दुवै विङ्गरहरू फिट र उपलब्ध भएसँगै स्पेनको आक्रामक रणनीति पूर्ण रूपमा देखिनेछ र यस खेलमा धेरै गोल हुने अनुमान समेत गरिएको छ ।
पोखरा / फिफा विश्वकप २०२६ मा आज साउदी अरबले एकपटकको विश्व विजेता स्पेनको सामना गर्दैछ । केभ भर्डेसंग गोलरहित बराबरीले स्पेनमाथि उठेका प्रश्नहरुलाई आज तोड्नुपर्ने बाध्यकारी अवस्थामा छ ।
उत्कृष्ट खेलाडीहरुले भरिएको स्पेनको समुह ‘एच’ भने निकै रोचक छ । यो समूहको पहिलो चरणका खेल सकिदाँसम्म कुनै पनि टिमले हारेका छैनन् र जितेका पनि छैनन् । विश्वविजेता स्पेन उरुग्वेसहित केप भर्डे र साउदी अरब समुह एचमा छन् ।
यो समुह त्यस्तो समुह हो जहाँ सबै टिमको समान १–१ अंक रहेको छ । समान अंक रहेपनि गोलका आधारमा उरुग्वे शीर्ष स्थानमा छ भने साउदी दोस्रो । स्पेन तेस्रो र केप भर्डे अन्तिममा ।
स्पेन आफ्नो पहिलो खेलमा बराबरीमा रोकिपछि साउदी अरब विरुद्ध जितको खोजीमा मैदान उत्रिँदैछ । साउदी अरबले कसिलो रक्षापंक्ति र तीव्र काउन्टर–अट्याकमा आधारित रक्षात्मक रणनीति अपनाउने गर्दछ । यस खेलमा स्पेनलाई बलियो दाबेदार मानिए तापनि साउदीको बलियो डिफेन्स तोड्न कडा मिहेनत गर्नुपर्ने देखिन्छ ।

पहिलो चरणमा केप भर्डे विरुद्धको खेलमा गाभी र फेरान टोरेसले बिर्सनलायक प्रदर्शन गरेकाले यस खेलमा उनीहरूलाई बेन्चमा राखिने सम्भावना बलियो देखिएको छ ।
पहिलो खेलको ७१औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका लामिन यामाल अझै पनि चोटबाट तंग्रिने क्रममै छन् । तर, उनले मैदानमा बिताएको मात्र २० मिनेटमा ५ पटक ड्रिबलिङको प्रयास गर्दै खेलमा तत्काल प्रभाव पारेका थिए । आजको खेलमा यामल सुरुवाती ११ मै मैदान उत्रिने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ, विङ्गर निको विलियम्स पूर्ण रूपमा निको भइसकेका छन् र उनलाई खेल्नको लागि ‘क्लियरेन्स’ दिइएको छ । दुवै विङ्गरहरू फिट र उपलब्ध भएसँगै स्पेनको आक्रामक रणनीति पूर्ण रूपमा देखिनेछ र यस खेलमा धेरै गोल हुने अनुमान समेत गरिएको छ ।





