिको विकाससँगै पर्यटन प्रवद्र्दन पनि एक सूचक भएकोले चियावारीलाई आयआर्जन र पर्यटन प्रवद्र्दनमा लगाउन सकिनेछ । मध्यपहाडी लोकमार्गमा जोडिएकोले पूर्वदेखि पश्चिमका सयौं मानिसको यात्रा गर्ने स्थलमा यो संभावना पनि छ । यहाँ स्तरीय होटल र खानेपानी तथा शौचालयको व्यवस्थापन गर्दा पर्यटक आउने र रमाउने, वनभोज स्थलहरु बनाएर त्यसको प्रवद्र्दन गर्ने लक्ष्य बनाइएको छ । वडा र पालिकाले मेहेनत गर्दा भ्यूटावर पुग्नेले चिया बगानमा पनि रमाउन पाउनेछन् । त्यहाँ पुग्ने पर्यटकले नजिकैको पसलमा चिया र कफी पिउनेछन् । स्थानीयको व्यवसाय पनि बढ्ने, पर्यटकले सुविधा पनि पाउनेछन् । त्यसका लागि पहिलो चरणको काम शुरु भैसकेको हो भन्छन्– कँडेल ।
आयआर्जनमा जोड्न ग र घ वर्गका अपांगलाई बाख्रापालन तालिम दिएर व्याउने बाख्रा वितरण गरी आत्मनिर्भर बनाउन पहल भएको छ । त्यस्तै मौरीपालन तालिम पाएकाहरुलाई ८० प्रतिशत सम्मको अनुदानमा मौरी सहितको घार दिइएको छ । पहिला मुलाका धजारा र गुन्द्रुक पाइने गाउँमा अहिले घरघरै तरकारी फलाइन्छ । दूधको राम्रो उत्पादन छ । किसानले आलु, तरकारी र दूध बजार पठाउने गरेका छन् । जसबाट स्थानीय व्यवसायिक बनेका छन् । घोडाबाँधेको सेनाको व्यारेक, राजमार्गका होटलले किसानको उत्पादनलाई सहजै बजार बनेको छ भने कतिपय उत्पादन बागलुङ बजारसम्म पुग्ने गरेको हो ।
यहाँको दहपानी महिला आयआर्जन समूह र महिला सञ्जालमार्फत लक्षित वर्गको बजेटलाई सदुपयोग गर्ने महिला उद्यमी सम्मान, आरन सुधार गरेर अनुदान दिने काम भएको छ । त्यस्तै स्थानीय महिलाहरुले बनाएका मकैको पोस्करको फूललाई उपहार दिन गर्ने, वडाले ती सामाग्री ५ सय रुपैयाँ सम्ममा लगिदिने पनि गरेको छ । महिला समूहमै बाद्यबादन तालिम समेत दिइएको छ भने फूल बनाउने, झोला बनाउने र आरनका सामान बनाउने जस्ता तालिमहरु संचालन गरी आत्मनिर्भर बन्न आवस्यक बिउपूँजि दिइएको छ ।
शैक्षिक क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा दिन पनि वडाबाट पहल भएको छ । अमर मावि सहितका आधारभूत तहका विद्यालयमा कम्युटर कक्षा सञ्चालित छन् । त्यस्तै छात्रवृीत्र कोष, बाल शिक्षाका लागि मन्टेश्वरी तालिम दिइएको छ । यहाँ तालिम गरेका शिक्षकहरु पलिका भर पठाउने व्यवस्था पनि मिलाइएको छ ।
मध्यपहाडी लोकमार्ग निर्माणमा भएको लापरबाहीका कारण स्थानीयले भोगेको समस्याबारे पटक पटक स्थानीयले वडाको समन्वयमा चासो राखेका छन् । सडक रोकेर लोकमार्ग आयोजना कार्यालय, ठेकेदार र राज्यका निकायको ध्यानाकर्षण गराइएको छ । मुख्यमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम गरेर छिटो सडक सक्न दबाब दिइएको छ । लोकमार्ग आयोजना कार्यालयलाई अझैपनि यो सडक छिटो सक्न स्थानीयको निरन्तरताको दबाब छ ।
‘युवा फर्काएर मात्र समृद्व पालिका बनाउन सकिन्छ’
ज्ञामनाथ कँडेल
वडा अध्यक्ष,
काठेखोला गाउँपालिका वडा नं. ५
पालिकाको चिसो र उच्च स्थानमा रहेको वडा, लोकमार्गको छेउमा र वनजंगलले ढाकिएको स्थान भएकोले हामीले आफ्नै परिवेशमा सुहाउने खालको काम गरेर वडालाई समृद्द बनाउने योजना बनाएका छौं । त्यही अनुसार हामीले लगानीपनि गरेका छौं । यो लगानीले तत्काल समृद्द पालिका र वडाको सपना पुरा गर्न नसकेपनि क्रमशः वामे सर्दैछौं ।
काठेखोला गाउँपालिका वडा नं. ५ लाई सुशासनमा अब्बल बनाउन आम नगारिकको सेवालाई गुणस्तरीय दिने, अनलाइनमार्फत सेवा प्रवाह गर्ने र विस्तारै पेपरलेस बनाउने अभियानमा छौं । तर विद्युत अभाव, इन्टरनेटको कमजोर पहुँच जस्ता कारणले सोचेझै भएको छैन । तरपनि पञ्जिकरणका काममा पनि सचिवले सेवाप्रवाह चुस्त बनाउने, तोकेका काम रसिद काटेर मात्रै गर्ने गरिएको हो ।
डिजिटल काठेखोला बनाउने अभियान स्वरुप मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको छ । राजश्व संकलनमा पनि हामीले विशेष चासो राखेका छौं । पालिका भरमै दोश्रो वडाको रुपमा राजश्व संकलन गरिएको छ । अघिल्लो वर्ष ९ लाख ३७ हजार राजश्व संकलन गरिएकोमा यो वर्ष साँढे ११ लाख पुग्ने अनुमान गरिएको छ । यसरी राजश्व संकलन गरेको आधारमै पालिकाले वडालाई अनुदान पनि दिंदै आएको छ ।

कला र संस्कृतिमा काठेखोला गाउँपालिका वडा नं. ५ धनी छ । बाहुन, क्षेत्री, दलीत र मगर समुदायको बाहुल्यता भएकोले सोरठी, भजन, पञ्चेबाजा लगायतका कला र संस्कृति छन् । हरेक चाडपर्वमा रामकोट स्थित शिवालय मन्दिरमा सबैका आफ्ना संस्कृतिहरु प्रदर्शन गरिन्छन् । एकीकृत बस्ती भएकोले ती संस्कार र संस्कृतिलाई संरक्षण गर्दै समूहमा आवद्द गर्न सकिएको छ भने अनुदानका कार्यक्रम दिन र युवापुस्तामा सीप हस्तान्तरण गर्न पनि सकिएको छ ।
बिहुँकोट क्षेत्रमा खेलक्षेत्रको विकास पनि राम्रो भएको छ । जिल्ला खलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलको पहलमा राष्ट्रपति खेलकुद कार्यक्रमको मार्सल आर्टको खेल समेत यहाँ लगिएको थियो भने भलिबल, फुटवल र अन्य खेलका गतिविधिमा पनि युवालाई सक्रिय र आकर्षण बनाउन सकिएको छ ।
वातावरण संरक्षणमा वडाले पहल गरेका छौं । कर्लिम लगायतका सामुदायिक वनमा पर्खाल लगाएर पोखरीहरु संरक्षण गर्ने, पानीका श्रोतहरु खेर जान नदिने काम गरेर अलैंची लगायतको नगदेबाली उत्पादन र बजारीकरणमा वडाले साथ दिएको छ । अहिले कर्लिममा अलैची पकाउने भट्टी समेत स्थापना गरिएको छ । त्यसपछि किसानले उत्पादन बजार पठाउने र उचित मूल्य पाउने अवस्था बन्न थालेको छ ।
समग्रतामा हेर्दा वडा र पालिका वा देशकै समृद्दिको सपना पुरा गर्न योजना, कार्यक्रम र बजेट मात्र भएर पुग्दैन । स्थानीय युवा वा जनशक्ती आवस्यक छ । वैदेशिक रोजगारीले युवाविहिन भएको समाजमा फेरी युवा फर्काउनुपर्छ । त्यसका लागि गाउँमा रोजगारीका अवसर ल्याउने, स्थानीय उत्पादनलाई बजारमा जोड्ने र गाउँमै बसेर धनी बस्ने हो भने समृद्द पालिकाको कल्पना पुरा हुनेछ ।




