शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा विश्वविद्यालयको ३०औँ स्थापना दिवसमा दीर्घ सेवा पदक सम्मान

पोखरा विश्वविद्यालयको ३०औँ स्थापना दिवसमा दीर्घ सेवा पदक सम्मान

दीर्घ सेवा सम्मानबाट प्रा.डा. ज्ञानेश्वर शर्मा, प्रा. राजेश कुमार ठकुराठी, प्रा.डा. दीपकराज पौडेल, सह–प्रशासक मुकुन्दराज लामिछाने तथा सहायक प्रशासक रविन्द्र सुवेदी सम्मानित भए ।


  • ढाेरपाटन संवाददाता
  • साउन २ २०८३, शनिबार

पोखरा/ पोखरा विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार ३० औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम आयोजना गरिएको छ । २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम स्थापना भएको विश्वविद्यालयले स्थापना दिवसका अवसरमा विशेष समारोहको आयोजना गरेको हो ।

कार्यक्रमको उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारी र रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले गमलामा जलसिँचन गरी उद्घाटन गरेका थिए । उक्त अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

दीर्घ सेवा सम्मानबाट प्रा.डा. ज्ञानेश्वर शर्मा, प्रा. राजेश कुमार ठकुराठी, प्रा.डा. दीपकराज पौडेल, सह–प्रशासक मुकुन्दराज लामिछाने तथा सहायक प्रशासक रविन्द्र सुवेदी सम्मानित भए । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले विश्वविद्यालयलाई विश्वस्तरीय, अनुसन्धानमुखी, विद्यार्थीमैत्री तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विश्वविद्यालय केवल भवन वा प्रशासनिक संरचना नभई विचार, ज्ञान, अनुसन्धान, नवप्रवर्तन तथा जिम्मेवार नागरिक उत्पादन गर्ने केन्द्र भएको उल्लेख गर्दै यसको विकास राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको बताए ।

विश्वविद्यालयको रूपान्तरण कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उनले प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी, सम्बन्धन प्राप्त क्याम्पस, उद्योग क्षेत्र, सरकार तथा सम्पूर्ण सरोकारवालाको साझा प्रतिबद्धताबाट मात्रै लक्ष्य हासिल गर्न सकिने बताए ।
प्रा.डा. अधिकारीले विश्वविद्यालयको मूल्याङ्कन भाषण वा प्रतिबद्धताबाट नभई कार्यसम्पादनबाट हुने उल्लेख गर्दै अनुसन्धानको गुणस्तर अभिवृद्धि, डिजिटल सेवा विस्तार, विद्यार्थी केन्द्रित प्रशासन, अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक उत्कृष्टतालाई आगामी कार्यकालका प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए । उनले सबै शिक्षक तथा कर्मचारीलाई आफ्ना कार्ययोजना तयार गरी कार्यान्वयनमा केन्द्रित हुन आग्रह गर्दै समस्या मात्रै औँल्याउने होइन, समाधानसहित अघि आउन अनुरोध गरे ।

रजिष्ट्रार प्रा. हरिबहादुर खड्काले विश्वविद्यालयले स्थापनाकालदेखि तीन दशकको अवधिमा उल्लेखनीय संस्थागत विकास हासिल गरेको बताए । व्यवस्थापन सङ्कायका डीन प्रा. डा. ज्ञानेश्वर शर्माले उच्च शिक्षाको विकास, अनुसन्धान र नवप्रवर्तनमा विश्वविद्यालयले पु¥याएको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गरे ।

विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठकुराठीले विश्वविद्यालयले व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान तथा अन्य शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै परीक्षा व्यवस्थापन, स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन, अनुसन्धान, शिक्षण अस्पताल, डिजिटल प्रणाली र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । परीक्षा नियन्त्रक उप–प्रा. राजु पाण्डेयले परीक्षा नियन्त्रण कार्यालयको प्रभावकारी सञ्चालनमा प्राध्यापक, कर्मचारी तथा सम्बन्धित सबै पक्षको साझा योगदान रहेको बताउँदै सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र सम्मानजनक बनाउन कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताए ।

स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा. डा. विनय कुमार मिश्रले विश्वविद्यालयको ३० वर्षे यात्रामा शिक्षक, कर्मचारी र विद्यार्थीको साझा योगदानले शैक्षिक तथा संस्थागत विकास सम्भव भएको बताए । स्कुल अफ इन्जिनियरिङका सह–प्रा. डा. राजिव पोखरेलले विश्वविद्यालयको दिगो विकासका लागि गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकतामा राख्नुपर्ने जनाए । उप–प्रशासक मीनकुमारी डल्लाकोटीले विश्वविद्यालयलाई डिजिटल, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय पहिचानसहितको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको एकता, प्रतिबद्धता र सक्रिय सहकार्य आवश्यक रहेको बताइन् । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गरेकी सूचना अधिकारी लोकप्रसाद ढकालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->