बागलुङ/भौगोलिक रुपमा कठिन भएपनि काठेखोला गाउँपालिका–३ को धम्जा प्राकृतिक रुपमा आर्कषक छ । जिल्ला र काठेखोलाकै गौरव मानिने बेलढुंगामा पर्यटक बढाउन सकेको खण्डमा स्थानीय होमस्टे र गाउँघरमा पर्यटक राखेर राम्रो कमाई गर्न सकिन्छ । विशेषगरी जैविक तरकारी र फलफूल उत्पादनका लागि धम्जागाउँ निकै चर्चित छ ।
सदरमुकाम बागलुङ बजारमा अहिले पनि धम्जाका मुला, साग र तरकारी आइपुग्छ । सिंगो गाउँ टनेलमय छ । जसका कारण भौगोलिक रुपमा उचाइएको भएर पनि गर्मी स्थानमा फल्ने खेतीपाती पनि यहाँ फलाइएको छ । किसानले गोलभेडा लगाएर मनग्ये कमाइ गर्छन भने पशुपालन गरेकोले सदरमुकाममा मासुका लागि खसीबोका प्रसस्त पठाउँछन् ।
काठेखोला–३ को धम्जालाई विकासको मुलधारमा जोड्न पालिका र वडाले लगानी बढाएका छन् । सानो लगानीले ठूलो प्रतिफल आउन नसकेपनि स्थानीय आवस्यकता पुरा गर्ने, आधारभूत तहको शिक्षा, स्वास्थ्य, सडक र खानेपानी जस्ता सेवाप्रवाह गर्ने काम भएको छ । ठूलो भूगोल, छरिएको बस्ती, असिमित आवस्यकताले श्रोत अनुसारको प्रतिफल दिन नसकेको वडा अध्यक्ष कुलबहादुर बिक बताउँछन् । उनका अनुसार, संघिय र प्रदेशबाट योजनाहरु ल्याएर केही सडक, खानेपानी र पर्यटन प्रवद्र्दनका कार्यक्रमहरु ग्रिएको छ ।
उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले गाउँपालिकाले विभिन्न निकायबाट अनुदान ल्याएर बेलढुंगामा केही आर्कषक संरचनाहरु बनाएको छ । यो संरचनाको आर्कषणलाई प्रचार गर्न गाउँपालिकाले जिल्ला स्तरीय न्यायिक सम्मेलन समेत बेलढुंगामा सम्पन्न गरेको थियो । यो सम्मेलनमा आएका जिल्लाभरका जनप्रतिनिधि, कर्मचारी र पत्रकारले धम्जा, बेलढुंगा र यहाँको उत्पादन तथा अतिथि सत्कारको प्रशंसा गरेका थिए । शहरी क्षेत्रमा, होटलमा लाखौं खर्चेर मात्र गरिने न्यायिक सम्मेलनका लागि धम्जाले सफलतापुर्वक सम्पन्न गरेको हो । यो काममा पालिकाको लगानी भएपनि स्थानीय व्यवस्थापनमा वडा अध्यक्ष कुलबहादुर बिक, अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दा समेतको सक्रियता रहेको थियो ।
त्यसो त धम्जामा धेरै पहिलादेखि स्थानीयले होमस्टेको अवधारणा ल्याएका थिए । होमस्टेसँगै स्थाीय कला र संस्कृतिको प्रदर्शन गर्ने, स्थानीय उत्पादन स्वरुप आँटो, ढीडो, भाँगो, मुलाको अचार जस्ता खानेकुरा खुवाउने गरिन्थ्यो । अहिले पनि यो जैविकपनलाई यथावत राखेर पालिकाले वडाको पहिचान बचाइराख्न पहल गरेको छ ।
आलु उत्पादनमा जिल्लामै नाम कमाएको धम्जाका किसानलाई व्यवसायिक बनाएर अधिकतम् आयआर्जन गर्न सक्ने बनाउने लक्ष्य पनि वडाले राखेको छ । स्थानीय जातकै भएपनि आलु अधिकतम् फलाउने, भण्डारन गर्ने र उचित मूल्य पाउने बेलामा बजार पठाउने जस्ता काममा सहयोग गर्ने गरिएको छ । आम नागरिकको सन्तुष्टीलाई नै विकास र समृद्विको आधार बनाउने वडाको लक्ष्य छ । यो लक्ष्य अनुसार नै किसानहरु लागिपर्ने हो र पालिकाले पनि स्थानीयको आवस्यकतालाई सम्बोधन गर्दै उत्पादनमा प्रोत्साहन गर्ने हो भने वडा नं. ३ का हरेक किसानले वर्षेनि लाखौं कमाउन सक्ने बन्छन् । वैदेशिक रोजगारीमा जानै नपर्ने, कृषि पेशाबाटै मनग्ये कमाई हुने र साना तथा मझौला प्रकारका उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्ने अवस्था बन्नेछ ।
वडा कार्यालयले पूर्वाधारमा लगानी गरेर आधारभूत आवस्यकता पुरा गर्ने, मुख्य बस्तीहरुमा सहज सडक सञ्जालले जोड्ने काम गरिएको छ । चालु वर्ष मंगलीखोलादेखि सायकटेरा, ओखले हुँदै बेलढुंगा जाने सडकको स्तरोन्नती गर्न ८० लाख रुपैयाँ संघीय अनुदान आएको थियो । अनुदानका कारण यो सडकको धेरै काम भएको छ । ३ करोड लागतमा यो सडक निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि चालु वर्ष ८० लाख खर्च गरिएको हो । यो सडकको पर्खालहरु बनाइएको छ भने ५ सय मीटर ढलान पनि भएको छ । आगामी वर्ष नाली निर्माण गरेर ग्राभेल गर्ने योजना रहेको अध्यक्ष बिकले सुनाए ।
गण्डकी प्रदेशको लगानीमा वैकल्पिक रणनीतिक सडक बनाउने र बेलढुंगादेखि म्याग्दीसम्म जोड्ने सडक बनाउन लागिएको हो । त्यस्तै वडा कार्यालयदेखि बायलाकुरी, द्वारा हुँदै धम्जा देउराली जाने सडकमा चालु वर्ष ५० लाख लगानी गरिएको छ । माझकटेरामा अहिले पनि यो काम भैरहेको छ । पालिकाको गौरवको आयोजनाअन्तर्गत डुडियादेखि बायलाखुरी, द्वारा राम्चे जोड्ने सडक ५० लाखको लगानीमा बनाइएको छ । यो सडकले तंग्रामको बाटो भएर मध्यपहाडी लोकमार्ग जोड्न पनि सहज बन्ने छ ।
वडा गौरवको आयोजनामा सूचिकृत गरेर ११ लाख रुपैयाँ लगानी गरेर स्वार घुम्ती धम्जा देउराली सडक निर्माण भैरहेको छ । यो सडक बनिसक्दा यो क्षेत्रका बासिन्दाले सहज पहुँच बढाउने छन् । यो सडकको पनि अप्ठ्यारा घुम्तीमा ढलान गरेर सडक सञ्चालनका लागि सहज बनाइएको छ । त्यस्तै यहाँको होमस्टेदेखि ओखले र बेलढुंगा तर्फको सडक पनि स्तरीय बनेको छ । गण्डकी प्रदेशको ५ लाख रुपैयाँलाई एकीकृत सेवा कार्यालयमार्फत मदमार्ग बनाएपछि यात्रा गर्न सजिलो भएको छ ।
बागलुङको पञ्चकोटदेखि काठेखोलाको बेलढुंगा सम्मको धुरी मार्गलाई साइकल चलाउन सकिने साहसिक र पर्यटकीय मार्ग बनाउने लक्ष्य छ । यो सडकमा साइकल ल्याण्ड बनाउने योजना अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारको साथ पाएर ३ किमी सडकमा साइकल ल्याण्ड बनेको छ । यो सडकले डोहोरीदेखि बेलढुंगा तथा कान्छो धौलागिरि पदमार्गलाई समावेश गरेको छ ।
हरेक वर्ष एक/एक वटा फलामे पुल बनाउने वडाको योजना अनुसार चालु वर्ष पनि वडाले एउटा पुल बनाएको छ । वर्षातमा खोलाखोल्सी बढ्ने भएकोले विद्यालय जाने बालबालिका घाँसदाउरा गर्ने किसानलाई यात्रा गर्न सहज होस भनेर मानिस हिंड्ने पक्की पुल बनाइएको हो । हरेक वर्ष एउटा बनाउने लक्ष्य अनुसार अहिलेसम्म चारवटा पुल बनिसकेका छन् ।
धम्जामा खानेपानीको श्रोतको समस्या छैन, तर व्यवस्थापनको समस्या छ । किनकी ‘एक घर एक धारा’ बनाउने अभियानमा महंगी बढ्दा समस्या पैदा भएको हो । महंगीकै कारण देखाएर ठेकेदारहरुले टेन्डर समेत नगरेको कारण चालु वर्षका लागि धम्जा खानेपानी योजनाको ३९ लाख रुपैयाँ फ्रिज भएको छ । गण्डकी प्रदेशको विशेष अनुदानमार्फत आएको बजेट भएपनि पालिकाले निकालेको सूचनामा ठेक्का पर्न नसकेको हो । तोकेको दररेटमा कोही पनि ठेकेदारले ठेक्का नहालेका हुन् । जेनजी आन्दोलनपछि देशभर संरचनाहरु ध्वस्त भएको, तेलको मूल्य बढेको र त्यसपछि महंगी पनि बढेको भन्दै ठेक्का लिन कोही तयार नभएपछि योजना अलपत्र परेको हो । ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेको वडाले चालु वर्ष काम पुरा गर्न नसक्ने अवस्था बनेको हो । यो काम भएको भए चालु वर्ष १ सय ७६ घरमा धारा बनाउने लक्ष्य थियो । तर स्थानीयले १ सय ९० घरमा धारा जडान हुने बताएका छन् । वडाबासीको मृत्यु संस्कार गर्ने ओखले र धम्जाको सम्सान घाटमा संरचनाहरु बनाइएको छ ।
विद्यालय भवनहरु पक्की बनेका छन् । जसका कारण अबका दिनमा शिक्षाको गुणस्तरमा मात्रै ध्यान दिए पुग्ने अवस्था भएको छ । लक्ष्मी मावि र जनता माविमा त उत्कृष्ट नजिता ल्याउनका लागि पहल पनि भएको छ । एसईईमा उत्कृष्ठ नतिजा ल्याउनका लागि छात्रछात्रालाई विशेष अनुदानको व्यवस्थापन गरिएको थियो । केही समय विद्यालयमा अतिरिक्त कक्षा समेत पढाउने, त्यसका लागि खानेबस्ने व्यवस्था वडाले मिलाउने गर्दा अघिल्ला वर्षको तुलनामा नतिजा पनि सुधार भएको छ । यसरी लगानी गर्दा प्रतिविद्यार्थी १० हजार रुपैयाँ लगानी भएको थियो । शतप्रतिशत उत्तिर्ण गर्ने गरी यो अभियानले शिक्षक, अभिभावक र विद्यार्थीमा जागरण ल्याएको छ । जनएकता र युनिक आधारभूत विद्यालयमा स्थानीय श्रोतका शिक्षक राखेर अंग्रेजी माध्यममा पढाउने व्यवस्था पनि गरिएको छ ।
कृषि र पशुपालन तथा सीपमूलक तालिम सिकेर आत्मनिर्भर बनाउने अभियानमा भने गैरसरकारी संस्थाहरुले पनि साथ दिएका छन् । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र गाउँपालिकाको साझेदारीमा महिला समूहलाई खाना पकाउने तालिम दिइएको छ । त्यस बाहेक शिवालय मन्दिर जीर्ण रहेकोमा मर्मत गरेर धार्मिक समूहलाई पनि वडाको विकासमा जोडिएको छ । स्थानीय महिला समूहलाई भजन तालिम दिइएको छ । अघिल्लो वर्ष यानीमाया भाखाको गीत गाउने तालिम समेत दिइएको थियो । यो तालिमले विशेषगरी होमस्टे सञ्चालकलाई बढी साथ दिएको छ । किनकी होमस्टेमा गीत संगीतको व्यवस्थापन भएमा मात्र पर्यटक रमाउने, अर्को पटक आउनेलाई पनि यस्ता सांस्कृतिक क्रियाकलापले प्रेरणा दिने गर्छ । आमा समूहहरुमा खाना पकाउने भाँडाकुँडाको व्यवस्थापनमा वडाले साथ दिएको छ । सानो सानो लगानी गरेर भएपनि ती समूहले गर्ने सार्वजनिक र सामूहिक काममा सहज वातावरण बनाइदिने काम गरिएको अध्यक्ष बिक बताउँछन् ।
गाजा डेभलपमेन्ट फाउण्डेसनले चलाएको हेफर परियोजनामार्फत पशुपालनमा किसानलाई अनुदान दिइएको छ । खसीबोकाको उत्पादन बढाएर आम नागरिकले बागलुङ बजारमा नियमित पठाउन सक्ने व्यवस्था गरिएको छ । किसानले मुलाको धजरा बेच्न सक्ने अवस्था बनेको छ भने ताजा मुला पनि अहिले बागलुङ बजारमा ल्याएर बेच्न थालिएको छ । पछिल्लो समय यहाँ अकवरे खुर्सानीको उत्पादन पनि बढेको छ । त्यस बाहेक काउली समेत यहाँ फल्छ । हरेक घरमा प्लाष्टिकका टनेल वितरण गरिएको छ । जसका कारण भौगोलिक उचाई भएर पनि टनेलभित्र तल्लो स्थानमा फल्ने तरकारी प्रसस्त फलेको छ । वडा अध्यक्ष कुल बहादुर बिकका अनुसार धम्जाका ३ सय घरमा भेडाबाख्रा र प्लाष्टिकका टनेल बनेका छन् भने झण्डै ९५ प्रतिशत घरमा भैसीपालन गरिएको छ । घरघरमा दूध मही बनाउने भएकोले किसानले घिउ उत्पादनमा बढी उपयोग गर्छन् । समयमा बजार पठाउन सडक टाढा भएकोले ताजा दूध पठाउने काम भने भएको छैन ।
धम्जा देउरालीमा चिया खेतीको योजना छ । कतिपय स्थानमा टिमुर रोपिएको पनि छ । बाँदरबाट बचाउन पनि टिमुर र चियाखेती उपयोगी भएको किसानको भनाइ छ । नेपालको सामुदायिक वन सम्बन्धी कानुनी व्यवस्थाका कारण वन क्षेत्रभित्र उत्पादनमुलक खेती गर्न नपाएको स्थानीयको गुनासो छ । तत्काल ऐनमा केही संशोधन गर्न सकेमा अलैंची, चिया र टिमुर खेती गरेर किसानले राम्रो कमाई गर्न सक्छन् । त्यसका लागि नीतिगत व्यवस्थाका लागि पालिकामार्फत प्रदेश सरकारमा सुझाव पनि पठाइएको छ । किसानले गरेको काममा वडाले अनुदान दिन रोकिनुपर्ने बाध्यता हटाउन पहल गर्नुपर्ने बिकको सुझाव छ ।
धम्जामा एउटै वडा भएपनि दुइवटा स्वास्थ्य संस्था छन् । देउरालीमा स्वास्थ्य चौकी छ तल्लो बस्तीमा धम्जा सामुदायिक स्वास्थ्य इकाई छ । दुवै संस्थामा गुणस्तरीय सेवा प्रवाह गर्नका लागि पहल गरिएको छ । दुवै स्थानमा सुरक्षित सुत्केरी सेवा दिइन्छ । सडक सहज बन्दै जान थालेपछि कतिपयले पहिले नै सदरमुकाम पठाएर थप सुरक्षित बन्छन् । त्यस अघिका खोप लगाउने र गर्भजाँच गर्ने काम भने स्थानीय स्वास्थ्य संस्थामै हुने गरेको छ । ती संस्थामा महिलाको पाठेघरको क्यान्सर भिआईए परीक्षण लगायतको शिविर राखेर महिलालाई गाउँमै सेवा दिइएको छ ।
‘सडक बिना समृद्विको कल्पनै गर्न सकिएन’
कुलबहादुर बिक
वडाध्यक्ष,
काठेखोला गाउँपालिका वडा नं. ३
समृद्व गाउँपालिका बनाउने सबैको सपना जस्तै वडालाई पनि समृद्द बनाउने हाम्रो लक्ष्य छ । त्यसका लागि वडाभित्र आधारभूत आवस्यकताको पुरा गर्ने काम पहिलो प्रयास छ । भौगोलिक कठिनाई भएकोले सडक अप्ठ्यारो भइ सदरमुकाम र पालिकाको मुकामदेखि आउनेहरु नै आउन सकेका छैनन् । तर पनि सानो श्रोत र साधनले वडाबासीलाई समृद्विको बाटोमा लैजान पहल भने गरिरहेका छौं ।
धम्जा देउराली हुँदै ताराखोला जाने सडकदेखि तंग्राम हुँदै बागलुङ आउने सडक सहज बनाउने लक्ष्य छ । तर भीमापोखरादेखि प्रवेश गर्ने स्थानमै धेरै जटिल सडक चिर्न सकिएको छैन । पहाड फोडेर बनाएको सडकलाई स्तरीय बनाउन नसक्दा सवारी साधन जोखिम मोलेर आउनुपर्ने बाध्यता छ । यो अवस्था सुधार नभएसम्म किसानका उत्पादन बजार पठाउन, बिरामी भए अस्पताल जान र गाउँमा पर्यटक भित्राउन पनि समस्या पर्छ । तसर्थ सहजै आउने वातावरण बनाउनकै लागि हामीले धेरै लगानी गर्नुपरेको छ । अहिले तंग्रामदेखि मध्यपहाडी लोकमार्ग हुँदै बजार जाने सडक र भीमापोखरादेखि अक्षेते हुँदै जाने सडक स्तरीय बन्नुपर्ने छ । तंग्राम तर्फको केही खण्ड कालोपत्रे गर्न थालेकोले वडाबासीले यो सडकलाई बढी विश्वास गरेका छन् । भीमापोखरादेखि जाने सडक अझै कहिले स्तरीय बन्ने हो भन्ने आम नागरिकको प्रश्न छ ।

सडक पुर्वाधार बाहेक शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा गुणस्तर दिने वडाको योजना छ । त्यसका लागि दक्ष कर्मचारी व्यवस्थापन गर्ने, पर्याप्त लगानीको व्यवस्थापन गरिने काम भएको छ । तर पालिकाको सिमित श्रोतमा प्रदेश र संघिय बजेटको साथ पाइयो भने मात्र आधारभूत आवस्यकता पुरा गर्न सकिने हो । नत्र समृद्विको ढोका खोल्न कठिन छ ।
सुशासनको हकमा भने वडा र पालिकाले धेरै काम गरिएको छ । अहिले पनि वडामा दिइने सिफारिसदेखि राजश्व संकलन सम्मका काम डिजिटल विधिबाट गरिन्छ । अनलाइन सेवाबाट काम गर्दा जिल्ला प्रशासनले दिने नागरिकता र राहदानीका लागि त स्थानीयले निकै सहज महसुस गरेका छन् । तर सबै डकुमेन्ट स्क्यान गर्नै पर्ने बाध्यताले चितवन, पोखरा वा काठमाण्डौं बसेर सिफारिस खोज्नेले भने एकपटक जिल्लामा आउनै पर्ने बाध्यता बनेको छ । यो बाध्यताले उनीहरुको कागजात भने सत्य र पारदर्शी बन्ने गरेको छ । यो काम गर्नका लागि पछिल्लो समय त हामीले वडामा सबै कर्मचारीलाई दक्ष बनाएका छौं । गर्नै परेको खण्डमा वडा सचिव, कार्यालय सहयोगीले मात्र होइन, जनप्रतिनिधिले पनि काम गरिदिन सक्ने छन् । विधि र प्रक्रियालाई सबैले बुझ्न थालेका छन् । अनलाइन विधिबाट काम गर्नुपर्ने भएकोले समय धेरै लाग्छ । कहिले त कर्मचारीहरु रातको ८ बजेसम्म पनि काम गरिरहेका भेटिन्छन् ।
समग्रतामा हेर्दा काठेखोला गाउँपालिका वडा नं. ३ को समृद्विका लागि कृषिजन्य उत्पादन बढाउने र वडा तथा पालिकाले बजारीकरण गराउने नै हो । जबसम्म अर्गानिक र स्थानीय उत्पादनले बजार पाउन थाल्छन् तब स्थानीय जनताले समृद्वि देख्न पाउनेछन् । वडाले बढाएको डिजिटल विधिकै कारण राजश्व संकलनमा पनि वृद्वि गरेको छ । गत वर्ष साँढे ५ लाख मात्रै संकलन भएको राजश्व यो वर्ष बढेर ७ लाख भैसकेको छ । त्यसैले यो वर्ष वडा गौरवको आयोजनामा पनि संकलित राजश्वको दोब्बर बजेट अर्थात् १४ लाख पाइने संभावना भयो । सुशासन र डिजिटल पालिका बनाउने अभियानमा यो संकलित राजशवले पनि साथ दिनेछ ।




