
पोखरा / केप भर्डे फिफा विश्वकपको इतिहासमै नकआउट चरण पुग्ने क्षेत्रफल र जनसङ्ख्या दुवैका आधारमा सबैभन्दा सानो देश बनेर एउटा इतिहास रचेको छ । कुरासाओ प्रतियोगिताबाट बाहिरिएसँगै यो कीर्तिमान आधिकारिक रूपमा केप भर्डेको नाममा हुन पुग्यो । यस २०२६ फिफा विश्वकपमा सहभागी टोलीहरूमध्ये कुरासाओ क्षेत्रफल र जनसङ्ख्याको हिसाबमा सबैभन्दा सानो राष्ट्र रहेको थियो ।
समूह चरणको आफ्नो अन्तिम खेलमा केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । केप भर्डेले न त खेल जित्यो न त खेल हा¥यो नै । तीनवटै खेल बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको हो । आफ्नो पहिलो खेलमा उपाधिको बलियो दाबेदार मानिएको स्पेनविरुद्ध उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै गोलरहित बराबरी खेलेर उनीहरूले सबैलाई स्तब्ध बनाएका थिए । आफ्नो दोस्रो खेलमा उरुग्वेसँग २–२ को बराबरी खेल्दै उनीहरूले आफू कमजोर टोली नभएको प्रमाणित गरे ।
‘राउण्ड अफ ३२’ (नकआउट चरण) मा प्रवेश गरेसंगै अबको भेट अर्जेन्टिनासंग हुनेछ । उपाधि दाबेदार मध्येको एक अर्जेन्टिनासंग समेत केप भर्डेले उत्तिकै उत्कृष्ट प्रदर्शनी गर्ने सबैले अपेक्षा राखेको छ । पहिलो पटक फिफा विश्वकपमा भाग लिइरहेको केप भर्डका लागि यो उपलब्धि विशेष रूपमा ऐतिहासिक छ ।
समूह चरणका तीनवटै खेलमा अपराजित रहँदै केप भर्ड ३ अङ्कका साथ समूहको दोस्रो स्थानमा रहन सफल भएको हो । उनीहरू स्पेनभन्दा पछि र उरुग्वेभन्दा १ अङ्कले अगाडि रहँदै यो ग्रुप अफ डेथबाट अर्को चरणमा प्रवेश गर्न सफल भएका हुन् । सोही चरणको अर्को खेलमा उरुग्वे स्पेनसँग पराजित भएपछि उरुग्वे र साउदी अरेबिया दुवै समूह चरणबाट बाहिरिएका हुन् ।





