शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डिजिटल विधिमा हिँड्ने प्रयास गरेको काठेखोला

डिजिटल विधिमा हिँड्ने प्रयास गरेको काठेखोला

किसानलाई नै लगानी बढाउने, किसानकै उत्पादनले खान पुग्ने अवस्था बनाउन सकेमा ठूलो व्यापार, बजारक्षेत्र वा उद्योगक्षेत्र आवस्यक पर्दैन । त्यसकै लागि पालिकाका लगानी केन्द्रित छन् ।


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८३, मंगलबार

बागलुङ/काठेखोला गाउँपालिका ग्रामीण बस्तीले भरिएको छ । यहाँ बजारक्षेत्र छैन । मध्यपहाडी लोकमार्ग यो पालिकाकको केन्द्रबिन्दु हो । तर यो मार्ग अहिलेसम्म जीर्ण छ । पालिकाले लगानी गरेर काम गर्न मिल्दैन तर यो सडकमा यात्रा गर्दा पालिकाले गाली खानुपर्ने बाध्यता छ । संघिय सरकारको लोकमार्ग अलपत्र पर्दा दुःख भने स्थानीयले पाएका छन् । स्थानीय तहको लगानी गरियो भने वा केही मर्मतमा खर्च गरेपनि बेरुजु आउने गर्छ ।
बजार नभएको, व्यवसाय अत्यन्त कम भएकोले राजश्व संकलन गर्ने क्षेत्र पनि साँघुरो छ । संघिय अनुदान, प्रदेश अनुदानको भरमा योजना तथा बजेट निर्माण गर्ने चुनौती छ । त्यसैले पालिकाले कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने प्रयास गरेको छ । किसानलाई नै लगानी बढाउने, किसानकै उत्पादनले खान पुग्ने अवस्था बनाउन सकेमा ठूलो व्यापार, बजारक्षेत्र वा उद्योगक्षेत्र आवस्यक पर्दैन । त्यसकै लागि पालिकाका लगानी केन्द्रित छन् ।

गाउँपालिकाले आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्ती गरेको छ । दश वर्षसम्म भाडाको घरमा बस्नुपर्दा पालिकाले राजश्व संकलन गर्ने रकमभन्दा बढी घर भाडा तिर्नुपरेको अवस्थाले कतिपय विकास निर्माणका चरणमा अवरोध पुगेको छ । त्यति मात्र होइन, बजारक्षेत्र नभएकोले कर्मचारीलाई समेत बस्ने डेरा खोज्न मुस्किल परेको देखिन्छ । केही कार्यक्रम गर्नु पर्दा पनि खाजा वा आवासको प्रबन्ध गर्ने काम जटिल बनेको छ ।

न्यायिक समितिको जिल्ला सम्मेलन गर्दा होमस्टेका घरघरै लगेर पाहुना राख्नुपरेको यथार्थता अहिले पनि छ । पालिकाका राखिने बील भरपाईलाई होमस्टेले दिने सामान्य बीलबाट पुरा गर्दा बेरुजु लगायतका समस्या आउने खतरा उत्तिकै छ । तरपनि पालिकाले विधि र प्रक्रिया मिलाएरै काम गर्न पहल गरेको छ । त्यसका लागि प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको भूमिका,उनीहरुले गर्ने काम र तौरतारिका महत्वपुर्ण हुने गर्छ । जनप्रतिनिधिले गरेका कामलाई पनि रितपुर्वक बनाउन कर्मचारी प्रशासनले नियमित सुझाव दिनै पर्छ । नत्र भने धेरै समस्याहरु आउन सक्छन् भन्छन्, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल । उनका अनुसार अहिले पनि बेरुजु फछ्र्यौटका कतिपय काम भैरहेको, अनुगमन प्रभावकारी बनाएर कामलाई चुस्त राख्ने र विकास पनि समानुपातिक गर्ने योजनाहरु बनिरहेका छन् ।

‘सुशासनसहितको समृद्व काठेखोला हाम्रो चाहना’
मुक्ति पौेडेल
प्रमुख प्रशासकीय अधिकृत
काठेखोला गाउँपालिका, बागलुङ

काठेखोला गाउँपालिकामा योजना निर्माण र कार्यान्वयनको अवस्था कस्तो छ ?
ग्रामीण क्षेत्र मात्रै रहेको, भौगोलिक विकटता र आन्तरिक श्रोत नभएकोले विकास गर्न धेरै गाह्रो छ । त्यसका लागि निरन्तर काममा खटिनै पर्छ । यो वर्ष त धेरै बजेट कटौती पनि भयो । चालु प्रकृतिका धेरै बजेट रोकिए, जसका कारण जनचेतना अभिवृद्वि, कार्यशाला र तालिम जस्ता काम गर्न पाइएन । तर पूँजिगत बजेटलाई भने अधिकतम् उपयोग गरेर वित्तिय सन्तुलन कायम गर्दै पुर्वाधार विकासका कामलाई भने सन्तोषजनक गराउन सकिएको छ । यो कामले अपेक्षित प्रतिफल पनि दिने अवस्था बनेको छ । केही पूर्वाधारको बजेट भने संघिय र प्रदेशको लगानीमार्फत आएको छ त्यसले केही ठूला योजना सम्पन्न गर्न पनि सहज भएको छ ।

योजना अनुगमनको पाटो कस्तो छ ? पारदर्शिता र गुणस्तर कस्तो पाउनुभयो ?
गाउँपालिका उपाध्यक्षको नेतृत्वमा रहेको अनुगमन समितिको सदस्य सचिवको नाताले मैले हेर्ने काममा कुनै कसुर बाँकी राखेको छैन । ५ लाख रुपैयाँभन्दा माथीका योजना हामीले अनुगमन गर्छौ भने साना योजना वडाले अनुगमन गरेर प्रतिवेदन पठाउने काम गर्छ । शंका लागेका वा केही साना योजनामा भने हामीले पनि अनुगमन गरिरहेका छौं । विशेषगरी पूर्वाधारजन्य काम भएकोले प्राविधिक प्रमुख, योजना अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गर्ने भएकोले गुणस्तर, लगानी अनुसारको काम भए नभएको, बजेट पर्याप्त पुगे नपुगेको अध्ययन गरिन्छ । लागत स्टिमेट अनुसारको काम गरियो भने गुणस्तर कायम पनि हुन्छ ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा बेरुजु घटाउने प्रमुख जिम्मा रहन्छ, काठेखोलामा बेरुजु कस्तो छ ? घटाउने काम के गरिरहनुभएको छ ?
बेरुजु प्रायः कानून र विधिले नदिएको काम गर्दा आउँछ । कतिपय काम गर्दा प्रक्रिया नमिलेको, कागजात नपुगेको जस्ता कार्यले देखिने गरेको छ । तसर्थ कामको शुरुवातमै विधि प्रक्रिया र कानून अनुसारको काम गर्नुपर्छ । जनप्रतिनिधिलाई योजना सम्पन्न गर्ने चाहना हुन्छ, तर बजेट पुग्दैन, त्यतिबेला प्राविधिक सल्लाह चाहिन्छ । सल्लाहबिनै काम भयो भने बेरुजु आउने, नोक्सानी हुने लगायतको समस्या आउँछ । पालिकामा सालबसाली कार्यक्रम हुने भएकोले क्रमागत प्रकारका हुँदैनन् । तसर्थ प्रक्रियागत त्रुटी छ भने तत्काल समाधान गर्न नसके बेरुजु आउँछ ।

हामीले अघिल्ला वर्षहरुको बेरुजु रकमलाई घटाउने प्रयास गरेका छौं । अहिलेका काम बेरुजु नआउने गरी गर्न प्रयास गरेका छौ । सार्वजनिक लेखा समितिको प्रतिवेदन अनुसार संभावित स्थलको एकीकृत लगत कम गरी गत हिउँदे गाउँ सभामा कतिपय बेरुजुलाई रुजु गरिएको छ । प्रक्रिया नपुगेका स्थानमा पु¥याउने, कागजात नभएको झिकाउने काम भएको छ । नियमितताका लागि लेखी पठाएका छौं । वर्षे अधिवेसनले पनि केही योजनाको बेरुजु हटाउन प्रयास गरेको छ । महालेखा परीक्षकको आगामी डोर टोलीलाई हामीले पुरा गरेका प्रक्रिया देखाएपछि बेरुजु घट्ने छ ।

बेरुजु कस्तो प्रकृतिका योजनामा बढी आउने गरेको छ ?
हामी संघिय व्यवस्थामा छौं । संघ, प्रदेश र स्थानीय सरकारका आ–आफ्ना मान्यता छन् । खर्च गर्न पाउने प्रावधान, जिल्ला दररेट लगायतका व्यवस्था पनि फरक फरक छन् । उपभोक्ता समितिले योजनामा निश्चित प्रतिशत लगानी गर्नुपर्छ । तर संघको मान्यतामा प्रदेशको फरक पर्छ । सँगै रहेका एउटा योजनामा गरिने कामको प्रकृति र लगानी प्रदेशको योजनामा मिल्दैन । त्यो कुरा ख्याल भएन भने बेरुजु आउने अवस्था रहन्छ । अत्यावस्यक कागजात नजुटाइ गरिएको कामले पनि बेरुजु आउँछ । केही बेरुजु असुल उपर गर्ने खालको पनि हुन्छ ।

अधिकार क्षेत्र बाहिर गएर गरेका कामले पनि बेरुजु आउने गरेको छ । एक मिडिया कम्पनीले बाल अधिकारको क्षेत्रमा काम गरेकोमा बालविज्ञ, कानूनको विज्ञ समेत नराखी तालिम दिंदा बेरुजु आएको छ । अर्थात् उहाँले योजनाको प्रावधानलाई ख्याल समेत नगरेको पाइयो । त्यो बेरुजु अझै बाँकी छ ।

उपभोक्ताले गर्ने काम नगरेकोले योजनामा लगानी नपुग्ने, गुणस्तर कमजोर हुने जस्ता विषय पनि आउँछन् नि ?
हाम्रोमा सबैभन्दा समस्या जिल्ला दररेटको छ । जिल्लाले गत वर्ष साउनमा निकालेको दररेटमा हामीले काम गर्नुपर्छ । यो अवधिमा अत्याधिक मूल्य वृद्दि भयो । निर्माण सामाग्री, तेल लगायतको मूल्य वृद्दिले काम गर्नै नसक्ने अवस्था भयो । कतिपयले कामै गर्न चाहेनन् । नोक्सानी हुने देख्दादेख्दै कसले पो काम गर्छ र ? चालु वर्ष हामीले धम्जा खानेपानी योजना ४० लाखको ठेक्का खुलायौं, ठेक्का लगाउन कोही आएन, त्यस्तै मुख्यमन्त्री नवप्रर्वतन साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयहरुमा कम्प्युटर खरिद गर्ने योजना थियो । झण्डै एक करोडको योजनामा ८० लाखको त डिजिटल सामाग्री खरिद थियो । त्यसका लागि कोही पनि आएनन् । सूचना मात्रै प्रकाशन भयो । यो अवस्था हेर्दा नै थाहा हुन्छ । जिल्लाको दररेटबाट खरिद गरेको निर्माण सामाग्रीले धम्जा देउरालीसम्म पुगेर काम गर्दा नोक्सानी हुन्छ । आजकल उपभोक्ताले पनि काम गर्दैनन् । त्यसैले कतिपय योजना सम्पन्न गर्न पनि कठिन छ । उपभोक्ता जागरुक भएर काम नियालेको खण्डमा गुणस्तर कमजोर हुँदैन ।

योजना त बनाउँछौं, बजेट पनि आउँछ, तर काम गर्न नसकेर फ्रिज जान्छ, त्यस्तो कत्तिको छ ? त्यसले आगामी बजेट र अनुदानमा कतिको असर परेको छ ?
अपेक्षा गरे अनुसारको काम सबै त गर्न सकिंदैन । मुख्यतयाः उपभोक्ताहरु जागरुक नभएमा आएको बजेट खर्च गर्न कठिन पर्छ । सशर्तमा प्राथमिकतामा राखेर काम गर्छौ तर पनि हाम्रो काम गर्ने क्षमता नभएर पनि बजेट समयमा खर्च नभइ फ्रिज हुन्छ । समयमा काम गरेर भुक्तानीका लागि आएमा फ्रिजको समस्या पर्दैन । ठूला योजना ढीला सम्झौता गरियो भनेपनि काम पनि पुरा नहुने, रकम फिर्ता पनि हुने खतरा हुन्छ ।

समृद्व काठेखोला गाउँपालिका बनाउने सपना पुरा गर्न पालिका कत्तिको सफल छ ?
राष्ट्रिय सूचकमा काठेखोला पछि नै परेको छ । विकासका ठूला योजना, चिल्ला सडक, गौरवका आयोना सञ्चालन नभएकै हुन् । तर लघु उद्यमशिलता, प्रवद्र्धनात्मक कार्यक्रम र अत्यावस्यक पुर्वाधारका क्षेत्रमा भने काम भएको छ । गाउँपालिकाबाट राखिएको अपेक्षा केही मात्रामा पुरा पनि भएको छ । तर समृद्व पालिका बनाउने नाउँमा सहरी क्षेत्रको झैं सपना बनाइयो भने पुरा हुँदैन । पालिकाको आफ्नै भवन बनाउने सपना पुरा गर्न जग्गा प्राप्त गरियो । अब आगामी वर्ष भवन बनाउने लक्ष्य छ । त्यो पुरा गर्दा पनि एउटा सपनाको उजागर हुनेछ ।

पालिकालाई सुशासन युक्त बनाउने काम कसरी अगाडि बढेको छ ?
सुशासनभित्र सेवा प्रवाह जोडिएको छ । पारदर्शीता, जवाफदेहिता र आत्मसन्तुष्टी पनि सुशासनमा आउने गर्छ । सूचना प्रवाहका लागि पनि हामीले प्रवक्ता र सूचना अधिकारी तोकेका छौं । सबै कामको भुक्तानी सुत्रबाट हुन्छ । जसका कारण रकमको पारदर्शीता रहन्छ । अभिलेखीकरणलाई चुस्त बनाइएको छ । ई–हाजिरीको व्यवस्थापन गरेर ढड्डा विस्थापित गरिएको छ । वडा वडामा पनि ई–हाजिरी, सिफारिस लगायतको कामको डिजिटल रेकर्ड पद्दती बसालिएको छ । वडावडाले राजश्व संकलनका लागि छुट्टै क्युआर कोड दिन सकिएको छैन, त्यो दिन सकियो भने अझै सहज बन्छ । कर्मचारी बिदा बसे नबसेको पनि विशेष ख्याल गरिन्छ । पालिकाले आफ्नै एप बनाएर आफ्नै स्वकृति सेवा प्रणाली समेत बसाल्ने लक्ष्य र योजना पनि छ । त्यसपछि अझै बढी देखिने गरी सुशासनका सूचकमा वृद्दि हुने छ ।

वडा वडाबाट संकलन हुने करलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
हामीले वडाबाट पनि डिजिटल विधिबाटै सेवा दिने भएकोले डिजिटल बिल प्रणाली छ । यद्यपी काठेखोलामा राजश्व अत्यन्त कम छ । यो वर्ष हामीले ८० लाख रुपैयाँको लक्ष्य राखेकोमा जेठ मसान्तमा ८२ लाख संकलन गरी शतप्रतिशतभन्दा माथी पुगिसकेका छौं । तर अझै धेरै संभावनाका खोजी भैरहेको छ । चार वर्ष अघि २० लाख मात्रै संकलन गरेको पालिकाले अहिले ८० लाख पु¥याएको छ । यो पनि उपलब्धी नै हो । हामीले करको दरभन्दा दायरा बढाउने लक्ष्य राखेका छौं । काठेखोलामा सुन्तला प्रसस्त फल्छ उक्त उत्पादन खरिद गर्नेले प्रतिकेजी एक रुपैयाँ कर लगाउने योजना थियो । किसानकै कारण यो वर्ष लागू भएन । नत्र हामीले काठेखोलाबाट बिक्री भएको १ हजार २ सय ४० मेट्रिकटन सुन्तलाबाट १२ लाख ४० हजार राजश्व संकलन गरिने थियो । त्यो रकम खरिद गरेर लैजाने ठेकेदारले तिर्ने भएपनि किसानले पहिले नै सम्झौता गरेको कारण रोकियो । यस्तै साना तर दायरा फराकिलो बन्ने क्षेत्रमा कर लगाइयो भने एक करोड बढी राजश्व संकलन गर्न कठिन छैन ।

पालिकाको समग्र विकास निर्माण, सुशासन कायम र पारदर्शीताका लागि जनप्रतिनिधि र कर्मचारी संयन्त्रको सम्बन्ध राम्रो हुनुपर्छ । काठेखोलामा के त्यस्तो अवस्था छ ?
कर्मचारीहरुले तथ्यमा आधारित भएर जनप्रतिनिधिलाई सुझाव दिने हो । जनप्रतिनिधिले देखेको सपना पुरा गर्न उचित योजना निर्माण गर्ने हो । क्षमताभन्दा बढीका योजना बनाउन सकिंदैन । उहाँहरुलाई त्यो अपेक्षा पनि हुन सक्छ । पर्याप्त कानून ज्ञान नभएर कतिपय काममा जनप्रतिनिधिले गर्न चाहेका काम रोकिन्छन् । त्यसमा कर्मचारीले बाटो देखाइदिने हो ।

पालिकाले आँफै बनाएको कानून उल्लंघन गर्ने छुट कसैलाई छैन । संघ र प्रदेशका कानून पनि मान्नै पर्छ । हरेक बजेट खर्च गर्दा कानुन टेक्नै पर्छ । बेरुजु बढ्नुमा पनि कानून र कामको तारतम्य नमिलेर हो । जनप्रतिनिधिलाई के लाग्न सक्छ भने मेरो मानिसले ल्याएको योजना किन दिएन ? दिनैपर्छ भन्ने पनि लाग्छ । तर त्यो शिर्षकमा बजेट छ वा छैन, दिन मिल्ने हो वा होइन, आवस्यक कागजात पुगेको छ वा छैन त्यो कर्मचारीले हेर्ने हो । विधि प्रक्रिया नमिलेको काम गर्न सक्दिन भनिदियो भने एकछिन विवाद हुने हो, मौन बसेर काम गरिदिने हो भने बेरुजु आउने, पारदर्शीतामा प्रश्न उठ्ने र पछि भ्रष्टाचार सम्मको अवस्था आउन सक्छ । त्यसैले बेलैमा सोचेर काम गर्नुपर्छ ।

समयमा काम गर्नका लागि समयमा योजनाहरु सम्झौता गर्ने, समयमा फछ्र्यौट गर्ने र अनुगमन समयमा भयो भने कामको गुणस्तर पनि बढ्छ । हामीले गर्ने प्रक्रिया समयमा पुरा गरेमा सुशासनको आधार पनि बन्छ । महालेखा परीक्षकको डोर टोली आएको बेला हामीले अनियमित गरेको देखिएमा हामीमाथी प्रश्न उठ्छ । आगामी धेरै वर्षसम्म ती प्रश्नको जवाफ दिनुपर्छ भने काममा असर पर्छ । बजेट विनियोजनमा कहिं न कहिं समस्या आइपर्छ ।

सुशासन दिन नसकेमा जनप्रतिनिधि र कर्मचारी सबैको इज्जतमा पनि दाग लाग्छ । विधि र प्रक्रिया पु¥याएर काम गर्न थालियो भने उपभोक्ता, कार्यकर्ता वा अन्य स्थानीयले पनि समयमा विधि प्रक्रिया पु¥याएरै काम गर्ने बानी विकास हुन्छ । त्यसपछि मात्र हामीले सोचेको जस्तो सुशासन युक्त पालिका बन्छ । हामी सबैको साझा पहल नै समृद्व पालिकाको आधार पनि हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->