
बागलुङ /दैनिक ५ सय ५० बिरामी उपचारकालागि आउने धौलागिरि अस्पतालमा ६/७ जना शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन् । अस्पतालमा सर्पदंश र रेबिजका बिरामीको पनि उपचार सुरु भएको छ ।
अस्पतालमा आवश्यक पर्ने रातो रगत संकलन र सेतो रगत यहाँको रक्तसंचार केन्द्रमा नियमित उत्पादन सुरु भएको छ । सेतो रगत उत्पादनमा विद्युत समस्याले हैरान भएको रेडक्रसलाई दाताहरुले जेनेरेटर र उपकरण सहयोग गरेपछि रक्तसंचार सेवा प्रभावकारी समेत बनेको छ ।
बागलुङ घर भई विदेशमा बस्ने युवाहरुले एक वर्षमा झण्डै १ करोड रुपैयाँ सहयोग गरेपछि जेनरेटर, रक्तसंचारकालागि चाहिने बेड, रातोलाई सेतो रगतमा परिणत गर्ने मेसिनलगायत सामग्री र उपकरण जोडिएको सोसाइटीका सभापति जगन्नाथ आचार्यले बताए ।
अस्पतालको क्षमता बढेसँगै रक्तसंचारको पनि क्षमता बढाउन यो सहयोग जुटाइएको हो । रेडक्रसले थालेको सहयोग अभियानमा बागलुङ समाज अमेरिकाले १४ लाख ५ हजार लगानी गरेर जेनेरेटर र शिविरकालागि रक्तदान बेड समेत सहयोग गरेको हो ।
समाजका महासचिव खिवराज शर्माले अस्पतालमै आएर ती सामग्री हस्तान्तरण गरे । ‘यो सहयोग नमूना मात्रै हो, अस्पताल व्यवस्थापन र रक्तसंचारको क्षमता बढाउन अरु सहयोगको तयारीमा छौं,’ शर्माले भने, ‘मानव जीवनको सुरक्षामा हामी सहयोग बढाउँछौं ।’ बिदेशमा बसे पनि आफ्नो क्षेत्रमा सहयोग गर्ने योजना उनले सुनाए ।
यसअघि बागलुङ समाज जापानको १३ लाख रुपैयाँ संकलन गरेर सेतो रगत बनाउने कम्पोनेन्ट प्रोसेसर मेसिन केन्द्रले खरिद गरेर संचालनमा ल्याइसकेको छ । चार वर्षअघि गण्डकी प्रदेश सरकारले झडै ५० लाख पर्ने उपकरण र मेसिन दिएर पनि रगत उत्पादन थिएन ।
डिपफ्रिजसहितका केही थप उपकरण थपिएपछि यहाँ सेतो रगत (एफएफपी र पिआरपी) नियमित उत्पादन भएको छ । यसअघिको ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन सुरु भएको थियो । त्यसलाई तापक्रम र बिद्युत नियमित बनाउन जेनेरेटर थप भएको हो । यो लगानीपछि धौलागिरि अस्पतालमा आउने सर्पदंशका बिरामीको नियमित उपचारमा सहयोग गर्न पाइएको रक्तसंचार केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए । धौलागिरि अस्पतालमा मात्रै वर्षेनी ५० बढी सर्पदंशका बिरामी आउने गरेका छन् ।




