पोखरा / गएराती एक पटकको फिफा विश्वविजेता स्पेनले साउदी अरबलाई ४–० ले हरायो । स्पेनको यो जितमा लेमिन यामलले सुरुवाती गोल गरे । पहिलो खेलमा खराब प्रदर्शनका कारण आलोचना खेपेका मिकेल ओयार्जाबलले साउदी अरेबियाविरुद्ध उत्कृष्ट पुनरागमन गरे । उनले यामलको गोलमा असिस्ट मात्र गरेनन्, आफैंले दुई गोल समेत थपे । उनले खेलको २१ औं र २४ औं मिनेटमा लगातार दुई गोल गर्दै स्पेनलाई खेलको २५ मिनेटभित्रै ३–० को बलियो स्थितिमा पु¥याए ।
विश्वकपको इतिहासमा खेल सुरु भएको पहिलो २५ मिनेटभित्रै तीनवटा गोलमा योगदान (१ असिस्ट र २ गोल) गरे । स्पेनको यो सुरुआती लय ५२ वर्षयताकै सबैभन्दा तीव्र गतिको ३–० को अग्रता हो ।
यस खेलबाट विश्वकपमा पहिलो पटक सुरुवाती ११ मा परेका बार्सिलोनाका विङ्गर लेमिन यमालले खेलको १० औं मिनेटमै गोलको खाता खोले । मिकेल ओयार्जाबलको उत्कृष्ट क्रसलाई पोस्टको नजिकैबाट स्लाइड गर्दै गोलमा परिणत गरे । उक्त गोलसंगै यामल १८ वर्षको उमेरमा विश्वकपमा गोल गर्ने इतिहासकै आठौं कान्छा गोलकर्ता बनेका छन् । सन् २०२४ को युरो कपमा १६ वर्षकै उमेरमा स्पेनलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेलेका यमाल चोटका कारण पहिलो खेलमा वैकल्पिक खेलाडीका रूपमा मात्र मैदान छिरेका थिए । यामले गोल गर्ने कान्छा खेलाडीको रुपमा रहेकाले पनि उनको बढी चर्चा भएको हो ।
पहिलो खेलमा कमजोर टोली केप भर्डसँग निराशाजनक बराबरी खेलेको उपाधि दाबेदार स्पेनले जारी विश्वकपमा आफ्नो वास्तविक लय समातेको छ । आइतबार एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को एकपक्षीय जित दर्ता गरेको हो ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले टोलीको जित सुनिश्चित देखेपछि पहिलो हाफ लगत्तै दुवै गोलकर्ता (यमाल र ओयार्जाबल) लाई आराम दिने निर्णय गरे ।
दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै (४९ औं मिनेट) स्पेनको अग्रता ४–० पुग्यो । मार्क कुकुरेलाको प्रहार साउदीका डिफेन्डर हसन अल तम्बाक्तीलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो । खेलको इन्जुरी समय (९०+५ मिनेट) मा फेरान टोरेसले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री ले त्यसलाई मान्यता दिएन । साउदीका सलेम अल दौसारी र मोहम्मद कानोले पहिलो र दोस्रो हाफमा पहेँलो कार्ड पाएका थिए ।
यस जितसँगै स्पेनले समूह चरणमा आफ्नो नकआउट यात्रा बलियो बनाएको छ भने सन् २०१० पछि विश्वकपको अन्तिम १६ भन्दा अगाडि बढ्न नसकेको आफ्नो खराब रेकर्ड सुधार्ने संकेत देखाएको छ ।





