पोखरा/ पोखराको मुस्ताङचोकस्थित फिस्टेल माउन्टेन कलेज (एफएमसी) ले स्नातक तहमा साइबर सुरक्षा सम्बन्धी पढाउने भएको छ । कलेजले सोमबारदेखि नै भर्ना खुलेकाे जनाएकाे छ ।
पोखरालाई सूचना प्रविधि (आईटी) हबका रूपमा स्थापित गर्ने अभियानलाई थप प्रभावकारी बनाउन साइबर सुरक्षा क्षेत्रमा तीन अन्तर्राष्ट्रिय प्रविधि कम्पनीसँग रणनीतिक साझेदारी गर्दै साइबर सुरक्षाको पढाई सुरु गर्न लागेको हो । प्रविधि तथा साइबर सुरक्षा क्षेत्रका अग्रणी कम्पनीहरु भैरव टेक, इनरेड ल्याब्स र साइबर युनिभर्ससंग साझेदारी गरेको कलेजले जनाएको छ । यसले विद्यार्थीका लागि साइबर सुरक्षाको क्षेत्रमा सीप विकास र रोजगारीको विशेष अवसर सिर्जना गर्ने अपेक्षा उसले गरेको छ ।
३ वर्षे उक्त कोर्समा पहिलोपटक ३० विद्यार्थी मात्रै भर्ना लिइने कलेजले जनाएको छ । आगामी वर्षमा यो संख्या बढाउँदै लैजाने कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए । भर्नाका लागि प्लस टुमा विज्ञान तथा म्याथ पढेको हुनुपर्नेछ । यो पढाईका लागि करीव ८ लाख रुपैयाँ लाग्नेछ ।
पोखरालाई शिक्षा, नवप्रवर्तन र सूचना प्रविधि क्षेत्रको राष्ट्रिय गन्तव्यका रुपमा स्थापित गर्न दीर्घकालिन दृष्ट्रिकोण अन्तर्गत सञ्चालन गर्दै आएको साइबर सुरक्षा सचेतना अभियानलाई कलेजले निरन्तर अगाडि बढाइरहेको जनाएको छ । यसै सिलसिलालाई थप विस्तार गर्ने क्रममा स्नातकमा साइबर सुरक्षा पढाउन लागेको हो ।
कलेजले यसअघि कृत्रिम बौद्धिकता (एआई) तथा मेसिन लर्निङ, बिग डाटा र क्लाउड कम्प्युटिङमा बिशेष केन्द्रीत बिएस्सी कम्प्युटर साइन्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका अनुसार पोखरा पर्यटन र आतिथ्य क्षेत्रसँगै सफ्टवेयर विकास, साइबर सुरक्षा तथा प्रविधि उद्योगको केन्द्रका रूपमा विकास भइरहेको सन्दर्भमा यो साझेदारीले स्थानीय प्राविधिक इकोसिस्टमलाई थप मजबुत बनाउने विश्वास लिएको छ । विद्यार्थीहरूले उद्योगका विज्ञसँग प्रत्यक्ष सिकाइ, व्यावहारिक अनुभव तथा करियर निर्माणका अवसर प्राप्त गर्ने जनाइएको छ ।
एफएमसीले सञ्चालन गर्दै आएको साइबर सुरक्षा सचेतना अभियानलाई निरन्तरता दिँदै गरिएको यस सहकार्यबाट पोखराका युवालाई काठमाडौं वा विदेश नगई आफ्नै शहरमा अन्तर्राष्ट्रियस्तरको साइबर सुरक्षा शिक्षा र करियर निर्माणको अवसर उपलब्ध हुने अपेक्षा कलेजको छ ।
कलेजका अध्यक्ष सुलभ बुढाथोकीले यो पहलले पोखरालाई नेपालको अर्को प्रमुख सूचना प्रविधि केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साझेदारीबाट विद्यार्थीले प्राप्त गर्ने थप अवसरहरू क्रमशः सार्वजनिक गरिने कलेजले जनाएको छ ।





